लन्डन १७ फेब्रुअरी २०२६ । बेलायतको राजधानी लन्डनस्थित नेपाली दूतावासमा २६३ औं नेपाली सेना दिवस मनाइएको छ ।
ब्रिटिश सेनाका चिफ अफ स्टाफ, फिल्ड आर्मी मेजर जनरल कार्ल बोसवेल सीबीइको प्रमुख आतिथ्यतामा सोमबार नेपाली सेना दिवस मनाइएको हो । कार्यक्रम बेलायती सेनाका मेजर जनरल बोसवेल र कार्यवाहक राजदूत दुवाडीले संयुक्त रूपमा दीप प्रज्वलन गरि उद्घाटन गरेका थिए । सो अवसरमा सेना दिवसको उपलक्ष्यमा केक समेत काटेर खुशीयाली मनाइएको थियो ।
समारोहमा प्रमुख अतिथि बोसवेलले संयुक्त राष्ट्रसंघको शान्ति स्थापना कार्यमा असाधारण योगदान पुर्याएकामा बेलायती सेनाले नेपाली सेनालाई उच्च सम्मान दिने बताउँदै नेपाली शान्ति सेनाहरूले अनुशासन, सहानुभूति र सबैभन्दा जटिल कामका लागि विश्वभर प्रशंसा पनि कमाएको उल्लेख गरे ।
उनले बेलायत यस महत्त्वपूर्ण भूमिकामा नेपाललाई सहयोग गर्न पाउँदा गर्व गर्ने समेत बताए । मेजर जनरल बोसवेलले विश्व शान्ति र स्थायित्वमा नेपाली सेनाको योगदान असाधारण रहेको पनि जनाए ।
ब्रिटिश गोर्खा सैनिकहरू बहादुरी, वफादारी र व्यावसायिकताको उदाहरण बनेका उल्लेख गर्दै मेजर जनरल बोसवेलले दुई सेनाबीचको साझेदारी संयुक्त तालिम र शिक्षा, विपद् प्रतिक्रिया सहयोग, व्यावसायिक आदानप्रदान, शान्ति, स्थिरता र अन्तर्राष्ट्रिय नियम–आधारित व्यवस्थाप्रति साझा प्रतिबद्धतामार्फत अगाडि बढेको पनि चर्चा गरे ।

कार्यवाहक नेपाली राजदूत विपिन दुवाडीले नेपाली सेनाको गौरवशाली इतिहास र सेनाले राष्ट्रका लागि हासिल गरेका महत्वपूर्ण उपलब्धि स्मरण गरे। उनले नेपाली सेनाले सीमा रक्षादेखि प्राकृतिक प्रकोपको समयमा मानवीय सहयोग प्रदान, संयुक्त राष्ट्रसंघको शान्ति स्थापना कार्यमा योगदान, अन्तर्राष्ट्रिय सम्बन्ध प्रवर्धनसहित निरन्तर उत्कृष्टता, लचिलोपन र कर्तव्यनिष्ठा प्रदर्शन गर्दै आएको बताए ।
कार्यक्रममा लन्डनस्थित नेपाली दूतावासका सैनिक सहचारी ब्रिगेडियर जनरल अनुप शाहले स्वागत मन्तव्य दिँदै नेपाली सेनाले रणनीतिक नीतिहरूको कार्यान्वयन, राष्ट्र निर्माण प्रयास प्रवद्र्धन र सन्तुलित सैन्य कूटनीतिमा संलग्न हुँदै आफ्नो सम्मानित स्थान कायम राख्न महत्त्वपूर्ण भूमिका खेलेको जनाए ।
समारोहमा उच्च पदस्थ सैनिक अधिकारीहरू, लन्डनस्थित रक्षा सहचारीहरू, सरकारी अधिकारीहरू, बेलायतस्थित नेपाली डायष्पोराका प्रतिनिधिलगायत विभिन्न क्षेत्रका एकसय बढीको उपस्थिति थियो ।


