लन्डन २६ फेब्रुअरी २०२६ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का उपाध्यक्ष विश्वास दीप तिगेलाले एनआरएनएको एकता अस्वीकार गरेका छन् ।
बुधबार विज्ञप्ति जारी गर्दै तिगेलाले एनआरएनएको एकता त्रुटिपूर्ण र अवैधानिक भन्दै उक्त प्रक्रियाबाट अलग हुने निर्णय लिएको जानकारी गराएका हुन् । उनले आईसीसी तथा विश्वभरका एनसीसीहरु एनआरएनएको निरन्तर कार्यमा कटिबद्ध रहन आग्रहसमेत गरेका छन् ।
‘सर्वोच्च अदालतको परमादेशबमोजिम सम्पन्न महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएसँगै संघका सबै विवादहरू समाप्त भइसकेका हुन् । यस अवस्थामा पुनः उर्जाशील सिंगो समितिलाई डुबाउने वा विलय गराउने कार्य नगर्न आग्रह गर्दछु । मलगायत करिब दुईतिहाइ पदाधिकारीहरू विलयको पक्षमा नभएको जानकारी गराउँदै, एक उपाध्यक्षको हैसियतले यो एकता प्रक्रिया त्रुटिपूर्ण र अवैधानिक भएको ठहर गर्दै उक्त प्रक्रियाबाट अलग हुने निर्णय लिएको जानकारी गराउँछु,’ उनले विज्ञप्तिमा लेखेका छन् ।
विश्वभर रहेका सम्पूर्ण नेपालीहरूको एकता हुनुपर्छ भने आफूहरुको चाहना भए पनि जबर्जस्ती रुपमा एकताको पहल गरिनु अवैधानिक भनेका छन् । ‘विश्वभर रहेका सम्पूर्ण नेपालीहरूको एकता हुनुपर्छ भन्ने हाम्रो चाहना र मूल मर्म रहेको छ । तर, एकताको नाममा तयार गरिएको तथाकथित ‘एकता रोडम्याप’मा अध्यक्ष र प्रवक्ताबाहेक शतप्रतिशत असहमति हुँदाहुँदै जबर्जस्ती अगाडि बढाइएको एकताको पहल अवैधानिक छ,’ विज्ञप्तिमा तिगेलाले लेखेका छन्,’भर्खरै निर्वाचित सिंगो समिति तथा मातहतका विश्वभरका एनआरएनए राष्ट्रिय समन्वय परिषदहरूसँग पर्याप्त सरसल्लाह नगरी एकताको नाममा अवाञ्छित गतिविधि गर्नु गलत हो ।’
‘यदि एकता गर्नैपर्ने अवस्था आएको भए, कम्तीमा अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी) को साधारणसभा बोलाई, सभाबाट पारित गराई अगाडि बढ्नु पर्दथ्यो । केवल पदाधिकारी बैठकमा सीमित छलफल गरेर एकता हुन सक्दैन । पदाधिकारीहरूबीच छलफल हुँदा सहमति नभएको अवस्थामा समेत अध्यक्ष एक्लैले आफ्नो अधिकारभन्दा बाहिर गएर गरेको निर्णय अवैध छ,’ विज्ञप्तिमा लेखिएको छ, ‘अध्यक्षबाट हाम्रो समितिलाई अलमल्याउने वा भ्रम सिर्जना गर्ने उद्देश्यले अर्को समूहका कमजोरीहरू प्रस्तुत गर्ने र एकताबाट पछि हट्ने संकेत दिने तर व्यवहारमा भने सोही पक्षसँग अघि बढ्ने कार्य आपत्तिजनक छ । अध्यक्ष श्रेष्ठबाट सिंगो समितिलाई डुबाउने, विलय गराउने तथा कलंकको टीका लगाउने चरणमा पुग्नु दुःखद विषय हो । यदि अध्यक्ष स्वयंलाई जिम्मेवारी बोझ भएको हो भने अन्य वैकल्पिक उपायहरू पनि उपलब्ध छन् । ती विकल्पहरूबारे सोच्न र रोज्न आग्रह गर्दै, उर्जाशील सिंगो समितिलाई डुबाउने वा विलय गराउने कार्य नगर्न अध्यक्ष तथा अवैध रूपमा गठन गरिएको स्टेरिङ कमिटीका साथीहरूलाई गलत एकता प्रक्रियाबाट तुरुन्त फर्कन अनुरोध गर्दछु ।’
उनले आईसीसी तथा विश्वभरका एनसीसीहरु एनआरएनएको नियमित कार्यमा कटिबद्ध रहन आग्रह गर्दै सिंगो समितिको पूर्ण कार्यकाल सुनिश्चित गर्न यथासम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।







