लन्डन २६ फेब्रुअरी २०२६ । पाँचथर समाज सेवा युकेद्वारा बर्सेनि आयोजना गर्दै ल्याएको पाँचथर कप आगामी मे २ तारिखमा हुने भएको छ । यो १३ औं संस्करणको फुटबल प्रतियोगिता हो ।
पाँचथर समाज सेवा युकेका अध्यक्ष नगेन्द्र नेम्बाङको अध्यक्षतामा नवौं कार्य समितिको भर्चुल माध्यमबाट बसेको दोस्रो बैठकले पाँचथर कपको मिति तय गरेको खेल संयोजक कार्यसमिति सदस्य देउमान लावतीले जानकारी दिए । त्यसैगरी वार्षिक भेटघाट तथा सम्मान कार्यक्रम जुन १३ तारिखमा तोकिएको छ ।
बैठकले निवर्तमान अध्यक्ष शान्ति लिम्बु सल्लाहकारमा मनोनीत गरेको छ । त्यस्तै निवर्तमान सल्लाहकारहरु यथावत् राख्ने निर्णय पनि गरिएको छ ।
गत अधिवेशनमा पारित गरेबमोजिम आजीवन सदस्यबाहेक साधारण सदस्यहरुले २० पाउन्ड तिरी सदस्यता नवीकरण गरी सदस्यता सक्रिय सदस्य बन्न पाइने, श्रीमान्/श्रीमती दुवै जना सदस्य बन्न चाहेमा मात्र ३० पाउन्ड रकम चुक्ता गरी एक्टीभ मेम्बर बन्न पाइने प्रस्ताव बैठकले पारित गरेको छ ।
महासचिव पारु राई र सचिव प्रताप तामाङ घरायसी कार्य व्यस्तताले केही समय संस्थामा अनुपस्थित रहेका कारण सहसचिव राजन सेलिङ्लाई सचिवको जिम्मेवारी सुम्पिएको छ ।
बैठकमा वरिष्ठ उपाध्यक्ष लिला सेलिङ माबो, उपाध्यक्षहरुमा दीपा योङ्या लिम्बु, लाहाङ चेम्जोङ, खुशी लिम्बु, गेहेन्द्र थाम्सुहाङ, सचिव राजन सेलिङ, सदस्यहरु देउमान लावती र धनकुमार नेम्बाङको उपस्थिति रहेको थियो ।


