नेपाल आदिवासी जनजाति महासंघ यूकेले १० मेमा वार्षिक डिनर तथा रात्रिभोज आयोजना गर्ने

SHARE:

अल्डरसट, बेलायत २७ फेब्रुअरी २०२६ । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन यूके) ले आगामी १० मे २०२६ मा वार्षिक डिनर तथा रात्रिभोज आयोजना गर्ने भएको छ ।

बेलायतस्थित आदिवासी जनजाति (मूलवासी) समुदायबीच आपसी एकता, सहकार्य तथा सांस्कृतिक सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले रात्रिभोज आयोजना गरिन लागेको हो । कार्यक्रम अल्डरसटस्थित एम्पायर हलमा हुनेछ ।

कार्यक्रमका प्रमुख संयोजकमा मेजर इन्द्रप्रसाद राई छन् ।

कार्यक्रमका विशेष आकर्षणहरूमध्ये मिट एन्ड ग्रिट सत्र मुख्य रहनेछ, जसअन्तर्गत विभिन्न जातीय संस्थाका अध्यक्षहरूबीच आत्मीय भेटघाट तथा परिचय आदानप्रदान गराइनेछ। सो अवसरमा उनीहरूको उत्कृष्ट नेतृत्व, प्रतिबद्धता तथा संस्थागत योगदानको कदरस्वरूप औपचारिक सम्मान तथा बधाई ज्ञापन गरिनेछ। साथै समुदायमा उल्लेखनीय सुधार, विकास तथा सकारात्मक परिवर्तनमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई विशेष सम्मान प्रदान गरिने नेफिन यूकेले जनाएको छ ।

कार्यक्रममा नेपालका उत्कृष्ट कलाकारहरूको सांगीतिक तथा सांस्कृतिक प्रस्तुति रहनेछ। सहभागी अतिथिहरूका लागि पारम्परिक नेपाली रात्रिभोजको व्यवस्था गरिनुका साथै आकर्षक लक्की ड्र कार्यक्रम समेत सञ्चालन गरिनेछ। कार्यक्रमका क्रममा मातृभूमि नेपालसँग सम्बन्धित आगामी कार्ययोजना तथा समसामयिक विषयहरूबारे जानकारीमूलक अद्यावधिक प्रस्तुत गरिने जनाइएको छ।

नेफिन यूकेले आफ्ना सम्पूर्ण संघीय परिषद सदस्य संस्थाहरू, सल्लाहकारहरू, समुदायका अगुवाहरू तथा शुभेच्छुक महानुभावहरूलाई समयमै उपस्थित भई कार्यक्रम सफल बनाउन निमन्त्रणा गरेको छ ।

महासंघका महासचिव फ्रम दुराका अनुसार, कार्यक्रम सबैको साझा पहल र सामूहिक जिम्मेवारी भएकोले सफल बनाउनुपर्ने छ। उनले कार्यक्रमले समुदायभित्रको एकता, उत्तरदायित्व तथा प्रतिबद्धताको भावना अझ मजबुत बनाउने विश्वास व्यक्त गरे ।

वार्षिक डिनर तथा रात्रिभोज कार्यक्रमले नेतृत्वको सम्मान, आपसी सहकार्यको प्रवर्द्धन तथा बेलायतस्थित आदिवासी जनजाति समुदायबीचको सम्बन्ध अझ सुदृढ बनाउने अपेक्षा पनि गरिएको छ ।

नेफिनअन्तर्गत रहेका ५६ संघीय परिषद् सदस्य (जातीय संस्थाहरू)मध्ये नेफिन यूकेमा हाल १५ वटा संस्थाहरू सक्रिय रूपमा आबद्ध छन् ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!