लन्डन । रोयल बरो अफ ग्रीनविचका पूर्वमेयर काउन्सिलर जीत रानाभाटले आफ्नो कार्यकालका लागि छनोट गरिएका परोपकारी संस्थामध्ये एक कमनवेल्थ एण्ड गोर्खा गार्डेन परियोजनालाई ३० हजार १८२ पाउन्ड हस्तान्तरण गरेका छन् ।
उलविचस्थित ग्यारिसन चर्चमा आइतबार आयोजित एक समारोहमा उनले आफ्नी पत्नी तथा पूर्व मेयोरेस श्रीमती गौमाया गुरुङ रानाभाटसहित सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् । सहयोग रकम काउन्सिलर रानाभाटको मेयर कार्यकालभरि सञ्चालन गरिएको विभिन्न परोपकारी कार्यक्रममार्फत संकलित कुल ४४ हजार १ सय ८२ पाउन्ड्स १९ पेन्स (£४४,१८२.१९) को अंश हो ।
कार्यक्रममा रोयल बरो अफ ग्रीनविच काउन्सिलका नेता (लिडर) काउन्सिलर एन्थोनी ओकेरेके, ग्यारिसन चर्चका ट्रस्टका अध्यक्ष टिम बार्न्स (केसी,एमबीई), वुलविच ग्यारिसनका कमान्डिङ अफिसर/स्टेशन कमाण्डर लेफ्टिनेन्ट कर्नेल भेरोनिका सेफ्टन, ट्रस्टी सदस्य तथा फन्डरेजिङ संयोजक श्रीचन्द्र गुरुङ, किङ्स गार्डका सदस्य अवकाशप्राप्त लेफ्टिनेन्ट कर्नेल टोल खाम्चा, जेरी आमस्ट्रंग लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा समुदायका अगुवाहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै काउन्सिलर रानाभाटले आफ्नो मेयर कार्यकालका अविस्मरणीय क्षणहरूको स्मरण गरे । उनले सन् २०२५ को लण्डन न्यु इयर परेडमा रोयल बरो अफ ग्रिनविचको सहभागितालाई विशेष उपलब्धिका रूपमा उल्लेख गरे ।
काउन्सिलर रानाभाटले आफ्नो कार्यकालभर निरन्तर सहयोग पुर्याएको भन्दै काउन्सिलका नेता काउन्सिलर एन्थोनी ओकेरेके तथा एरिथ एण्ड थेम्समिड क्षेत्रका सांसद एबेना ओपोङ–असारेप्रति विशेष आभार व्यक्त गरे। आभारस्वरूप उनले दुबैलाई प्रशंसापत्र तथा सम्मान–चिन्ह प्रदान गरेका थिए। त्यस्तै, फन्डरेजिङ तथा सामुदायिक संलग्नतामा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै श्रीचन्द्र गुरुङलाई पनि प्रशंसापत्र प्रदान गरिएको थियो।
ट्रस्टका अध्यक्ष टिम बार्न्स KC, MBE ले काउन्सिलर रानाभाटको उदारता र सामुदायिक सेवाप्रतिको समर्पणप्रति धन्यवाद व्यक्त गर्दै रोयल बरो अफ ग्रीनविचको इतिहासमा रानाभाट पहिलो काउन्सिलर तथा नेपाली मूलका पहिलो मेयर बन्न सफल भएको उल्लेख गरे। उनले कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिँदै सेवन सिस्टर्सबाट उपलब्ध गराइएको स्वादिष्ट नेपाली सांस्कृतिक परिकारले कार्यक्रममा विशेष सामुदायिक आत्मीयता थपेको बताए।
अवकाशप्राप्त लेफ्टिनेन्ट कर्नेल टोल खाम्चाले पनि कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल र बेलायतबीचको दीर्घकालीन द्विपक्षीय सम्बन्ध, विशेषतः गुरखा समुदायसँग जोडिएको ऐतिहासिक सम्बन्धको चर्चा गरे। उनले मेयर कार्यकालमा काउन्सिलर रानाभाटले नेपाली तथा गोर्खा समुदायलाई सशक्त बनाउने दिशामा गरेको योगदानको प्रशंसा गरे।
ट्रस्टी सदस्य तथा फन्डरेजिङ संयोजक श्रीचन्द्र गुरुङले मेयर कार्यकालभर सञ्चालन भएका विभिन्न फन्डरेजिङ कार्यक्रमहरूको स्मरण गर्दै सहभागी सबैलाई धन्यवाद दिए।







