लन्डन । नेपालका गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएपछि बेलायतका सामाजिक अगुवाहरुले विभिन्न खाले प्रतिक्रिया जनाएका छन् ।
लगानीबारे विवादमा मुछिएपछि बुधबार गुरुङले पदबाट राजीनामा दिएका थिए । गोरखा १ बाट निर्वाचित गुरुङ गत २०८२ चैत १३ मा नियुक्त भएका थिए । गुरुङको राजीनामापछि बेलायतमा सक्रिय नेपाली संघ संस्थाका अगुवाहरुले विभिन्न खाले प्रतिक्रिया जनाएका छन् ।
तमु समाज यूकेका निवर्तमान अध्यक्ष शिवकुमार गुरुङले गृहमन्त्री सुधनको राजीनामाले खिन्नता लाग्नु स्वाभाविक भए पनि आफूमाथि प्रश्न उठेपछि छानबिनलाई सहज बनाउन ‘नैतिकता’का आधारमा राजीनामा दिनु उनको उच्च राजनीतिक संस्कार र आत्मविश्वासको प्रमाण भएकोले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
शिवकुमार गुरुङको स्टाटस् जस्ताको तस्तै
राजनीतिको भित्री खेल र दाउपेच आफ्नै ठाउँमा होलान्, तर हामी आम नागरिकको चाहना भनेको केवल सकारात्मक परिवर्तन र सुशासन हो। आजको समयमा सुदन गुरुङ जस्तो सक्षम र काम गर्न खोज्ने व्यक्तिले जिम्मेवारीबाट बाहिरिनु पर्दा मनमा खिन्नता लाग्नु स्वाभाविकै हो।
तर, आफूमाथि प्रश्न उठेपछि छानबिनलाई सहज बनाउन ‘नैतिकता’ का आधारमा राजीनामा दिनु उहाँको उच्च राजनीतिक संस्कार र आत्मविश्वासको प्रमाण हो। यसले उहाँलाई अन्य नेताहरूभन्दा फरक र कद झन् उच्च बनाएको छ।
आशावादी बनौँ— उहाँ छिट्टै निष्पक्ष छानबिनबाट सफाइ पाएर पुनः सुशासनको महाअभियानमा फर्कनुहुनेछ। जनताले खोजेको र रोजेको नेतृत्व कहिल्यै हराउँदैन, बरु अझै निखारिएर र बलियो भएर आउँछ। भ्रष्टाचार विरुद्धका अधुरा फाइलहरू खोल्ने र देशलाई सही दिशा दिने उहाँको अभियानमा हाम्रो साथ सधैँ रहनेछ। सत्यको जीत होस्!
तमु धीं यूकेका निवर्तमान अध्यक्ष हरि गुरुङले देशलाई अहिले चाहिने गृहमन्त्री गएको बताएका छन् ।
उनले यसअघि नै गृहमन्त्रीलाई सचेत भएर काम गर्न सुझाव दिएका थिए । गृहमन्त्रीको मर्यादाक्रम घटुवापछि तमु धीं यूकेका पूर्वअध्यक्षले भने – ‘बर्खास्त गर्ने प्रपञ्च त होइन ?’
तमु समाज यूकेका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले सुधन गुरुङलाई ठूलो धोका भएको टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,’प्रधानमन्त्री वालेन र रास्वपा सभापति रविले सुदन गुरुङलाई केपी ओलीलाई समाउनका लागि मात्र गृहमन्त्री बनाएका रहेछन् । यसले गुरुङको छोरालाई ठूलो धोका दिएको देखिन्छ, सुदन गुरुङले गृहमन्त्रीबाट राजीनामा दिए । अब भ्रष्टहरूको साथसाथै रास्वपाका कति माननियहरूको खुसीको दिन ।’
एनआरएनए यूके तथा तमु धीं यूकेका पूर्वअध्यक्ष मेजर डमर घलेले गृहमन्त्री गुरुङको राजीनामा स्वीकृत नहोस् भन्ने कामना गरेका छन् । ‘Feeling very sad for the Motherland! गृहमन्त्री सुधन गुरुङको राजीनामा स्वीकृति नहोस् !सतिले सरापेको देश भन्थ्यो, हो रहेछ । देशप्रेमी नेपालीको लागि कालो दिन ! भ्रष्टाचारी देश लुटेराहरुको लागि सेतो दिन !’
तमु धीं यूकेका वरिष्ठ उपाध्यक्ष परशु गुरुङले राम्रो काम गर्नेको खुट्टा तान्ने प्रवत्ति कहिल्यै नहटेको उल्लेख गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘यो सतीले सरापेको देशमा केही गरेर पनि नहुने रहेछ । राम्रो काम गर्नेको खुट्टा तान्ने प्रवृत्ति कहिल्यै हटेन । आखिर सुदन गुरुङ गृह मन्त्रालयबाट बाहिरिनै पऱ्यो ।’
सामाजिक अगुवा ईन्द्र घोथानेले गृहमन्त्री सुधनको राजीनामाको निर्णयलाई जिम्मेवारी आत्मसम्मान र सत्यप्रतिको दृढ विश्वासबाट आएको कदमको रुपमा अर्थ्याएका छन् ।
ईन्द्र घोथानेको स्टाटस् जस्ताको तस्तै
गृहमन्त्री सुदन गुरुङले उच्च नैतिकताको उदाहरण प्रस्तुत गर्दै आफ्नो पदबाट राजीनामा दिनुभयो। यस्तो निर्णय सजिलो हुँदैन यो जिम्मेवारी आत्मसम्मान र सत्यप्रतिको दृढ विश्वासबाट आएको कदम हो।
उहाँले जेन्जी आन्दोलनका क्रममा उठाएका नैतिकता र सुशासनका मागहरू केवल नारा मात्र थिएनन् त्यही मूल्य र आदर्शलाई आत्मसात् गर्दै उहाँले स्वयं राजीनामा दिनुभएको हो यस्तो कदमले उहाँको इमानदारी र सिद्धान्तप्रतिको प्रतिबद्धता स्पष्ट देखाउँछ।
जब उहाँमाथि गरिएको छानबिनमा कुनै दोष नदेखिएको र सबै कुरा पारदर्शी भएको पुष्टि भइसकेपछि त्यही सिद्धान्त र मूल्यलाई कायम राख्दै उहाँलाई सम्मानपूर्वक पुनःस्थापित गर्नु नै साँचो न्याय हुनेछ।
यदि राष्ट्रिय स्वतन्त्र पार्टी साँच्चिकै नैतिकता र सुशासनको मार्गमा अडिग छ र पार्टीभित्र कुनै पनि प्रकारको जातीय भेदभाव छैन भन्ने विश्वास दिलाउन चाहन्छ भने सम्माननीय प्रधानमन्त्री बालेन शाहज्यू र सभापति माननीय रवि लामिछानेज्यूले सुदन गुरुङलाई पुनः गृहमन्त्री पदमा सम्मानपूर्वक बहाली गर्नुपर्छ। किनकि सत्यलाई ढाकेर राख्न सकिँदैन र न्यायलाई लामो समयसम्म रोक्न सकिँदैन सही व्यक्तिलाई सही स्थानमा पुनःस्थापित गर्नु नै वास्तविक नैतिकता हो र यही कदमले जनताको विश्वास अझ गहिरो बनाउनेछ।
समाजसेवी ईशा माया गुरुङले राजीनामा दिएका गृहमन्त्री सुधन गुरुङलाई नआत्तिन भनेकी छन् । ‘नआतिनु सुदन भाइ । अहिले धेरै मानिसहरू खुसी भएको देखिन्छ तर तपाईंको छानबिन हुन बाँकी छ । प्रमाणित हुन अझै बाँकी छ, ठूला भ्रष्टहरू पनि अझै हाजिरी जमानीमा छन्,’उनले फेसबुकमा लेखेकी छन् ।
दोस्रो पोस्टमा ईशाले लेखेकी छन्, ‘गृहमन्त्री बालेन शाहले आफैंसँग राख्ने, कसैलाई नदिने तर अनुसन्धानबाट निर्दोष भए फेरि सुदन गुरूङ नै गृहमन्त्री बन्ने पक्का छ ।’






