लण्डन । यही मे २४ मा हुने गोर्खा कप २०२६ लाई सफल, सुरक्षित तथा व्यवस्थित रूपमा सम्पन्न गर्ने उद्देश्यसहित आयोजक संस्था तमु धीं यूकेले कार्यक्रममा सहभागी हुने रेस्टुरेन्ट तथा स्टल सञ्चालकहरूका लागि आवश्यक निर्देशन तथा अनुरोध सार्वजनिक गरेको छ।
कार्यक्रमअन्तर्गत स्टल व्यवस्थापनको जिम्मेवारी सम्हालिरहेकी उपाध्यक्ष दिलमाया गुरुङले १४ मे २०२६ मा सम्पन्न जुम मिटिङमार्फत सम्पूर्ण आवश्यक जानकारी तथा व्यवस्थापनसम्बन्धी निर्देशन प्रदान गरिएको जानकारी दिइन्नु । उनका अनुसार बैठकमा विशेषगरी खाना तथा मेनु व्यवस्थापनका विषयमा विस्तृत छलफल गरी आवश्यक सहमति गरिएको थियो।
उनले सबै रेस्टुरेन्ट तथा स्टल सञ्चालकहरूलाई आफूले बिक्री गर्ने खानासँगै सम्बन्धित मेनु स्पष्ट रूपमा डिस्प्ले गर्न आग्रह गर्दै उपभोक्तालाई सहज जानकारी उपलब्ध गराउनु आवश्यक रहेको बताइन् ।
स्वास्थ्य तथा सुरक्षाजस्ता संवेदनशील विषयलाई विशेष प्राथमिकतामा राख्दै आयोजकले सबै सहभागीलाई निर्धारित नियमहरूको पूर्ण पालना गर्न अनुरोध गरेको छ। साथै, एक–आपसमा सहयोग, समन्वय र सहकार्यको भावना कायम राख्दै कार्यक्रमका सम्पूर्ण नियम तथा व्यवस्थालाई सम्मानपूर्वक कार्यान्वयन गर्न आग्रह गरिएको छ।
स्टल व्यवस्थापनका क्रममा “जुनसुकै स्थान भए पनि सबै स्थान उत्तिकै महत्वपूर्ण हुने” उल्लेख गर्दै आयोजकले सिस्टमद्वारा तोकिएको स्थानमै अनुशासित र व्यवस्थित तरिकाले व्यवसाय सञ्चालन गर्न निर्देशन दिएको छ। साथै, समयमै उपस्थित भई स्टल पूर्ण तयारी अवस्थामा राख्नसमेत अनुरोध गरिएको छ।
सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै प्रत्येक स्टलमा First Aid Box, Fire Prevention Method, पर्याप्त rubbish bin लगायत आवश्यक सुरक्षा सामग्री अनिवार्य रूपमा व्यवस्थापन गर्न तथा फोहोरलाई तोकिएको स्किमअनुसार उचित व्यवस्थापन गर्न निर्देशन दिइएको छ। आयोजकका अनुसार कार्यक्रममा कुनै पनि प्रकारको अल्कोहल प्रयोग वा बिक्री पूर्ण रूपमा निषेधगरिएको छ ।
त्यसैगरी, प्रत्येक व्यक्ति तथा कार, भ्यानलगायत सबै सवारी साधनका लागि तोकिएको शुल्क अनिवार्य रूपमा तिर्नुपर्ने नियमको पूर्ण पालना गर्नसमेत आयोजकले अनुरोध गरेको छ।
रेस्टुरेन्ट सम्बन्धी सम्पूर्ण डकुमेन्ट्स संकलन तथा हेल्थ एन्ड सेफ्टीलगायतका विषयमा समन्वय र सहयोग पुर्याएकोमा क्या देव घलेप्रति विशेष धन्यवाद व्यक्त गरेको छ। उनको समन्वय र सक्रिय सहयोगले कार्यक्रम व्यवस्थापनलाई अझ व्यवस्थित, प्रभावकारी तथा सफल बनाउन महत्वपूर्ण योगदान पुगेको आयोजकको भनाइ छ।
अन्त्यमा, सबै सहभागीहरूको अनुशासन, सहकार्य र सकारात्मक सहयोगले गोर्खा कप २०२६ लाई भव्य तथा ऐतिहासिक रूपमा सफल बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकले व्यक्त गरेको छ ।






