वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मृत्युदण्डको प्रयोगका पक्षमा खुलेर मन्तव्य राखेपनि संयुक्तराज्य अमेरिकामा यसको प्रयोगमा कमी आएको पाइएको छ । अमेरिकामा पछिल्ला वर्षहरुमा ऐतिहासिक रुपमै मृत्युदण्ड र सजायका घटनामा न्यूनता आएको छ ।
अमेरिकामा यस वर्ष सन् २०१८ मा २५ जनालाई मृत्युदण्ड दिइएको छ । बिहीबार मात्र फ्लोरिडा राज्यमा एक जनालाई मृत्युदण्ड दिइएको छ । यस वर्षका लागि यो नै अन्तिम मृत्युदण्ड रहेको मृत्युदण्ड सूचना केन्द्र (डीपीआईसी) ले जनाएको छ । “सन् २०१८ मा नयाँ मृत्युदण्डको सजाय सुनाइएको र मृत्युदण्ड दिइएको घटना ऐतिहासिक रुपमै सबैभन्दा न्यून हो,” डीपीआईसीले भनेको छ ।
मृत्युदण्डका घटनाहरुमा कमी आउनुको अर्को कारण होः वासिङ्टन राज्यले मृत्युदण्डलाई गैरकानुनी घोषणा गरेको छ, र यस्तो गर्ने अमेरिकाको यो २० औं राज्य हो । बाँकी रहेका ३० वटा राज्यमध्ये पनि आठ वटा राज्यमा मात्र मृत्युदण्ड दिइएको छ । टेक्सस राज्यले सन् २०१८ मा वर्षभरि अमेरिकामा दिइएका मृत्युदण्डमध्ये आधाभन्दा बढी अर्थात् १३ जनालाई मृत्युदण्ड दिएको छ ।
अर्कोतर्फ मृत्युदण्डको सजाय सुनाइएकाहरुको संख्यामा पनि कमी आएको छ । सन् २०१८ मा ४२ जना विरुद्ध मृत्युदण्डको सजाय सुनाइएको छ । सन् १९९६ मा ३१५ जना विरुद्ध यस्तो फैसला सुनाइएको थियो । राष्ट्रपति ट्रम्पले पटकपटक मृत्युदण्ड दिइनुपर्ने भन्दै वकालत गरिआउनुभएको छ । “मन्दिर, चर्चमा निर्दोष नागरिकमाथि ज्यादती गर्ने जोसुकैलाई कठोर सजाय दिनै पर्दछ,” गत अक्टोबर २७ मा ट्रम्पले भने । अमेरिकाको पिट्सवर्गस्थित यहूदी प्रार्थना गृहमा ११ जनाको ज्यान जाने गरी भएको निर्मम आक्रमणपछि राष्ट्रपति ट्रम्पले यस्तो धारणा राखेका हुन् ।






