[समीक्षा] ‘जिन्दगी फूल सम्झे फूलै हो’ : संघर्ष, संवेदना र समर्पणको जीवन यात्रा

SHARE:

‘जिन्दगी फूल सम्झे फूलै हो’ डा. सुमाया राईको आत्मकथात्मक संस्मरण हो । ५०४ पृष्ठमा फैलिएको यस कृतिको शीर्षक जति आकर्षक छ, त्यत्तिकै यसभित्र समेटिएका विषयवस्तु संवेदनशील र प्रेरणादायी छन्। जीवनका विविध मोडलाई सरल तथा आत्मीय शैलीमा अभिव्यक्त गरिएकोले यो पुस्तक पठनीय छ। ६ खण्डमा विभाजित यस कृतिमा दुई-तीन पृष्ठमा समेटिएका छोट्छोटा अध्यायहरु छन्।

सुमायाको जीवनलाई पारिवारिक, शैक्षिक तथा व्यावसायिक र सामाजिक तथा साहित्यिक गरेर तीन आयाममा वर्गीकरण गर्न सकिन्छ। यी सबैले उनको व्यक्तित्व, संघर्ष र सफलताको कथालाई अभिव्यक्त गर्छन् । अनेक चुनौती र विषमताबीच पनि भोगिल्याएको जीवनप्रति उनले आशा र सकारात्मक दृष्टिकोण राखेको देखिन्छ। त्यसैले काँडैकाँडाबीच पनि सुमायाले आफ्नो जीवनमा सुन्दर गुलाफको फूल फुलाउन सफल भएकी छन् भन्ने अनुभूति पुस्तक पढेपछि सहजै हुन्छ।

परिवारका अनेक प्रसंग अत्यन्त मार्मिक रूपमा आएका छन्। हङकङमा सुमायाको श्रीमान् लाहुरे तालिम गर्दैगर्दा यता ससुराको क्यान्सरबाट निधन हुन्छ। ससुराका चार पत्नी हुन्छन् । आफू दुई बहिनीको एकैदिन विवाह भएको हुन्छ । यी सबैले तत्कालीन समाजको यथार्थपरक चित्रण गर्छन् । त्यस्तै आमाको निधनपछि घरमा गाईको बाच्छीले पानी खान नमानेको घटनाले भावुक बनाउँछ। यसले मानिस र पशुबीचको आत्मीय सम्बन्ध साथै सुमायाको संवेदनशील मनोविज्ञानलाई प्रस्तुत गर्दछ।

बन्दना नामकी साथीको प्रसंग पनि उल्लेखनीय छ। सुमायालाई अर्थशास्त्र पढ्ने दृढ इच्छा हुन्छ। यसो हुँदाहुँदै पनि बन्दनाको आग्रहमा दुबैजनाले स्नातकमा मनोविज्ञान विषय अध्ययन गर्छन् । तर स्नातक पूरा नहुँदै बन्दना विवाह गरेर सुमायादेखि टाढिन्छिन्। यसले सुमायामा एक्लोपन छाउँछ । यहाँनेर युवावस्थामा आत्मीय मित्रताको गाँठो फुस्किन जाँदाको भावनात्मक पीडालाई जीवन्त रुपमा चित्रण गरिएको छ।

सुमायाको जीवनमा प्रेम, विवाह र दाम्पत्यका केही अनौठा प्रसंगहरु पनि भएका रहेछन् । घोपा क्याम्प धरानमा आफ्नो पतिलाई नजिकबाट देख्दा प्रथमपटक औधी हेन्डसम लागेको र त्यहीँबाट प्रेम अंकुराएको परिप्रेक्ष्य रोचक छ। उनको अगाडि प्रेम सामान्य प्रेमकथाभन्दा फरक स्वरुपमा प्रस्तुत हुन्छ। प्राय:जसोको सम्बन्धमा प्रेम, ढोकभेट र त्यसपछि विवाह हुन्छ। तर सुमायाको हकमा ढोकभेटपछि बल्ल लोग्नेसँग प्रेमभाव मौलाएको पाइन्छ। त्यसपछि मात्र विवाहको लगनगाँठो कसिएको थियो।

धरानमा पहिलोपटक चाउमिन देख्दा गड्यौला जस्तो लागेर नखाएको विषयले सुमाया नेपाली खानाभन्दा भारतीय खानाप्रति बढी अभ्यस्त रहेको देखिन्छ। बुवा भारतमा जागिरे भएकाले उनी उतै हुर्किइन् र स्नातकोत्तरसम्मको शिक्षा भारतमै प्राप्त गरिन्। त्यसैले इङ्गेजमेन्ट नहुँदासम्म उनको खानपानमा भारतीय प्रभाव पर्नु स्वाभाविकै थियो। चाउमिनभन्दा चपातीको स्वाद मन पराउनु पनि यही परिवेशको परिणाम हो भन्ने कुरा उक्त घटनाले प्रस्ट पार्छ।

पतिको चुरोट पिउने बानीले सुमाया आजित बनेकी हुन्छिन्। मन नपरे पनि तत्काल केही भन्न सकेकी हुँदिनन्। तर पछि पल्टन फर्केपछि पत्रमार्फत चुरोट छोडिदिएको खबर आउँछ। यसलाई दाम्पत्य जीवनमा आपसी सम्मान र समझदारीको सुन्दर उदाहरण मान्नु पर्छ।
किन हो कुन्नि, सुमायालाई खबर नै नगरी श्रीमान् पल्टनबाट छुट्टीमा आएका थिए। त्यतिबेला अचानक विमार परेर हस्पिटल भर्ना हुनपुग्छन् । एक दिन श्रीमान्‌ले ‘म दीर्घरोगी हुन थालेँ, तिमी आफ्नो बाटो लाग।’ भन्ने खालको विचार व्यक्त गर्दा सुमायाको हृदय चिरिक्क हुन्छ। त्यसको जवाफमा सुमायाले “यदि म यही अवस्थामा भएको भए तपाईं के गर्नुहुन्थ्यो?’ भनेर प्रतिप्रश्न राखेकी थिइन्। यो संवादले जो कोही पाठकलाई पनि हृदयमै छुन्छ।

पुस्तकको केन्द्रमा श्रीमान्‌को चरित्र अत्यन्त प्रभावशाली रूपमा प्रस्तुत भएको छ। श्रीमान्‌को वास्तविक नाम हिमालय कुमार राई हुन्छ। तर सुमायाले पुस्तकको सुरुदेखि नै ‘हिमालय सर’ भनेर सम्बोधन गरेकी छन्। नेपाली समाजमा श्रीमान्‌लाई ‘उहाँ’ या छोराछोरीको नामबाट ‘फलानाको बा’ या ‘ढिस्कानाको ड्याडी’ भन्ने चलन छ। सुमायाको छोराछोरीको नाम प्रणय र ज्योत्स्ना हो। त्यसो त, सुमायाले ‘प्रणयको बा’ या ‘ज्योत्स्नाको ड्याडी’ भनेर बोलाउन पर् ने। तर ‘हिमालय सर’ भनी सम्बोधन गर्नुको कारण के होला भनी पाठकलाई कौतुहल जाग्नु स्वाभाविकै हो। त्यसको कारण के रहेछ भने- बिरामी आमाप्रति हिमालयले देखाएको प्रेम र गरेको सेवाका कारण सुमायाले उनलाई ‘आधुनिक श्रवणकुमार’को उपाधि दिएकी छन्। आमाको उपचारमा खटिनका लागि सात वर्षमै पल्टनको जागिर त्यागिदिएका रहेछन् ।

अर्को कुरा के भने, भूकम्पपीडित विद्यालय पुनर्निर्माण परियोजनामा क्षेत्रीय अधिकृत हुँदा हिमालयले भ्रष्टाचारविरुद्ध लिएको अडान सबैभन्दा प्रेरणादायी प्रसंगमध्ये एक हो। कमिसन खान दबाब आउँदा त्यसलाई अस्वीकार मात्र नगरी भ्रष्ट कर्मचारीलाई कारबाही गर्नुले उनको असाधारण चरित्रलाई दर्साउँछ । परिवारप्रति समर्पण र कामप्रति इमान्दारिताको कारण सुमायाले आफ्नो पतिलाई ‘हिमालय सर’ ले सम्बोधन गर्न थालेकी रहिछन् भन्ने कुरा यहाँ आएर बल्ल खुलस्त हुन्छ। यसरी हिमालय सरको आचारण र स्वाभावबारे बुझ्दै जाँदा पाठकलाई महावीर पुन, कुलमान घिसिङ र हर्क साम्पाङ (हर्कराज राई)जस्ता व्यक्तित्वको सम्झना आउनसक्छ।

सुमायाको जीवन आम नेपाली महिलाले घर, जागिर र समाजबीच भोग्नुपरेका संघर्षको प्रतिनिधि कथा पनि हो। वन सुदृढीकरण आयोगमा जागिरे हुँदा घरको जग्गाको लालपुर्जा निकाल्न संघर्ष गर्नु, दाउराको चुलो, लोडसेडिङ र ग्रामीण परिवेशसँग जुध्नु सुमायाजस्तो महिलाको यथार्थता हो। साइकिल चलाएर उनी लाहान क्याम्पस पुग्दा छात्राहरूमा पनि साइकिल चलाउने चलन बढेर आएछ । यसलाई सुमायाले महिला सशक्तीकरणमा पारेको अप्रत्यक्ष प्रभावको एउटा नमूना मान्न सकिन्छ।

प्राध्यापक संघमा छँदा उपाध्यक्षबाट अध्यक्ष बन्ने क्रममा अन्याय भोग्नु परेको वितृष्णा पोखिएको छ पुस्तकमा। त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्ने क्रममा सुमाया सुरुवाल-कुर्तामा जाने गर्दिरहिछन्। उनको त्यो भेषभूषा देखेर एक प्राध्यापकले “पढ्ने हो कि पढाउने हो?” भनी टिप्पणी गरेछन् । यस्ता घटनाको प्रस्तुतिकरणले शिक्षित महिलाले समेत भोग्नुपरेको लैङ्गिक विभेदलाई संकेत गर्दछ।

पटक-पटक गर्भपतन हुँदा माताकोमा गएर सन्तान प्राप्तिका लागि पूजा-प्रार्थना गर्नु, गर्भावस्था र सन्तान हुर्काउने क्रममा श्रीमान् विदेशमा हुँदा एक्लोपन र उदासी महसुस गर्नु- यी प्रसंगहरू अत्यन्त संवेदनशील लाग्छन्। छोरी सानोमा हराएको घटना, छोराछोरीको भविष्यप्रतिको चिन्ता र अन्ततः उनीहरूको शैक्षिक सफलताको कथाले पुस्तकमा मातृत्वभावलाई अझ गहिरोसँग प्रस्तुत गरिएको छ।
विशेषतः हिमालय सर दीर्घ रोगले पीडित बनेपश्चात् सुमायाले पुर्‍याएको स्याहारसुसार सम्बन्धीको वर्णन पुस्तकको सबैभन्दा मार्मिक पक्ष लाग्छ। बसाइँसराई गरेर बेलायत आएपछि वि.सं. २०७० सालदेखि लन्डनमा उपचार गराइरहँदा पनि सुधार नआउनु, मेडिकल उपचारसँगै धामी-झाँक्री र भाकलको सहारा लिनु, अहिले आएर दशकौँसम्म श्रीमान्‌को मुखमा अन्न नपर्नु र त्यसपछि आफूले पनि स्वादिला परिकार पकाएर खाने जाँगर नचल्नु- यी घटना परिघटनाले पाठकलाई गहिरोगरी छुन्छन्।

पारिवारिक जीवनमात्र नभई पुस्तकले तात्कालीन नेपालको राजनीतिक परिवेशलाई पनि समेटेको छ। माओवादी द्वन्द्वका बेला परिवारले त्रासदी भोग्नु पर्छ। माओवादीलाई सघाएको भनेर भाइलाई झुट्टा आरोपमा सेनाले गिरफ्तार गरेको हुन्छ। सुमाया जनआन्दोलनमा सहभागी हुँदा मोबाइल हराएर वेचैन हुन्छिन् । राई यायोक्खामा अध्यक्षजस्तो गरिमामय पदमा पुगेर आफ्नो समुदायको सेवा गरेकी रहिछिन्। यस्ता राजनीतिक तथा सामाजिक परिवेशका तिथिमिति, पुगेका स्थान र सहकार्य गरिएका व्यक्तिका नाम पुस्तकमा उल्लेख गरिएको पाउँदा सुमायाको यो एउटा संस्मरणभन्दा पनि दस्तावेजिकरण जस्तो लाग्छ। जो भविष्यका अध्येतालाई एउटा भरपर्दो सन्दर्भ सामग्री बन्न सक्छ।
कृतिले सुमायालाई मूलतः सामाजिक तथा प्राज्ञिक व्यक्तित्वका रूपमा चिनाए पनि उनीभित्र गहिरो साहित्यिक संवेदनशीलता पनि छ भन्ने कुरा प्रस्ट देखाउँछ।

‘तपाईंको हरेक पाइलासँग मेरा पाइला उठ्नेछन् र बिसाउनेछन्’ भन्ने हिमालय सरप्रतिको समर्पित अभिव्यक्ति यस आत्मकथा भित्रकै अत्यन्त मार्मिक साहित्यिक अभिव्यक्ति मान्न सकिन्छ। विशेषगरी, अरूको दुःखबाट सिकाइ अध्यायमा आफ्नै मनसँग गरिएको आत्मसंवादले उनको भावनात्मक गहिराइलाई उजागर गर् छ। जीवनका पीडा, अनुभूति र आत्मचिन्तनलाई उनले सरल तर प्रभावकारी शैलीमा प्रस्तुत गरेकी छन्। यसले उनी प्राज्ञिक र सामाजिक कार्यमा सीमित व्यक्तित्व नभई लेखकीय चेतना भएकी नारीस्रष्टा पनि हुन् भन्ने संकेत गर्छ। गीति भावहरू शीर्षको अध्यायमा व्यक्त यी तलका पंक्तिहरूले उनको काव्यिक कलालाई झल्काउँछ।

जिन्दगी फूल सम्झे फूलै हो
जिन्दगी धूल सम्झे धूलै हो
जस्तो सोचे उस्तै हो जीवन
मरी गए जीवनको पल हुन्न…।

पुछारमा, जिन्दगी फूल सम्झे फूलै हो अत्यन्त महत्त्वपूर्ण र पठनीय कृति भए पनि यसमा केही कमीकमजोरी विद्यमान छन्। एउटा ग्रन्थकै आकारका कारण पुस्तक केही गह्रुँगो महसुस हुन्छ। हल्का कागज प्रयोग गरिएको भए समातेर पढ्न सहज हुने थियो। अधिकांश अध्याय दुई-तीन पृष्ठमै सीमित भएकाले कतिपय प्रसंग र भावनात्मक अनुभूतिले पर्याप्त विस्तार पाउन नसकेको हो कि जस्तो लाग्छ। केही घटनाहरू अझ विस्तृत रूपमा प्रस्तुत गरिएको भए सुमायाको अन्तर्मन र जीवनसंघर्षलाई अझ गहिराइमा अनुभूत गर्न सकिन्थ्यो।
यो ग्रन्थ एउटा महिलाको व्यक्तिगत कथा मात्र होइन; संघर्ष, निष्ठा, प्रेम, समर्पण र धैर्यको जीवन्त दस्तावेज पनि हो। अनेक दुःख र चुनौतीका वाबजुत काँडैकाँडाको घोचाइ सहँदा-सहँदै पनि सकारात्मक दृष्टिकोण कायम राख्न सके जीवनलाई फूलझैं सुन्दर र सुगन्धित बनाउन सकिन्छ भन्ने सशक्त सन्देश प्रदान गरिएकोछ । यसकारण यो पुस्तक एउटा आत्मकथामा मात्र सीमित नभई संघर्षरत मानिसका लागि प्रेरणा, आत्मबल र जीवनदर्शनको स्रोतका रूपमा साहित्यको संसारमा उदाएको छ।

सुमायाको जीवनमा आएका अनेक ‘ट्विस्ट एन्ड टर्न’हरू अत्यन्त रोचक र नाटकीय प्रकृतिका छन्। ती घटनालाई आधार बनाएर भविष्यमा एउटा आख्यान नै लेख्न सकिने सम्भावना पनि देखिन्छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!