नेपाल मगर संघ मगर समुदायको साझा संस्था हो। २०४८ सालमा स्थपना भएको यो संस्थाले मगर भाषा, धर्म, संस्कृति, रीतिरिवाज र पहिचान जगाउने काम गर्दै आएको छ। देश विदेशमा रहेका मगर दाजभाइ तथा दिदीबहिनीलाई एकतमा बाँध्ने उदश्यले स्थापना भएको यो संस्था आजसम्म मगर समुदायको भरसाको केन्द्र बनिरहको छ।
तर पछिल्ला केही वर्षदेखि संघभित्र देखिएका विवाद र असमझदारीले धेरै मगर समुदायका मानिसहरू चिन्तित भएका छन्। विधानअनुसार काम नहुनु, तल्लो तहका समितिलाई बेवास्ता गरिनु, प्रतिनिधिहरूलाई पर्याप्त सम्मान नदिएको भन्ने गुनासो धेरै ठाउँबाट सुनिन थालेको लामो समय भइसक्यो। चितवनमा भएको ११औँ महाधिवेशन र काठमाडौंमा भएको राष्ट्रिय सम्मेलनबाट पारित विधान प्रशासनबाट प्रमाणित भइसकेपछि त्यसैअनुसार संस्था चल्नुपर्ने सबैको अपेक्षा थियो। तर व्यवहारमा भने केही निर्णयहरू सीमित व्यक्तिहरूको घेराभित्र मात्र भएको अनुभूति कार्यकर्ताहरूले गरिरहेका छन्।
नेपाल मगर संघको संरचना केन्द्रीय समितिदेखि वडा तहसम्म फैलिएको छ। यसको अर्थ, सबै तहका मगरहरूको सहभागिता सुनिश्चित गर्नु हो। तर यदि निर्णय माथिल्लो तहका केही व्यक्तिमा मात्र सीमित भयो भने तल्लो तहका मगरजनहरूमा असन्तोष बढ्नु स्वाभाविक हो। संस्था बलियो बन्न सबैलाई साथमा लिएर अघि बढ्नुपर्छ। संस्था व्यक्तिभन्दा ठूलो हो भन्ने भावना सबैमा हुन जरुरी छ।
मगर समुदायका जनहरू फरकफरक राजनीतिक विचारमा हुन सक्छन्। कोही एउटा दलमा, कोही अर्को दलमा। तर जातीय पहिचान सबैको एउटै हो। राजनीति फरक भए पनि मगर समुदायको साझा हित र एकता सबैभन्दा ठूलो कुरा हो। त्यसैले मगरहरूको साझा संस्था राजनीतिक गुटबन्दी वा व्यक्तिगत स्वार्थको माध्यम बन्नु हुँदैन। सामाजिक संस्थामा राजनीति धेरै हाबी हुँदा समुदायभित्र फुट र विभाजन बढ्ने खतरा हुन्छ।
१२औँ महाधिवेशनसँग सम्बन्धित विवादले पनि संगठनभित्र संवादको कमी देखाएको छ। समस्या हुँदा छलफल, सहमति र समझदारीबाट समाधान खोज्नुपर्ने हो। तर विभिन्न समिति र संघसंस्थाले प्रशासनसम्म पुग्नुपर्ने अवस्था आउनु राम्रो संकेत होइन। यसले संगठनभित्र विश्वास कमजोर बन्दै गएको देखाउँछ।
त्यस्तै, राष्ट्रिय सम्मेलनबाट पारित विधानलाई महाधिवेशन वा राष्ट्रिय भेलाबाट मात्र संशोधन गर्नुपर्ने सामान्य अभ्यास हुँदाहुँदै केही निर्णय केन्द्रीय तहबाट मात्रै गरिएको भन्ने आरोपले पनि अन्योल बढाएको छ। विधान र प्रक्रिया कमजोर बनाइयो भने भोलि संगठनभित्र झन् ठूलो समस्या निम्त्याउन सक्छ।
हिजोका दिनहरू स्मरण गर्ने हो भने, बागमती प्रदेशको अधिवेशनसँग जोडिएका घटनाले पनि संगठनभित्र समन्वय र पारदर्शिता आवश्यक रहेको देखाएको छ। संस्थागत निर्णय भइसकेपछि अन्तिम समयमा सामाजिक सञ्जालमार्फत फरक सूचना आउँदा कार्यकर्ताहरूमा भ्रम र असन्तोष फैलिएको प्रसंग अझै देखिन्छ। इतिहासबोध गर्ने हो भने पनि अभिभावकजस्तो संस्थाले सबैलाई जोड्ने, मिलाउने र समाधान खोज्ने भूमिका खेल्नुपर्ने हो, तर त्यसको सट्टा विचलन पार्ने खेल होकि भन्ने डर हामी जनहरूमा महसुस हुन्छ।
विश्वका ठूलाठूला वैज्ञानिकहरूले पनि आविष्कारको क्रममा त्रुटि र गल्ती आत्मसात गर्दै परीक्षणमा सफलता पाएको कुरा भुल्नु हुँदैन। त्यसैको सैद्धान्तिक अभ्यास गर्दै सामाजिक कामका गल्ती हुँदैनन् भन्ने छैन। गल्ती गर्ने मान्छे नै काम गर्ने मान्छे हो। तर गल्ती स्वीकार गरेर सुधारतर्फ जानु नै राम्रो नेतृत्वको पहिचान हो। व्यक्तिगत अहंकारभन्दा संस्थाको मर्यादा ठूलो हुन्छ भन्ने सोच सबैमा हुनुपर्छ। सार्वजनिक जिम्मेवारीमा बसेका व्यक्तिहरूले संयमता, पारदर्शिता र जिम्मेवारी देखाउनु सैद्धान्तिक मानक पनि हो।
आज मगर समुदायलाई सबैभन्दा बढी आवश्यक कुरा आरोप-प्रत्यारोप होइन, आपसी विश्वास र एकता हो। नेपाल मगर संघजस्तो साझा संस्थालाई बलियो बनाउन सबै पक्षले विधानको सम्मान गर्दै संवाद, सहकार्य र आपसी सम्मानलाई प्राथमिकता दिनुपर्छ। संस्था बलियो भयो भने समुदाय बलियो हुन्छ, समुदाय बलियो भयो भने मगरहरूको पहिचान र भविष्य पनि सुरक्षित हुन्छ भन्ने बुझाइ हाम्रो छ।






