नुवाकोट (घलेभन्ज्याङ) । खेलकुदको विकास तथा युवाहरूलाई भलिबल खेलतर्फ आकर्षित गर्ने उद्देश्यले नुवाकोटको पञ्चकन्या गाउँपालिका–३ मा ‘प्रथम वडा कप पुरुष भलिबल प्रतियोगिता–२०८३’ आयोजना हुने भएको छ।
पञ्चकन्या ३ नुवाकोट घलेभन्ज्याङका खेलाडी तथा युवाहरुको सक्रियतामा यही जेठ ३० र ३१ गते (शनिबार र आइतबार) सुन्दर पर्यटकीय क्षेत्र घ्याङस्वाँरा शहीद स्मारक पार्कमा भलिबल प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगितामा सहभागी हुन चाहने टोलीहरूले २४ गतेसम्ममा टिम दर्ता गरिसक्नुपर्नेछ । दर्ता शुल्क ५ हजार रुपैयाँ तोकिएको छ ।
प्रतियोगिताका विजेता टोलीहरूलाई आकर्षक नगद पुरस्कार प्रदान गरिनेछ । जसअनुसार प्रथम हुने टोलीले ४० हजार, द्वितीय हुने टोलीले ३० हजार तथा तृतीय हुने टोलीले १५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
नेपाल भलिबल संघ (NVF) को नियमअनुसार खेल सञ्चालन गरिने आयोजकले जनाएको छ। प्रत्येक टोलीमा व्यवस्थापक र प्रशिक्षकसहित १२ जना खेलाडी समावेश गर्न पाइनेछ । प्रतियोगता सञ्चालनका लागि आवश्यक बजेट व्यवस्थापन चन्दा संकलनबाट गरिने आयोजकले जनाएको छ ।






