रित्तिँदा गाउँ, बढ्दो असुरक्षा [विचार]

SHARE:

“सर्पस्य भयम्, सिंहस्य निद्रा, ब्राह्मणानां च एकता ।
यदि स्यात् त्रितयं लोके, न जीवेत् कश्चिद् अन्यथा ॥”
अर्थात्, यदि सर्पमा मान्छेको अनुपातमा हजारौँ गुणा डर नहुन्थ्यो भने, जंगलको राजा सिंह २४ घण्टामा १८ घण्टा निदाउने थिएन भने, र ब्राह्मणहरू एकजुट हुन्थे भने यो संसारमा अन्य प्राणीहरूको अवस्था कस्तो हुन्थ्यो होला भनेर कल्पना गरिएको एउटा पुरानो नीति व्यङ्ग्यात्मक श्लोक हो यो ।
हुन त यो श्लोक आजको सन्दर्भमा शाब्दिक रूपमा यथार्थ नहुन सक्छ, तर शक्ति, डर र सन्तुलनको एउटा गहिरो सन्देश यसमा लुकेको छ। यतिबेला नेपालका गाउँघरका वास्तविकताहरू हेर्दा यो श्लोकको सम्झना निकै आउँछ।
आज नेपालका धेरै गाउँहरू प्रायः खालीजस्तै भएका छन्। दुर्गम जिल्लाहरूमा न्यूनतम सुविधा नपुग्दा मानिसहरू बसाइँ सर्नु स्वाभाविक हो। तर पोखरा जस्तो विकसित शहरका छिमेकी गाउँहरू समेत सुनसान बन्दै गएको देख्दा भने प्रश्न उठ्छ “के यो केवल देखासिकीको परिणाम हो त?”
धेरैले त्यसै भन्छन्। तर वास्तविकता त्यति सरल छैन। गाउँ छोड्ने निर्णयको पछाडि शिक्षा, स्वास्थ्य, सुरक्षा, श्रमशक्ति अभाव, सामाजिक संरचनाको विघटन र वृद्धावस्थाको असुरक्षा जस्ता अनेक कारणहरू छन्। यसको एउटा सानो उदाहरण मेरो आफ्नै अनुभव हो। मैले यसलाई शेयर नगरी रहनै सकिन ।
पोखराको केन्द्रबाट करिब २० मिनेटको दूरीमा रहेको हाम्रो पुर्ख्यौली घर अर्मलामा । लाग्छ सुविधाका हिसाबले हेर्दा त्यहाँ कुनै ठूलो कमी छैन। हजुरबुबा र आमा बुवाको पसिना बगेको घर-जग्गा, हाम्रा तमाम सम्झनाले भरिएको आँगन, बुवाले अन्तिम सास फेर्नुभएको घर, यी सबैसँग जोडिएको भावनात्मक सम्बन्ध कसलाई नहोला र? यो घरसंग ।
विशेष गरी मेरी आमाका लागि त्यो घर केवल बस्ने ठाउँ होइन, जीवनभरको संघर्ष, माया र स्मृतिको केन्द्र हो। तर जीवनभन्दा ठूलो कुनै सम्पत्ति हुँदैन भन्ने सत्यलाई अन्ततः स्वीकार गर्नैपर्दो रहेछ।
यसपालि म आमासँग अली समय बिताउने उद्देश्यले माथीघरमा थिएँ। हामी पुगेको दोस्रो दिन म बजारतिर गएको बेला हाम्रो आँगनमा एउटा सर्प (तलको भिडियोमा भएको) देखिएछ। परिवारका सदस्यहरूले त्यसलाई नमारेर लखेट्दै माथिल्लो जंगलतिर पुर्‍याएछन्।
म स्वयं सर्पसँग असाध्यै डराउने मान्छे। साँझ आमाले घटना विस्तारमा सुनाउँदा नै शरीरभरि काँडा उम्रिएको अनुभव भयो।
तर त्यो त सुरुआत मात्र रहेछ।
केही दिनपछि फेरि त्यही सर्प आँगनमा देखियो। यसपटक वरपरका भाईहरु, घरका सदस्यहरूले त्यसलाई भगाउन निकै प्रयास गरे। मट्टितेलदेखि आगोसम्म प्रयोग गरियो, तर केही क्षणमै त्यो कतै गायब भयो।
अब डर सामान्य चिन्ता रहेन। आमासहित हामी सबैलाई एउटा प्रश्नले सताउन थाल्यो, यदि रातिको समयमा यो घरभित्र पस्यो भने?
फेरि दुई दिनपछि त्यो सर्प मानौँ परिवारको सदस्यझैँ गरी आँगनमा घाम ताप्न निस्कियो। वडा कार्यालय र वन कार्यालयमा सम्पर्क गरियो। वन कार्यालयमा सर्प समाउने टोली रहेछ भन्ने जानकारी पाइयो र टोली पनि आयो। तर सर्प भने उनीहरू पुग्नेबित्तिकै हरायो। टोलीले घरको आँगनको डिलसमेत भत्काएर खोज्यो। तर कतै भेटिएन।
स्थिति यस्तो बन्यो कि आमालाई एक्लै त्यो घरमा राख्ने साहस हामीसँग रहेन। हामी तलको अर्को घरमा सरेर बस्न थाल्यौँ। तेस्रो दिन फेरि भाउजुको फोन आयो—“सर्प त पिँढीमै हिँडिरहेको छ।”
त्यसपछि पुनः सर्प समाउने टोली बोलाइयो र धेरै प्रयासपछि सर्पलाई नियन्त्रणमा लिएर लगियो। टोलीका एक सदस्यले त्यो गोमनसर्प (कोब्रा) भएको र अत्यन्त विषालु प्रजाति भएको बताए। आफूलाई असुरक्षित महसुस गरेमा आक्रामक बन्न सक्ने र टोक्यो भने केही मिनेटमै ज्यानसमेत जान सक्ने जानकारी दिएपछि त डर झन् बढ्यो।
त्यही दिन मैले आमालाई भारी मनले भन्नुपर्‍यो”आमा, अब यसरी माथिको घरमा एक्लै बस्न हुँदैन।” आमाले पनि निकै पीडाका साथ त्यो यथार्थ स्वीकार गर्नुभएको छ।
यो केवल हाम्रो परिवारको कथा होइन। आज नेपालका हजारौँ गाउँका वृद्ध बुबाआमा र आमाहरूको साझा कथा हो।
गाउँहरू रित्तिँदै गए। मानिसहरू शहरतिर सरे। खेतीपाती घट्यो। गाईवस्तु पाल्ने चलन हराउँदै गयो। दाउरा काट्ने, घाँसदाउरा गर्ने, जंगल चहार्ने मान्छेहरू कम भए। परिणामस्वरूप हिजोका नाङ्गा डाँडाहरू आज घना जंगलमा परिणत भएका छन्।
जंगल बढ्नु वातावरणका दृष्टिले सकारात्मक पक्ष हो। तर जब गाउँमा मानिसहरू घट्छन् र वन्यजन्तुहरूको प्राकृतिक डर समाप्त हुन थाल्छ, तब समस्या सुरु हुने रहेछ ।
आज धेरै ठाउँमा बाघ, भालु, चितुवा, बाँदर, दुम्सी र विषालु सर्पहरू मानव बस्तीको छेउछाउसम्म पुग्न थालेका छन्। गाउँमा रहेका अधिकांश मानिस वृद्ध, महिला वा बालबालिका छन्। बलिया जवानहरू रोजगारीका लागि देशबाहिर वा शहरतिर छन्। बाँदरले खेतबारी नष्ट गर्ने, भालुले पशुचौपाया मार्ने, चितुवाले बाख्रा लैजाने र सर्पहरू घरआँगनसम्म आउने घटना सामान्यजस्तै बन्न थालेका छन्।प्रश्न केवल वन्यजन्तुको होइन, ग्रामीण जीवनको सुरक्षा र अस्तित्वको हो।
हामी विकास, सुविधा र आर्थिक अवसरको खोजीमा अघि बढिरहेका छौँ। त्यो आवश्यक पनि छ। तर त्यसको अर्को पाटो पनि छ त्यो हो हाम्रा गाउँहरू रित्तिँदै छन्, सामाजिक संरचना कमजोर बन्दै छ, र वृद्ध पुस्ता असुरक्षाबीच जीवन धकेलीं रहेका छन्।
कहिलेकाहीँ लाग्छ, हामी सुखी हुने दौडमा यति धेरै व्यस्त भयौँ कि खुशी र सुरक्षित जीवनको वास्तविक अर्थ नै कतै हराउँदै गएको छ। आजको नेपालमा गाउँ रित्तिनुको पीडा केवल घर बन्द हुनु मात्र होइन। त्यो एउटा जीवनशैली, एउटा सामाजिक संरचना र पुस्तौँदेखि चलेको सामुदायिक सुरक्षा प्रणाली बिस्तारै समाप्त हुँदै जानुको संकेत पनि हो। गाउँहरू जोगाउने कुरा केवल पुराना घर मठ मन्दिरहरु, पाटीपौवाहरु जोगाउने विषय मात्र होइन, त्यहाँ बसिरहेका मानिसहरूको आत्म सम्मान, सुरक्षा र जीवनको गुणस्तर जोगाउने विषय पनि हो। यसमा साहेद सिंगों मानव जगतले चिन्तन मनन गर्न अब ढिला गर्न हुदैन । सबैको जय होस् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!