स्मरण : किस्ता किस्ता जिन्दगी

SHARE:

भीम राई
मे महिनाको समय छ । तैपनि मौसम नराम्रोसँग बिग्रेर आइरहेको छ । वर्षायामको झरी झैं दरदर पानी परिरहेको छ । प्रकृतिको नियमलाई मानव जीवनले नियन्त्रण गर्न सक्ने क्षमता अहिलेसम्म विकास भइसकेको छैन । यदि विकास भएको भए कति सजिलो हुन्थ्यो होला ? त्यस्तो प्रतिकूल मौसमको बावजुद पनि हामी भतिजी लक्ष्मीकी माईली छोरीको विवाहको लागि एभरस्ली, इङ्गल्यान्डमा पुगेका छौं ।

वास्तवमा भोजमा उपस्थित हुने समय निमन्त्रणा कार्डमा दुई बजे लेखिएको थियो । तर मेरी श्रीमती के के गर्छिन् गर्छिन् । त्यसै समय खेर फाल्छिन् । जसले गर्दा एक घण्टा ढिलो भएर तीन बजे मात्र विवाहस्थल पुगेका थियौं । तर हामी त्यहाँ पुग्दा धेरै जसो निम्तालुजनहरू अगाडि नै उपस्थित भइसकेका थिए ।

विवाहको अति प्रतिष्ठित भोज वारब्रुक हाउसको मार्की हलभित्र हुन गइरहेको थियो । हामी त्यहाँ पुग्ने बित्तिकै, – “अलिक धिलो आउनु भयो । लु खाना तिर पालिहाल्नोस् त ?” प्रीतिभोजका आयोजक सदस्य तथा पेय पदार्थका कप्तान गजेन्द्र राईले बारको नजिक पुग्ने बित्तिकै त्यस्तो सल्लाह दिइहाल्छन् ।

अलिक हतार पनि छ । आखिर चन्द्रसेन दाजूको सबैभन्दा ठूलो छोरा जेठा राई । चिने जानैकै मान्छे हुन् । फोनमा घरिघरि बोलिरहेको मान्छेसँग के अहिले बोलि रहनु है भन्ने सोचें । ठूलो मान्छे हुँदै खाना सजाएको ठाउँतिर सुइँसुइँ लागें ।

मार्की बाहिर फुसफुसे पानी परिरहेकै थियो । सारा ब्रह्माण्डमा भएका ग्रह, नक्षत्र र ताराहरुको गति हेरेर पण्डितले साइत जुराएको शुभ विवाहको दिनमा कतै नभएको छानोदेखि तरर चुहिरहेको पानीको दृश्य देख्दा कताकता मनलाई बिरसिलो लागिरहेको छ । तर एकछिनपछि म सुस्तरि अगाडि बढ्छु र खाना थाप्ने स्थानमा पुग्छु । त्यसपछि एउटा खाली प्लेट उचाल्छु । अनि ओल्लोछेउँदेखि पल्लोछेउँसम्म सरर एक पटक खानेकुराहरुको दृश्यवलोकन गर्छु ।

खानेकुराहरुको त्यसरि एक झलक नजर लगाउँदा भेडाको पाठाको कर्जिमर्जिले बनेको खोटाङ्गे भुटभाटले छाडेको मगमगी वासनाले मेरो नाकलाई बेसरि आकर्षण गर्छ । मैले किन खोटाङ्गे भनेको हो भने त्यस खानाको मास्टर सेफ रावा खोलाका पानी पिएर हुर्केका खोटाङ्गे भाई हुन् । पल्टनघरमा निक्कै लामो समयसम्म सँगसँगै काम गरेको हिम्मत राईको खानाको व्यापार आजभोली बेलायतमा राम्रैसँग फस्टाएका छन् । भनौं – उनको व्यन्जनले यतातिर बस्ने नेपालीहरुको मात्र नभएर कुहिरेहरुको पनि जिब्रोमा राम्रैसँग छाप छाडेका छन् ।

हुनत यसरि हलभित्र खानपिनको कुराले गर्दा यतिबेला मेरो नाकको मात्र खास के कुरा भो र ? मेरा कानहरुलाई पनि रतीभर फुर्सत छँदै छैन् । किनभने पर कुनामा एकजना डिस्क जोकि (डिजे) बस्ने स्थान बारिएर छुट्टै राखिएको छ । तिनै स्थानदेखि डिजेले ‘सुम्निमा रानीले दिएको त्यो लाल मोहर, यो साल होइन पोहोर’ भन्ने इन्द्रकला राईको कर्णपृय स्वर बजाएर मार्की हल थर्काइ रहेका छन् । अनि गीतले म जस्तै अन्य मानिसहरुलाई पनि नाँच्नको लागि खुट्टा जुरक जुरुक उँचालिरहेका छन् ।

राम बहादुर राईको नातिनी काजी राईको छोरी इन्द्रकला राई साइनोले मेरी पनि नातिनी नै हुन् । साँच्चै साँच्चै भन्ने हो भने गाऊँमा उनकी घर र मेरो घर ढुङ्गा फाल्दा पुग्ने दुरिमा अवस्थित छन् । त्यसैले यतिबेला म उनकी गीत सुन्दा मेरो घरको आगनको डिलमा बसिरहको छु भन्ने आभाष हुन्छ । अनि त्यहिँदेखि बेहुलीकी मावली घर दिखुवा खोलापारि शंखु गाउँ हेरिरहेको छु भनेर मनमनै कल्पना गर्छु ।

हुनत यस आलेखमा धेरै कुरा के गर्न मिलिहाल्छ र ? लगभग बयालिस त्रिचालिस वर्षदेखि सात समुन्द्र पारि हराइ रहेको मान्छे हुँ । अझै विदेशको गुलामी गर्ने मान्छेले स्वदेशको के गीत सङ्गित सुन्नु हौ भन्ने गरेको सामाजिक संजालमा टिप्पणी देख्दा बायाँ छाती चसक्कै दुख्छ, भतभती पोल्छ । वास्तवमा जुन चिज आफ्नो सामु छ । त्यसको खास्सै माया हुँदैन । तर जुन टाढा छ । त्यसको जस्तो खातिर अरु कसैको हुँदैन । त्यसैले यति टाढा बिदेशमा बस्दा र आफ्नो कान कानमा नेपाली गीत आएर यतिबेला ठोकिदा मलाई स्वर्गिय आनन्द मिल्छ ।

अझै सत्य सत्य बताइदिने हो भने मलाई यसरि नेपाली गीत सङ्गित सुनिरहने अवसर पनि घरिघरि जुरिरहन सक्तै सक्त्तैन । किनभने म तारासँग मध्ये इङ्गल्यान्डको एउटा एकान्त गाऊँमा बस्दै आइरहेको छु । अझै प्रस्ट रुपमा यसो भनौं । हामी बस्ने गाऊँ एकदम सानो छ । जहाँ मानिसहरु बस्ने घरहरु पनि अति नै थोरै छन् ।

बरु त्यसको सट्टामा बेलायती पोथ्रे रुख विरुवाहरु धेरै छन् । जहाँ लुकिछिपि बस्ने खरायो, मिर्ग र फ्याउँराहरु चाहिँ फालाफाल भेट्न सकिन्छन् । नेपालीहरु भने पटक्कै भेट्दै भेटिदैनन् । त्यसैले समय समयमा नेपालीहरुले गर्ने कार्यक्रममा यसरि उपस्थित भएर कर्णपृय नेपाली गीतहरु सुन्ने अवसर पाउँदा निश्चय नै झन धेरै गाऊँघरको यादले सताउने गर्छ ।

हातमा आँधा थाल जति भुजा, दुई तीनवटा कुखुराका पखेटाहरु, भेडाका पाठाको भित्रास, हेर्दै खाउँखाउँ लाग्ने आँधापात सेलरोटी र गोलभेँडाको पिरो अचार लिएर एकछिन त्यहिँ उभिरहन्छु । त्यसपछि अव कता बसौ ? को सँग बसौ ? अनि मानिससँग के गफ चुट्यौं ? भनेर केहीबेर दिग्भ्रमित हुन्छु । तर त्यसरि मलाई टोलाइरहेको देखेपछि खानाको मालिक हिक्मत राईले, –

“दाजू ! ऊँ पर मार्कीको बिच भागमा जानुहोस् । त्यहाँ अलिक उज्यालो पनि छ । यहाँदेखि हेर्दा त्यहाँ खाली ठाउँ पनि देखिन्छ । त्यहाँ गएर ढुक्कले बस्नोस् र स्वाद मानिमानि खानुहोस्,” पहिले आँखीभुइँ उचाल्छन् र सुरिलो स्वरमा त्यति भन्छन् । अझै उनको ती भनाइ सँगसँगै हातमा पक्रिरहेको खाना पस्काउने एउटा ठूलो डाडुले त्यस ठाउँतिर देखाइ दिन्छन् ।

“खानाको मालिकले जे भन्यो त्यो मान्नु पर्छ । नत्रभने मास्टर सेफले डाडुले बजाउँछ,” भनेर पल्टन घरमा भर्ती भएपछि आधारभुत तालिम केन्द्रमा सुनेको थिएँ । उनको भनाइ सुन्ने बित्तिकै तालिम केन्द्रका मास्टर सेफ गुरुजीहरु सम्झन्छु । उक्त्त सम्झनाले मेरा पिडौलाहरु अलिअलि काम्न सुरु गर्छन् । सेफको डाडुसँग डराएर अचानक कम्पन छुटेपछि, –

“हैट ! कस्तो युध्दमा सातो हराएको बुढो सिपाही जस्तो डराएको हौ, म,” मनमनै भन्छु र सुइँसुइँ अगाडि बढ्न थाल्छु ।

निक्कै लामो समयसम्म बेलायती महासडक (मटर वे) चालिस, त्यसपछि चार र अन्तमा बेनामे बाटोतिर मटर हाक्दा हराउँदै हराउँदै मुस्किलले विवाहको भोजमा उपस्थित भएको थिएँ । तर, “म कति धेरै बाटो हराए,” भनेर कसैलाई सुनाइ हाल्न मनले पटक्कै मानिरहेको थिएनँ । यदि कसैलाई भनि हाले भने, पहिलो कुरो त बुढोको कार निक्कै नै पुरानो रहेछ । जस्ले गर्दा बाटोको नक्सा पढ्ने नयाँ नेभिगेसन प्रणाली छैन रहेछ । त्यसैले बुढो बाटो हराउने रहेछ, भन्छन् भन्ने डर थियो ।

दोश्रो कुरो चाहिँ बुढाको दुई पैसाको खोपडी नै छैन रहेछ । खोपडी गतिलो भए त अहिले हेर कप्तान वा मेजर हुन्थे । जोडी बुढाबुढीले महिनै पिछेको अधिकृतको निवृतिभरण खाइ सक्दैन थिए । त्यसै त कहाँ पल्टनघरबाट सिपाहीमा नै निवृत भएका रहेछन् भनेर मानिसहरुले गीत गाउँछन र मेरो प्रतिष्ठामा चोट पर्छ कि भन्ने डरले चुइँक्क बोल्दै बोल्दिनँ । बरु जतिसुकै थकाइ महसुस भएपनि पल्टन घरमा सबैले गर्ने झुटो हरकत गर्दै नथाकेको जस्तो नाटक गरिरहेको थिएँ ।

बाहिर पानी परिरहेको हुनाले मार्कीभित्र मानिसहरुको चहलपहल निक्कै नै बाक्लो थियो । त्यसैले पल्टनघरको पूर्व चालक र अहिलेको माहिर खाना व्यापारी हिक्मतले सल्लाह दिए बमोजिम सावधानी पूर्वक हिँडेर बीच भागमा रहेको झ्यालको नजिकै पुग्छु । उक्त स्थानमा पुगेर उनलाई एकछिन सम्झन्छु । वास्तवमा ती भाईका व्यापार मात्र होइन । अहिलेसम्म आँखा पनि ठीक नै रहेछ । नत्रभने त्यति टाढादेखि म भए यो खाली ठाउँ के देख्न सक्थे र ? मरिगए देख्न सक्दिनथें । भित्रि हृदयदेखि त्यसो भन्छु ।

खाली कुर्सीहरुको नजिकै पुगेपछि एकचोटि सर्लक्कै पछाडि फर्किन्छु । अनि ताराको प्रतिक्षा गर्न थाल्छु । किनभने उनी बाटोमा अलमल गर्दै गर्दै आउँदै थिइन । हुनत मैले उनलाई यसरि घरिघरि प्रतिक्षा गरेर जीवन चलाएको औला भाँचेर गन्दा सैतिस पुरा भएर ठेक्कै अठतिस् वर्ष लागि सकेका छन् । त्यसैले धिलो गर्ने उनकी आनिबानी मलाई राम्रैसँग थाहा छ ।

तर हामी जहाँसुकै जाउँ वा जे सुकै गरौ । जहिले पनि म अगाडि र उनी मेरी पछाडि नै हुन्छिन् । हुनत यस्तो लाग्छ, हाम्रो समाज पनि अचम्मले बनेको छ । तुलनात्मक रुपमा छोरा मानिसहरुलाई भन्दा छोरी मानिसहरुलाई धेरैले मन पराउँने गर्दछन् । जसको निश्चय नै केही कारणहरु हुन सक्छन् । तर सबैभन्दा बढि त पुरुषहरुमा हुने कामवासना नै मूख्य कारण हो कि भन्ने मेरो ठम्याई छ । संभवत यिनै कारणले गर्दा मेरोभन्दा उनकी इस्टमित्रहरु अलिक बढि नै हुने गरेका होलान भनेर म आफूले आफैलाई प्रश्न गर्छु ।

हुन पनि यस्तो उल्लासमय भोजमा खाना थापेर मलाई पछ्याउँने क्रममा बाटोमा चिनेजानेका जति सबैजनासँग भलाकुसारी गर्नै पर्यो । नत्रभने कसैकसैले, “हेर पैसा कमाएर ठूलो मान्छे भएकी,” भनि हाल्छन् । त्यै माथि हामी नेपालीहरुका भेटने बित्तिकै बिभिन्न प्रकारको प्रश्नहरु थोपर्ने बानी नै छन् । अन्ततः कति मोटी भएछौ ? कसरि पातली भएकी ? खान पाएनौ कि के हो ? कि रोग लागेर हो ? बाफ रे बाफ । यिनका श्रीमान् के सार्हो लोभि हुन् ? के बिधि नियन्त्रण गरेका हुन् ? नानाथरिका प्रश्नहरु ओइरि हाल्छन् । अरुको स्वस्थ र सम्पतिको बिषयमा सबैभन्दा बढि टिप्पणीकारहरु यस संसारमा सायद नेपालीहरु नै होलान् ?

अँ, हातमा एक प्लेट खाना समातेर निक्कैबेर रनभुल्ल परिरहेको देखेपछि, “ अङ्कल ! नमस्ते छ । अनि यहाँ बस्नोस न ? यी कुर्सी खाली छ,” कसैले मेरो बायाँ दिशादेखि बस्नको लागि अनुरोध गर्दै एउटा कुर्सी देखाइ दिन्छिन् ।

म त्यतिबेला अरु कुरा केही सोच्दै सोच्दिन । झट्टपट्ट आवाज आएको स्थानतिर हेरिहाल्छु । अनि पुष्पालाई देख्ने बित्तिकै, “ए, छोरी ! हुन्छ, हुन्छ । बसिहाल्छु नि,” संक्षिप्तमा जबाफ दिन्छु ।

उनको अनुरोधलाई स्वीकार्छु । कुर्सीमा थ्याच्च बस्छु । खानालाई टेबलमा राख्छु । त्यसपछि एकचोटी लामो सास तान्छु । निक्कैबेर समय लगाएर तारा पनि आउँछिन् । नजिक आएर थपक्कै मेरो दाहिने तिर बस्छिन् । तर सोहि समयमा पुष्पाको श्रीमान मेरो नजिकै आउँनुहुन्छ ।

“तपाइँको भिडियोहरु मलाई असाध्यै राम्रो लाग्छ । एकसेएक भिडियोहरु हेर्ने गर्छु । भिडियोहरु बनाउन नछाड्नु होला ?” संक्षिप्तमा कुरा गर्हुन्छ ।

अचानक उहाँको कुरा सुनेपछि एकछिन दङ्ग पर्छु । त्यसपछि अति प्रफुल्लित मुद्रामा बोल्न थाल्छु, – “भिडियोहरु हेरि दिनु भएकोमा धेरैधेरै धन्यवाद छ । अनि यहाँलाई भेटेर एकदम हर्षित भएको छु । जुवाइँ साहेव !” त्यति भन्छु ।

“ठीक्छ । ल ल खाना लिनुहोला ? हामी त अघि नै खाइसक्यौ,” त्यति बोलिसकेपछि पहिले बसिरहेको स्थानमा उठेर जानु हुन्छ ।

भतिजी पुष्पा र जुवाइँलाई अकस्मात भेटेपछि खाना खाँदै खाँदै लगभग पैतालिस वर्ष पहिलेको कुराहरु स्मरण गर्न थाल्छु ।

गाउँमा छँदा बिभिन्न कामहरु पर्थ्यो । त्यसैले जिल्लाको सदरमुकाम दिक्तेल जान्थें । दिखुवा खोला तरेपछी नाक ठोकिने उकालो थियो । तिनै उकालो चढेर शंखु र सिरिसे गाऊँ पुगिन्थ्यो । त्यसपछि मात्र हराइ सकेको सास फिर्थ्यो । उकालो चढ्दा भोकले रनथनाउँथें । हप्तौ खान नपाएको उडुसको हालतमा दिक्त्तेल पुग्थें । दिक्त्तेलमा पुगेर पुष्पाम्मा भाउज्यूलाई नमस्कार भनिन्थ्यो । त्यसपछि सरासर घरभित्र पसिन्थ्यो । भान्सा कोठाको कुनामा केही टेबल र कुर्सीहरु थिए । एउटा काठे कुर्सीमा बस्थें । त्यसपछि पिरो गोलभेँडाको अचारसँग भैँसीको सुकुटी र काँसे डबकोमा एक डबको जाड पिइन्थ्यो । अनि भोकले अतालिदै खाना खाइन्थ्यो ।

तर अहिले बुढो भइयो र समयले निक्कै छाडेर गइसक्यो । त्यसैले दिमागमा सबै कुरा सम्झना त अवश्य छैनन् । तर कता कता धमिलो याद भने आइरहन्छ ।

अँ, पुष्पाको आमालाई चाम्लिङ भाषामा पुष्पाम्मा भन्ने चलन छ । मैले तिनै पुष्पाम्माकी जेठी छोरी पुष्पालाई त्यतिबेला देखेको थिएँ । उनी त्यसबेला अलिक सानो नै थिइन । नुनथलाको गल्लावालले मेरो उँचाइ र छाती नापे । अनि तौल जोखे । त्यसपछि बेलायती गोर्खा सेनामा भर्ती भएँ । अनि लामो समयसम्म उतै हराए । त्यसपछि दुःख सुखको कुरो त परै जावस । उनीसँग यतिन्जेलसम्म देखादेख नै हुन सकेको थिएन । त्यसको लगभग चार दशकपछि गत वर्ष एस्कट रेस कोर्समा देविराम दाजूको छोरीको विवाहामा हाम्रो कमिला भेट भएको थियो । त्यसपछि यो दोश्रो पटकको भेट हो ।

यतिखेर उनलाई हेर्छु । ती पृयदर्शन दिनहरु सम्झन्छु । एउटा फुरफुरको जामा लगाइ रहेकी देख्थें । अनि चरिचिट्टै परेर दिक्तेल बजार उँधोउँभो गर्थिन् । त्यतिबेला जति राम्री देखिन्थिन् । अहिलेसम्म त्यतिक्कै राम्री देखिएकी छिन् । केही फेर बदल भएकी पाउदिन । यदि फरककै कुरा गर्ने हो भने उनले शरिरमा लगाएकी लुगामा मात्र देख्छु । पहिले जामामा देखेको थिएँ । अहिले साडीमा देख्दैछु । तैपनि सिरदेखि पाउसम्म कालो साडीले छपक्कै जिउँ ढाकेकी उनलाई अति नै सुहाएकी लाग्छ ।

मलाई यतिबेला यस्तो महसुस भइरहेको छ । फेसन केवल पहिरनमात्र नभएर हरेक नारीहरुको आत्म विश्वास र प्रतिष्ठाको बिषय पनि हो । अझ छाती फुलाएर यसो भनौं । कालो रङ्गको कपडा पहिरन गर्दा मानिसहरुलाई कडा अनुशासन र आत्मनियन्त्रणको निरपेक्षता प्रतिनिधित्व गर्दछ ।

मनमनै त्यति सोच्छु । अनि भलाकुसारी गर्न थाल्छु । त्यसपछि उहिलेका कुराहरुले गति लिन सुरु गर्छ । विवाहको खाना जति मिठो छ । हाटडाँडा, त्रिबेणी चोक, भवन गैरा र रत्न पार्कसम्मका बिर्सिसकेका सम्झनाका तरेलीहरु त्यति नै मिठो लाग्न थाल्छ । लयालु होटलको भुक्के सेलरोटीबाट कुरा सुरु हुन्छ । भोटेकान्छीले बनाएकी सिन्कीको अचारमा पुगेर सकिन्छ । हाम्रो हृदयमा मात्र होइन । जिब्रोमा पनि तीतोमिठो कुराले छुन्छ ।

एक आपसमा निक्कैबेर कुरा हुन्छ । कुराको प्रसङ्गमा मेरा भतिज राजनको पनि कुरा निस्कन्छ । असाध्यै धेरै मेहनती मेरा भतिजले आफ्नो जीवन बिताउने क्रममा उनीहरुकै घरमा निक्कै लामो समयसम्म परिवारको एकजना अशल सदस्यझैं भएर बसेका सम्झना दगुरेर आउँछ । उनले त्यहिँ बसेर दिक्त्तेल क्याम्पसमा अध्ययन गरेका थिए । त्यसपछि, त्रिभुवन विश्व विधालयदेखि स्नातकोत्तर हासिल गरे । फेरि आफ्नै पुरानो क्याम्पस दिक्त्तेलमा अध्यापन गरेका हामी दुवैजनाले लयमा लय मिलाएर स्मरण गर्छौं ।

गाऊँघरको यादमा अगाध स्नेहले भरिपूर्ण मुटुको धड्कनलाई काबुमा राखेर धीर मुद्रामा उहिलेका कुराहरु सम्झदै बिर्सदै बातचित मारिरहँदा एकजना मान्छेले मेरो पछाडिदेखि आएर अचानक मेरुदण्ड भाँचिएलाझैं गरेर जोरसित ढ्याप मार्छन् ।

उनको त्यस हिर्काइले मलाई थोरै पिडा महसुस हुन्छ । त्यसैले हत्तपत्त पछाडि फर्केर उनलाई हेरिहाल्छु । पछाडि फर्कदा एकजना अग्लो न अग्लो मान्छे छ । तर मिठो न मिठो मुस्कान छाडेर मेरो पछाडि ठिङ्गै उभिरहन्छ । तर त्यसरि मैले मुन्टो फर्काउने बित्तिकै, –

“मामाश्री ! के छ खबर ? अनि खाना त खाँदै हुनुहुन्छ । के कस्तो छ ? सायद मिठो छ होला नि, हकि ? कि छैन् र ?” टाउको फर्काउदा मेरो कान उनको मुख छेउमा पुग्छ । त्यसैले मेरो कानको ‍जालि फुट्ने गरि उनको आवाज आउँछ ।

“कस्तो त जुवाइँ ! म जस्तो बुढो मान्छेको सातोपुत्लो उड्ने गरि तर्साउनु भएको हौ ?” म पनि एक पटक मार्की हल थर्कनेगरि उहाँलाई बेसरी थर्काउछु ।

तर जाबो मानिसको मन न हो । बल्ल बल्ल भोजमा भेटेको जुवाइँ सम्झेर एक्कैछिनमा विचार परिवर्तन गरिहाल्छु । त्यसपछि बस्नको लागि एउटा खाली कुर्सी तानि दिन्छु । र, आफ्नै जुवाइँ सम्झेर मायाले, “ल ! यहाँ बस्नोस् न ?” भन्छु ।

मेरो कुरा सुनेर उहाँ कुर्सीमा आराम साथ बस्नु हुन्छ । त्यसपछि भतिजी पुष्पासँग परिचय गराई दिन्छु । उहाँहरु दुईजना बोल्दै गर्दा मैले एकसिता खाना नराखि प्लेट सफाचट गर्छु । मैले खाना खाइसकेपछि पुष्पाले, –

“खै ! प्लेट यता दिनुहोस् त, अङ्कल । म मिल्काइ दिन्छु ?” भन्छिन् ।

“म आफै फालिहाल्छु नि,” भन्छु ।

उनी हल्का जबरजस्ति गर्छिन् । म मान्न बाध्य हुन्छु । तर उनले त्यसोभन्दै गर्दा हाम्रो नेपाली नारीहरू पनि शिष्टतामा जापानीज नारीहरुभन्दा रतीभर कमि छैनन् भन्ने आभाष हुन्छ । त्यति सोचिसकेपछि म खाली प्लेट थपक्कै उनलाई दिन्छु । उनी बसिरहेकी कुर्सी पछाडि कालो प्लास्टिक झुन्डिरहेको थियो । तिनै प्लास्टिकको झोलामा कागजी मैला प्लेटलाई ह्वात्तै मिल्काई दिन्छिन् । तर उनले मनभित्रदेखि के भन्दै मिल्काइन होला भनेर म केही भेउ पाउँदिन ।

“छोरी ! धेरै धेरै धन्यवाद छ है,” भन्छु ।

तर मेरो कुरा हावामा बिलिन हुन पाउँदा नपाउँदै जुवाइँले, – “खै जाड पिउँनु भएन छ त ? कस्तो त मामा, यस्तो प्रतिष्ठित विवाहको भोजमा नि पिउँनु हुन्न ? जाबो कोकाकोला पिएर के जिउँनु हौ ? आखिर एकदिन मरिजाने जिन्दगी त हो ? यहाँ अजम्वरी कोही पनि छैनन् । कि मास्तिर जान इच्छा छैन् र ?” मेरो जुवाइँले त्यसबेला अचानक जाडबाट कुरा आरम्भ गर्नु हुन्छ र हुने नहुने उटफट्याङ प्रश्नहरु सोध्नु हुन्छ ।

“मानिसको मुल्याङ्कन उसले दिने उत्तरबाट होइन, प्रश्नको आधारबाट गर्नु पर्छ । मेरी भतिजीसँग सात समुन्द्र पारि बसेर भएपनि गाऊँघरको कुरामा बिलिन भइरहेका थियौं । कहाँदेखि जाडको कुरा आयो । अरुबेला त खुव नेपाली राजनीतिको पो कुरा गर्नु हुन्थ्यो त ?”

एक पटक चर्चित फ्रान्सेली साहित्यकार भोल्टेयरले भनेको कुरा गरेर उहाँलाई पाठ पढाउँछु । तर झट्टै सोच्छु । सायद आजभोलि मेरो जुवाइँलाई बुईपादेखि बानेश्वरसम्म र फार्नबोरोदेखि फोक्सटनसम्मका नेपालीहरुको राजनैतिक बिश्लेषण सुन्दा सुन्दा वाक्क लाग्यो होला भन्छु । वाक्क नलाग्नु पनि कसरी ? हामी त्यस्तै छौं । हैसियत र क्षमता चाहिँ शून्य छ । भनौ न प्रायजसोको काम चाहिँ कि त कुल्ली छ । होइन भने, सेक्युरिटी छ । बस चालक छ । तर कुरा चाहिँ कानून बनाउने सांसद, मन्त्रि र प्रधानमन्त्रिलाई जित्ने खालको गर्छौं ।

मेरो कुरा सुनेर उहाँ एकछिन बोकाले मुखमा अम्बा च्याँपेझैं गर्नु हुन्छ । त्यसैले म नै फेरि बोल्न थाल्छु, – “हेर्नोस् ! अब म बीस बाइसे ठिटा रहिनँ । एकदम बुढा भइसकेको मान्छे हुँ । त्यसैले सबैकुरा छाडिसकेको छु । यी काल पर्खेर बस्ने काम मात्र बाँकी छ,” छड्के छड्के जवाफ फर्काउँछु ।

मेरो कुरा सुनेर पहिले फिस्सै मुस्कुराउँछन् । उहाँले हातमा एक बोतल पानी बोकिरहनु भएको थियो । त्यसपछि, तिनै बोतललाई ठ्याक्क आवाज गर्ने गरेर टेबलमा राख्नु हुन्छ र क्वारक्वारती मलाई हेर्न थाल्नुहुन्छ ।

“बोलेर त तपाइँलाई कस्ले जित्न सक्छन् र ? मुख बारेको भए पल्टन घरमा काँधमा काँटी ठोक्ने खालको मान्छे हो । तपाइँको अरु सबै कुरा ठीक्छ । तर जिब्रोसँग स्वीस मेड छुरी नजोडिएको भए, तपाइँलाई असाध्यै राम्रो हुन्थ्यो । त्यसैले मेरो मामालाई खरानी बनायो । तैपनि ठीक्कै छ । अरु सबैले परदेशमा पाखुरी बजाएर खाएका छन् । तपाइँ यिनै मुखले बाँच्नु भइरहेको छ,” मेरो जिवनको हल्काफुल्का वकालत गर्छन् ।

खासमा खास जुवाइँको न्वारानको नाम दीर्घ राज राई हो । खोटाङ जिल्लाको बुईपा अन्तर्गत गैरिगाउँमा जन्मेका जुवाइँसँग पहिले स्कूलमा पढ्दा हामी एकअर्कामा साथी थियौं । तर उहाँभन्दा म अलिक ठूलो कक्षामा पढ्थें । त्यसैले हाम्रो कक्षाकोठा उहाँहरूकोभन्दा ठीक एकतला माथि थियो । ती दुई कक्षाकोठाहरू बीचमा तला छुट्याउनको लागि सल्लाका काठको फल्याकहरू बिछ्याइएका थिए । तर ती पसाङ्गिएका फल्याकहरू एकआपसमा राम्रोसँग जोडिएका थिएनन् ।

त्यतिबेला गाऊँमा अहिले जस्तो केटीमान्छेहरु स्कूल जाने चलन थिएन । सबै बिधार्थीहरु केटाहरु मात्र हुन्थे । केटाहरु स्वभावैले केटीहरुभन्दा अलिक चन्चले र फटाह हुन्छन् । हामी नि एक नम्वरको फटाह थियौं ।

भोजपुरमा जन्मेर वाल्मीकि विधापीठ (क्याम्पस) अध्ययन गरेका घनश्याम पौड्याल सरले संस्कृतमा “अहम घृतम खादमि” भनेर घोक्न लगाइ रहेको बेला फल्याकको बीच भागबाट उहाँहरूको टाउकोमा छानीछानी धुलो र मैलो झारिदिन्थ्यौँ र खुव आनन्दित हुन्थ्यौं । अहिले सोच्छु । किराँतीको छोराले जजमान गरेर पेट पाल्ने त कुरै छाडौं । तर संस्कृत अध्ययन गरेर चन्द्रमा पुग्न पनि निक्कै ठूलो सपना रहेछ ।

बुईपाको समय दिखुवा खोलाको पानीसँगसँगै बहदै जान्छ । उमेरले अठार टेकेपछि, हामी सँगसँगै नुनथला गल्लादेखि भर्ती हुन्छौं । त्यसपछि हामीलाई पल्टन घरको साइनोले सर्लक्कै जोड्छ । त्यसपछि नम्वरीमा परिणत हुन्छौं । यधपि त्यो साइनो पनि निक्कै लामो समयसम्म टिक्न सक्दै सक्दैन । किनभने भर्ती भएर पहिलो छुट्टी जाने बित्तिकै उहाँले मेरी भान्जी विवाह गर्नु हुन्छ । त्यसपछि उहाँ आजिवन भान्जी जुवाइँ हुनुहुन्छ । पहिले जुनियर बिधार्थी, त्यसपछि नम्वरी र अहिलेको जुवाइँसँग ख्यालठट्टा गर्दै गर्दै जीवन हाकेको सम्झेर ल्याउँदा छ दशक पार गरिसकेका छन् ।

सन् १९८२ को फकल्यान्ड युध्दमा बिजय हासिल गरेर उँच्च प्रतिष्ठा कमाएको सातौं गोर्खा राइफल्स (प्रथम बट्टालियन) मा हवलदार (सार्जन्ट) दर्जासम्म पड्काउनु भएका मेरा पृय जुवाइँ आजभोलि उत्ता फक्सटन बजारतिर बस्नु हुन्छ । (स्मरण रहोस् – फक्सटन बजार नेपालको मेचीनगरको भगिनी टाउन हो )

जुवाइँ तिनै बजारदेखि थोरै टाढा तर अलिक ठूलो बगैँचावाला घरमा भान्जीसँग अवकाश जिवन यापन गर्दै हुनुहुन्छ । त्यसैले अहिलेको उहाँको दिनचार्यलाई सम्झेर ल्याउँदा मलाई स्वर्गिय आनन्दको अनूभुति हुने गर्छ । अझै यस आलेखमा एउटा कुरा चाहिँ पटक्कै छुटाउन मिल्दै मिल्दैन । त्यो के हो भने उहाँ फोक्सटन डाँडाको टुप्पामा बस्ने भएकोले सारा फोक्सटनबासि नेपालीहरुले उँच्च सम्मानका साथ उहाँलाई “डाँडाघरे साइँला” उपनाम दिएका छन् ।

सैनिकदेखि निवृत डाँडाघरे जुवाइँ दिनहुँ घरको बगैँचामा काम गर्दा लागेको हातको मैला फाल्न जीवनलाई ट्क्यासिको स्टेरियङमा घोट्नु हुन्छ । जसले गर्दा उहाँ यस धर्तीका अतिनै व्यस्त मानिसहरु मध्ये पर्नु हुन्छ । साइनोले जुवाइँ भएतापनि बच्चैदेखि खाइखेलि हुर्केका साथी भएकोले समय समयमा उहाँसँग फोनमा बोल्न खोज्छु ।

तर घरिघरि मैले फोन गर्दा जबाफमा, “स्कूल रनमा छु,” भन्छन् । माफ मागेर फोन राखि हाल्छन् । प्रतिउत्तरमा जुवाइँलाई, “हो ! म बुझ्छु । राम्रोसँग बुझ्छु । एउटै समयमा विश्वभरी तेर्ह चौधवटा युध्द लडिरहेका अमेरिकन राष्ट्रपतिभन्दा तपाइँ अलिक बढि नै व्यस्त हुनुहुन्छ,” साङ्केतिक भाषामा उहाँको बायाँ छातीमा तीखो बाणले प्रहार गर्छु ।

नभन्दै उहाँ पनि तुलोमा जोख्दा मभन्दा रतीभर कमी छैनन् । स्वस्थ र पैसालाई अति नै ख्याल राख्ने मेरो जुवाइँले शारीरिक कसरत गर्ने स्थान व्यायमशालादेखि घर फिर्दै गर्दा मलाई मिसकल गरि हाल्नु हुन्छ । उहाँको मिसकल देखेपछि प्रकाशको गतिमा कल फर्काइ हाल्छु । र, हामी केहीबेर सूचना आदान प्रदानमा जोडि हाल्छौं ।

हो, त्यतिबेला हो । उहाँले तिनै ट्याक्सिको इन्जिन र प्रणालीहरुको बिषयमा खुव कुरा गर्न रुचाउन हुन्छ । अझै स्टेयरिङको ज्यामितिय भाषा एकरम्यान प्रिन्सिपल, क्याम्वर एङगल र कास्टर एक्सनका कुराहरु झिक्नु हुन्छ । तर उहाँको त्यो कुरा अरु कसैले मरिगए बुझ्दै बुझ्दैनन् । गाऊँघरका मानिसहरुले त झन पाइथागोरस, आर्किमिडिज र आइन्सटनका हिसाव किताव के बुझ्थे होला र ? धन्न म चाहिँ भर्ती भएपछि राईफलको सिपाहीभन्दा मटरको सिपाही भएको हुनाले उहाँलाई स्टेयरिङ प्रणालीको पाठ मज्जाले पढाइ दिन्छु ।

निक्कैबेर भावुक भएर जुवाइँको बिषयमा तिनै कुराहरु सोचिरहेको हुन्छ । मेरो मुखदेखि केही निस्कन्छ कि भनेर प्रतिक्षा गर्दा गर्दा थाकेर लखतरण भएपछि, –

“होइन हौ, काठमान्डौमा त भक्कु पिउनु हुन्थ्यो त ? कुनै कुनै रात त मातेर विक्रम भवनमा शर्माको भट्टिपशल अगाडि नालीतिर सुतिरहेको पो देखेको थिए त । अझै कोहीबेला त मुनसन डिस्कोको अगाडि लम्पसार परिरहँदा डिस्कोको मालिक हरि चाम्लिङ्ले सम्झाइ रहेका हुन्थ्यो । त्यस्तो मान्छेले कसरि चट्टै छोड्न सक्नु भएको होला ? कि लाहुरेहरुले तीन वर्षपछि पाउने छ महिना छुट्टी जस्तै छ महिना सुधार गृहको यात्रा गर्नु भो ?”

फेरि दोश्रोपल्ट जुवाइँले मेरी श्रीमतीको सामुन्ने मेरो क्षत विक्षत गर्नु हुन्छ । तैपनि उहाँले भनेका कुराहरु सबै सत्य हुन् । तर मानिसलाई सत्य कुरा सुन्न मन पर्दै पर्दैन । जतिसुकै नराम्रो भएपनि राम्रो भनिदिए हुन्थ्यो कि भन्ने मानविय स्वभाव हुन्छ । सुनचोर काण्डमा पक्राउ परेर प्रहरी अड्डा पुगेका अभियुक्त्तलाई पनि उहाँ जस्तो भद्र भलादमी मानिसलाई अहिले नै चोर भनि हाल्न मिल्दै मिल्दैन भन्यो भने चोरको ओठ फरर मुस्कुराउँछ । तैपनि जुवाइँले एक्कासि काठमान्डौको कुरा झिक्नु हुन्छ । जस्ले गर्दा मलाई झन त्यहाँ बिताएका एक किस्ता जिन्दगीको स्मरण गर्न बल पुग्छ ।

नभन्दै सेनामा छँदा सन् १९९९ देखि २००१ सम्म लगभग साढे दुई वर्ष जति मैले काठमान्डौको मान भवनमा काम गरेको थिएँ । तिनै मान भवनको ठीक पछाडि पट्टी बेलायती गोर्खा सैनिकका एउटा सानो टुकडी बस्ने ठाउँ छ । जुन स्थानलाई अहिलेसम्म विक्रम भवन भनिँदै आएको छ । नेपालदेखि गोर्खा भर्ती गर्नु र बेलायती गोर्खा सैनिकहरुको कल्याणकारी काम गर्ने उदेश्यले धरान घोपा क्याम्पदेखि सरेको त्यो सैनिक क्याम्प अहिलेसम्म ज्यूँकात्यूँ रहेको छ ।

तिनताका म विक्रम भवनमा गोर्खा म्यारिड क्वाटर (जिएमक्यु) एकमा बस्थे र यातायात बिभागमा काम गर्थे । एक नम्वर घरमा नै बस्नुको मूख्य कारण भनेको ड्युटि चालक बस्ने कोठाको नजिक उक्त्त घर थियो । आलाचारी छुट्टी आउनेजाने सिपाहीहरूलाई तत्कालै गाडीको बन्दोवस्त मिलाउनु पर्दा चालक दगुरेर मलाई लिन घरमा आउथे । म खुरुरु दगुरेर कार्यलयमा पुग्थे र एकजना गाडी चालक बन्दोबस्त गर्थे ।

हुनत, डाँडाघरे जुवाइँले भनेझैं, विक्रम भवनको जिन्दगी असाध्यै रमाइलो थियो । खास खासमा भन्नुपर्दा अहिलेसम्म बिताएका जिन्दगीहरु मध्ये त्यहाँ बिताएका समय मेरो जीवनको सबैभन्दा उत्कृष्ट समय हो भन्नमा म कति पनि हिचकिचाहट गर्दिन । र, मैले विक्रम भवन छाड्ने समयतिर जुवाइँको पनि सरुवा भएर त्यहिँ हामीसँग जोडिँन आउनु भएको थियो । त्यतिबेला उहाँसँग विक्रम भवनमा बिताएका क्षणहरू पनि सम्झन लायक रहेका छन् भनेर अहिले पनि ठोकुवाका साथ भन्न सक्छु ।

हुन पनि सप्ताहन्तको दिन बाहेक अन्य दिनमा फ्यास्सै घाँटीमा एउटा दाम्ला बाँध्थें । त्यसपछि दुवै हात पछाडि लगाएर हल्लिदै हल्लिदै आठ बजेतिर कार्यलय पुग्ने गर्थे । मैले काम गर्ने स्थान र घरको दुरी लगभग चालिस मिटरजति मात्र फरक थियो । तिनै कार्यलयलाई मेकानिकल ट्रान्सपोर्ट कार्यलय (एम टि अफिस) भन्ने गरिन्थ्यो ।

कार्यलयको ठीक मुनि तलामा एउटा चियाचमेना र जाडरक्सी बेच्ने भट्टिपशल (कान्टिन) थियो । कार्यलयमा पुग्ने बित्तिकै मुनि तलामा फोन लाउथें र कालो न कालो कफि मगाइ हाल्थें ।

कान्टिनका मालिक शर्माजी थिए । शर्माजीका पुरा नाम मलाई अहिले ठेक्कै सम्झनामा छैन् । सायद रमेश वा महेश यस्तै हुनुपर्छ । उनका काम गर्ने दुई जना बचेराहरू थिए । एकजनाको नाम जेसुकै भए पनि दाहाल भन्थे । वास्तवमा दाहाल उनको थर हो । अर्कोलाई पोचे भन्थें । अहिले सम्झदा लाग्छ, – ती दुवै जना काम गर्ने श्रमिकहरुको सैनिक क्याम्पमा बोलाउने नाम हेपाहा प्रवृत्तिले राखिएका थिए ।

तर दुवै जना कारिन्दाहरु कार्ल हेनरिक मार्क्सले कल्पना गरेका श्रमिकहरूझैं अति सिधा एवम इमान्दार थिए । जहाँसम्म मलाई लाग्छ । पोचे पश्चिम नेपालतिर बाट आएका हुनुपर्छ । किनभने उनको बोलिचालिले ठेक्कै पश्चिम नेपालको याद दिलाइ दिन्थ्यो । तर मेरो विचारमा दाहाल पूर्वी नेपालतिरका अझै तराइ मूलका बासिन्दा हुनुपर्छ । जस्ले गर्दा घामले डढेर उनको अनुहार एकदम कालो न कालो थियो ।

कालो न कालो भनेर मैले यहाँ किन उनको वर्णको कुरा गरेको हो भने एक पटक भारतिय चलचित्र अभिनेता ऋतिक रोशनले नेपालीहरुलाई देख्नै मन पर्दैन के भनेका थिए । त्यो सुनेर नेपालमा जातिय बितृष्णाको ठूलो हुलदुङ्गा भयो । त्यतिबेला बिचरा दाहाल पनि भारतिय मूलको होला भन्ठानेर मानिसहरूका हुलले लखेटेको अहिलेसम्म स्मरण गर्छु । बिचरा दाहाल त्यो दिन भागरेभाग भएपछि धन्न क्याम्पभित्र पसेर बाँचेका थिए ।

शर्माजीको दोकानबाट कफि मगाउने बित्तिकै रोदीको गीत गाउँदै गाउँदै पोचे किस्तिमा दुईकप कफि लिएर तुरुन्तै हाजिर हुन्थे । मेरो काम गर्ने सहयोगी दाजूको नाम श्याम थापा थियो । उहाँ पनि पूर्व गोर्खा ट्रान्सपोर्ट रेजिमेन्टका सदस्य हुनुहुन्थ्यो । तर मैले उहाँलाई पल्टन घरमा नोकरी गर्दा भेटेको थिइनँ । किनभने म पल्टनमा जाँदा उहाँ सैनिकदेखि अवकाश भइसक्नु भएको थियो । मेरो कार्यलयमा उहाँको बिशेष भूमिका रहन्थ्यो । किनभने हरेक दिन दाजूले तराजूमा मासु जोखे जस्तै सबैजना चालकहरूलाई बराबरी काम मिलाएर बाँडी दिनु हुन्थ्यो ।

कार्यलयमा उहाँसँग बसेर चिया पिइन्थ्यो । कफि गफ लगाइन्थ्यो । हरेक बिहान अधिकृत तथा सार्जन्ट मेसदेखि एकजना बेयरा गुरुजीले कान्तिपुर पत्रिका ल्याइ दिनुहुन्थ्यो । उमेरले लगभग पचास काटेका पूर्व गोर्खा सैनिक तर भर्खर तीस पुग्दै गरेकी कान्छी श्रीमती भित्र्याउँनु भएका गुरुजी अतिनै फुर्तिलो हुनुहुन्थ्यो । अँ, उहाँको गृह जिल्ला पनि मेरो जिल्ला नै हो – खोटाङ । तर गाउँ चाहिँ ठेक्कै अहिले नभनि हालौं । उहाँले पत्रिका ल्याउँदा मसँग फरर चाम्लिङ भाषा बोल्नु हुन्थ्यो । म बुझ्न त मज्जाले बुझ्थें तर त्यति धेरै बोल्न जान्दिनथें । तैपनि मेरो अलिअलि भाषाको अभ्यास हुन्थ्यो । त्यसबेला अहिलेजस्तो सूचना वा समाचार पढ्नको लागि मोबाइलको जमाना थिएन । त्यसैले म पत्रिकाको सदस्य बनेको थिएँ र महिनाको अन्तमा पत्रिकाको बिल मेस बिल सँगसँगै भुक्तानि गर्ने गर्थे ।

देश गृहयुध्दमा दलदल फसेको थियो । हरेक दिनजसो पत्रिकाको प्रथम पृष्ठमा कि त माओबादी, होइन भने प्रहरीको मृत्यु भएका बीभत्सपूर्ण तस्विरहरु देखा पर्थ्यो । त्यसले मेरो आङ नै सिरिङ्ग सिरिङ्ग बनाउदथें । तत्कालिन समयमा माओबादीहरु उत्कर्ष बिन्दुमा पुगिसकेका थिएँ । त्यसैले पत्रिकाका पानाहरु सरर पल्टाउँदै जाँदा मानिसहरु मरेका झन झन दर्दनाक तस्विरहरु देखेपछि, –

“दाजू ! बित्थामा कति धैरै मानिसहरुका अनाहकमा ज्यान जान्छन् हकि ?” सुस्तरि भन्थें ।

“भो ! छाडि दिनुहोस् । यो पत्रिका सत्रिकाको कुरा । के राजनीतिको कुरा गर्नु हौ ?” बितृष्णासहित उहाँ बोल्नु हुन्थ्यो ।

राजनीतिले मानिसहरुलाई दुई भागमा धृविकरण गर्छन् भनेर नित्सेले पढाएको पाठ सम्झन्थें । त्यसपछि हामी एकछिन चुपचाप बस्थ्यौं । केही कुरा गर्दैनथ्यौं । तैपनि उहाँको विचार सुनेर हल न चल भएर एकछिन झोक्राई रहन्थें ।

त्यसपछि कुराको प्रसङ्ग बदलिन्थ्यो । उहाँको गफहरु प्राय छोरा मानिसहरुको कामवासनाका बिषयमा निहित हुन्थ्यो । अझै सबैभन्दा रमाइलो त के थियो भने पल्टन घरमा सिपाहीहरुले गरेको मनोरन्जनका कुराहरु मेलैमारी सुनाउन हुन्थ्यो । उहाँका कुरा सुन्दा म दुवै हात चिउँडोमा राखेर थपक्कै सुनिरहन्थें । हुनत म पनि मनोरन्जन अति नै मन पराउने मान्छे थिएँ । तर मनोरन्जनको लागि मानिसलाई पैसा, समय र इच्छाशक्त्ति यी तीन कुराको आबश्यक्त्ता पर्ने रहेछ भन्ने कुरा मैले काठमान्डौमा काम गर्दा राम्रोसँग चाल पाएँ ।

विक्रम भवनको एम टी अफिसमा लगभग सोर्ह-सत्रजना जना गाडी चालकहरु भइ नै रहन्थे । धेरै जसो चालक गुरुजीहरु पूर्व गोर्खा सैनिकहरु हुनुहुन्थ्यो भने बाँकी दुई-चार जना स्थानिय नागरिकहरु पनि थिए । काठमान्डौमा जस्तै पोखरा क्याम्पमा छ-सात जना र धरान इटहरीमा न्युनतम एक जना होइन भने दुईजनासम्म चालकहरु राख्नु पर्थ्यो ।

ती सबै चालकहरुको नियन्त्रण पनि एम टी अफिस काठमान्डौंदेखि नै हुन्थ्यो । काठमान्डौंका जति चालकहरु थिए । लगभग त्यसैको समानान्तर संख्यामा गाडीहरु पनि थिए । गाडीहरुमा मटर साइकल, मारुती जिप्सी, ल्यान्डरोभर, डिस्कोभरी, स्वाराज कोचदेखि रेफ्रिजेरेटर ट्रकसम्म थिए । स्मरण रहोस् – भट्टे डाँडामा थाइ विमान दुर्घट्ना हुँदा तिनै रेफ्रिजेरेटर ट्रकले राष्ट्रको लागि गौरवमय योगदान पुर्याएको इतिहास छ ।

बिभिन्न प्रकारका तिनै मटर गाडीहरु र चालकहरुको रेखदेख गरेवापत महिनामा लाख रुपैयाभन्दा उँभोउँभो तनखा थाप्थें । महिनावारी तलवले मेरी श्रीमती, एक छोरा र अर्की छोरी पाल्थें । नानीहरु दुवैजना विक्रम भवन क्याम्पको नजिकै फ्युचर स्टार्स, जावलाखेल स्कूलमा अध्ययन गर्थे । क्याम्पदेखि स्कूल हिँड्दै हिँड्दै जाँदा एकदम नजिकै थियो । तैपनि बाटो अलिक सानो र बिहानीपखको समयमा अति नै व्यस्त हुन्थ्यो । त्यसकारण बाटोमा हिँड्न त्यति सुरक्षित छँदै थिएन ।

जोइन्ट सर्भिस पब्लिकेसन (जेएसपी) ३५१ बेलायती रक्षा मन्त्रालयको यातायात सम्बन्धी नियम हो । जस अनुसार स्थानिय गाडीहरु स्तरिय नभएको स्थानमा स्थल सेना, वायु सेना र जल सेनाका छोराछोरीहरूलाई स्कूल लान र ल्याउनको लागि सरकारी गाडीको सुविधा उपभोग गर्न पाइन्छ भनेर लेखिएको थियो । त्यसैले उक्त्त हरफलाई अंगालेर मौकामा फाइदा लिदै मैले पनि सरकारी गाडीको सुविधा प्रयोग गर्थे ।

स्कूल लाग्ने हरेक दिन चालक कमल माझीले मेरा बच्चाहरू स्कूल लाने र ल्याउँने गर्नुहुन्थ्यो । तुलनात्मक रुपले फ्युचर स्टार्सको शुल्क काठमान्डौंमा भएका अन्य बोर्डिङ स्कूलहरूभन्दा न्युन थियो । त्यसैले मेरो रोजाइमा त्यो स्कूल पर्यो । तैपनि धेरै पैसा तथा दर्जा कमाएका केही सहकर्मीहरूले चाहिँ अति नै महङ्गो स्कूलमा उनीहरुको नानीहरू पढाइरहेका थिए ।

त्यसरि छोराछोरी पढाउने कुरामा सहकर्मीहरुभन्दा मेरो विचार अलिक फरक नै थियो । किनभने म चाहिँ अलिक आइन्सटाइनवादी मानिस हुँ । अरुले जे गर्छ, त्योभन्दा अलिक फरक ढङ्गले सोचौं भन्थें । मेरा नानीहरु अलिक स-साना नै छन् । सानो हुँदा त्यति धेरै मस्तिष्कको बृध्दि भइसकेका हुँदैन कि भन्ने मलाई लाग्थ्यो ।

बिज्ञानको नियम अनुसार मेरो तर्क सहि नहुन पनि सक्छ । हुनत आलोचना, समिक्षा र सिदान्त निर्माणमा बिज्ञहरु एक आपसमा सधै असहमत भइरहेका हुन्छन्, सुनिन्छन् । अझै कतिपय विचारकहरु स्वतन्त्र तर्क प्रस्तुत गर्दै गर्दैनन् । जहिले पनि शक्त्ति र अन्नदाताको रक्षा, पूजा र सेवा गर्छन् । जसले गर्दा सहि कुरा के हो भनेर सतहमा आउँन सक्दै सक्दैन ।

जस्ले जे सुकै भने पनि आखिर तपाइँ तपाइँ नै हो । जबसम्म तपाइँ व्यक्तिगत विश्वासदेखि पिडित हुनुहुन्न भने अरुले जे सुकै भने पनि त्यो ठीक्छ । यदि कानूनले झुटा कुरा बोल्न दिन्छ भने अरु सबैलाई बोलि दिए हुन्छ तर आफूलाई कहिले पनि ढाँटनु हुन्न । किनभने यसले जीवनमा ठूल्ठूला दुर्घटना निम्त्याउँन सक्छ भन्ने लाग्थ्यो ।

लगभग छ दशक समयमा विश्वको बिभिन्न देशहरु र तिनका सहरहरु पुगेर अनुभव बटुलिसकेपछि मलाई नेपाली समाजमा धेरैजसो मानिसहरु आफ्नो लागि होइनँ, अरु मानिसहरूका लागि बाँच्ने रहेछन् जस्तो लाग्छ । किनभने हामी धेरैजसो अरुले गरेको देखेर, अरुले भनेको सुनेर र अरुको तुलना गरेर बाँच्ने गरेका छौं । मेरो विचारमा अरुले जे भन्छन् भन्दै गरोस् । तपाइँलाई जे सहि लाग्छ । त्यो नै गर्नु होस । त्यो नै सबैभन्दा उत्तम छ । यधपि नतिजा जे सुकै होस् भन्ने लाग्छ ।

क्याम्पमा नोकरी गर्दा फ्युचर स्टार्स स्कूलको शूल्क बाहेक बत्ति, पानी र ग्यासको एक सुक्का बिल तिर्न पर्दैनथ्यो । अझै छाउनीमा काम गर्ने मजदुरहरुले जाडोको समयमा हरेक बेलुकी आगो तापेर बस्नको लागि ठीक्क ठीक्क मिलाएर काटेका काठको दाउरा घर बाहिर लहरै सजाएर राखिदिन्थे ।

यसरि धेरैजसो दाउरा पानीको बन्दोबस्त गर्ने भाईको नाम मान बहादुर राई थियो । आफ्नो जीवनकालमा एक दिन जसरि भए पनि क्याम्पभित्र कै गाडी चालक बन्छु भन्ने सपना बोकेर धरान क्याम्प बन्द भएपछि काठमान्डौं सरेका राई भाईले बर्षौसम्म त्यस्तै काम गदर्थे । उनै भाईसँग एकदिन बसेर जीवनका दुःखसुखका बिषयमा हामी दुईजना कुरोकानी कुरा गर्छौं । त्यसरी बोल्ने क्रममा उनको चालक हुने सपना मैले चाल पाएँ । त्यसको तीन महिनापछि मैले उनलाई क्याम्पभित्र ल्यान्डरोभर चालकमा भर्ती गरि दिएको थिएँ ।

ठन्डी मौसमको समयमा काठमान्डौमा कानै हराउने गरेर बेसरी जाडो हुन्छ । फालाफाल दाउरा भएपछि जाडोको समयमा हरेक बेलुकि तारासँग आगो बाल्थ्यौं र छोराछोरीको पढाइको बिषयमा आगो ताप्दै ताप्दै बात मार्थ्यौं । तर त्यसरि बात मार्दै गर्दा उनी सुटुक्कै हराइ हाल्थिन् । र, एकछिनपछि भान्सा कोठा बाट फर्केर आउँदा हातमा अलिकति ह्विस्की र वाइन लिएर मेरो सामु खडा हुन्थिन् ।

उमेर सानै थियो । तैपनि सोफाको कुनामा खुइत्त गर्दै बसेपछि उनी चिरिप्पै स्कटिस ह्विस्की पिउँथिन । दिनभरी न्युरोडको चक्कर लगाउँदा लगाउँदा जिउँ दुखेको छ भन्थिन् । मलाई ह्विस्कीमा पट्क्कै देह थिएन । बरु पाए भने यसो अलिअलि रातो वाइन पिउथें । राता वाइन पनि ग्लास्को, स्कटल्यान्ड बाट आएका ह्विस्की जस्तै बोर्डो, फ्रान्सदेखि लामै उडेर काठमान्डौ आएका हुन्थे । तर ती बिदेशी पेय पदार्थहरु सस्तो दाममा नमिल्ने भए त के पिइन्थ्यो होला र ? मरि गए पिउँदै पिइन्नथ्यो ।

नेपालमा रहेका हरेक कुटनीतिक नियोगका कार्यलयमा काम गर्ने बिदेशी मानिसहरुलाई कर मुक्त पशलको पेय पदार्थहरु खरिद गर्ने छुट हुने रहेछ । यस बिषयमा मलाई पहिले कहिलै थाह थिएन । हाम्रो कार्यलय पनि बेलायती राजदुतावास अन्तरगत नै पर्दथ्यो । जस्ले गर्दा ड्युटि फ्रि जाडरक्सि र गाडीहरु पर्दथे । त्यसैको परिणाम स्वरुप हामीले प्रयोग गर्ने जम्मै गाडीहरुका नम्वर प्लेटहरु पनि निलो पृष्ठभूमीमा हुन्थ्यो । अब त्यहाँ काम गरेपछि हामीलाई पनि त्यो अवसर मिल्थ्यो । तर यदाकदा यस्तो लाग्छ । मानव जीवनको लागि मेलमिलापको नीति सबैभन्दा उत्तम नीति हुने रहेछ ।

बेलायती गोर्खा सैनिक क्याम्प विक्रम भवनको ठीक अगाडि तर थोरै बायाँ पट्टी आदर्श विधा मन्दिर (एभिएम) चौक, मानभवन रहेको छ । तिनै चौकमा पहिलो बट्टालियन, सातौ गोर्खा राइफल्सका एकजना पूर्व गोर्खा सैनिक गुरुजीले एउटा साधरण दोकान खोलेका थियो । दोकानमा दुईचार वटा नेपाली ढाका टोपीहरु बाहेक अरु केही चिजबिज देखिदैन थियो । तर दोकानको नाम ‘नमस्ते’ भनेर चिनिन्थ्यो । नमस्ते दोकानका केही पुराना गाडीहरु थिए । तिनै गाडीहरु समयमा समयमा कालो बङ्गुरहरू लिनको लागि धरान जान्थे । फर्केर आउँदा एक ल्यान्डरोभर बङ्गुरहरु यात्रा गरेर काठमान्डौ आइ पुग्थ्यो ।

मानभवनमा सप्ताहन्त लाग्नै हुँदैनथ्यो । बिहानको झुल्के घाम सँगसँगै नमस्तेको दोकान पछाडि खालि जग्घामा एउटा बङ्गुर ढल्थ्यो । कासाबिसा छुट्याएर भाग लगाइन्थ्यो । क्याम्पमा काम गर्ने मानिसहरुले आ-आफ्नो तजबिज अनुसार अघिल्लो दिन नै बहीमा नाम लेख्थे । मेरी श्रीमती बङ्गुरको मासु भनेपछि हुरुक्कै हुने ‍मान्छे थिइन । हरेक शुक्रबार बेलुकी, – “नमस्तेमा मासु त लेख्नु भएको छ होला नि, कि छैन् ?” सम्झाइ रहन्थिन् ।

“छु, छु,” भनेर संक्षिप्तमा उत्तर फर्काई दिन्थें ।

शुक्रबार बेलुकी क्याम्प बाहिर चर्नु जान्थे । बिहान अबेलासम्म मरेको जस्तो हुन्थें । नमस्तेमा काम गर्ने एकजना भाइले ढोका ढकढक गर्दा उठ्थे । बिहानको दश बजेतिर हातमा एक जेब्रा झोला मासु र स्टिलको गिलासमा एक गिलास रक्त्ती ल्याइदिन्थे । त्यसरि हरेक सप्ताहन्तमा हाम्रो सेवा गर्ने भाईको नाम कुमार राई हो । उनले मासु दिएपछि पतलुङ्को गोजितिर पैसा हेर्थे । हिजै राति बेयराहरुसँग हात मिलाएर पैसा सकिसकेको हुन्थ्यो । “पैसा सैसा छैन्,” भन्थें ।

“भईहाल्छ हजुर, जिएमक्यु वान ! जिन्दाबाद लेखिदिन्छु,” भन्दै बिदा हुन्थे ।

जतिबेला समय मिल्थ्यो । त्यतिबेला एक गोजि पैसा लिएर एभिएम चौक पुग्थें । बहीखातामा लेखिएको आफ्नो नाम मेटिहाल्थें । अलिक पछि मानबहादुर भाईले जस्तै कुमारले पनि क्याम्पभित्रका चालकको काम गर्छु भनेर राल चुहाइ हाले । त्यसपछि उनलाई पनि क्याम्प भित्रको चालक पदमा भर्ती गरिदिए । तर मानले ग्यास र कुमारले मासु ल्याइदिएपछि पनि श्रीमतीलाई खाना पकाउन अल्छि लागेको बेला

शर्माजी मेरो साथीहरुलाई फोन लगाउँनोस् भनेपछि बियर बिक्री हुने भो भनेर उनी फ्यास्सै मुस्कुराउँथे । सबैलाई बोलाइ दिन्थे । एक, दुई र तीन जना गरेर भेला भइन्थ्यो । पहिलो, दोश्रो र तेश्रो वृत (राउन्ड) चल्थ्यो । क्याम्पको समय ढल्कदै जान्थ्यो । हाते घडिले बेलुकीको समय नौ बजाउँनै लाग्दा झन जोश बढ्दै जान्थ्यो । एक जनाले अव जाउँ बाहिर भन्थ्यो । होइनँ, गत रात नि गाको भन्थें । यस्तोलाई हो, जोइटिङ्ग्रे भनेको कुनाबाट आवाज फुस्किन्थ्यो ।

दिमाग फुस्केर निस्केको जोश पाइतालामा पुग्थ्यो । पाइतालाहरु अनायसै चल्न थाल्थ्यो । अनि हिँड्दै हिँड्दै एभिएम चौक पुगि हालिन्थ्यो । त्यसपछि एउटा ट्याक्सिमा चढिन्थ्यो । जावलाखेलदेखि कालिमाटीसम्मको डान्स बार, त्रिपुरेश्वरदेखि ठमेलसम्मको डिस्कोथेक, दरवारमार्गदेखि बत्तिस पुतलीसम्मको दोहरी र गौशालादेखि कोटेश्वरसम्मको क्याबिनहरुमा परेड खेलिन्थ्यो, पिइन्थ्यो, नाचिन्थ्यो र गाइन्थ्यो ।

लाग्थ्यो, – पव क्रोलिङ र सिपाहीको जिन्दगी तराजूमा राख्दा उस्तै उस्तै हो । हुनत त्यो एउटा समय थियो । संभवत त्यतिको जिन्दगीलाई रमाइलो नै मान्नुपर्छ । अझै सबैभन्दा राम्रो पक्ष त के थियो भने के खायो वा पिइयो भने शरिरलाई फाइदा वा बेफाइदा हुन्छ भन्ने एक सुकाको ज्ञान थिएन । त्यो नै सबैभन्दा रमाइलो थियो ।

जति जति रात ढल्किदै जान्थ्यो । त्यति त्यति रङ्गिन रातको कल्पना गर्दै डान्स बारमा पुगिन्थ्यो । त्यहाँ पुगेर बेयराहरुसँग परिचय गरिन्थ्यो । जति मदहोस भइन्थ्यो । अगाडि परेका सबै बेयराहरु पृय लाग्न थाल्थ्यो । तर त्यसरी मनोरन्जनको खोजिमा जाने हामी गोर्खा सिपाहीहरू मात्र हुँदैनथ्यौं । बेलाबेलामा फायर एन्ड आइस, टोम एन्ड जेरी र माया पवका नायक अंग्रेज सिपाहीहरु पनि हुन्थे ।

बारमा पुगेपछि कतिपय बेयाराहरुले हात मिलाउँ भन्थे । अनि हातमा भर्खरभर्खरै पे अफिसदेखि जारी गरेका एक हजारको नयाँ नोट मुट्ठी पारेर राख्नु पर्थ्यो । उनीहरु हात मिलाउनको लागि हात अगाडि बढाउँदथे । हात मिलाएपछि हजारको नोट गायव हुन्थ्यो ।

अझै कुनै-कुनै युवतीहरू अवस्थादेखि अलिक अगाडि नै बढ्थे र आलिङ्गानको पासमा आवध्द हुन आउँथे । त्यसपछि गालामा एकचोटी म्वाइ खान्थे । हो, त्यतिबेला एकजना बेयराले अर्कीलाई, – “मान्छे तँ पनि अलिक घुसघुसे नै होस् । कसरी अर्काकी पोइँको काखमा त्यति आराम साथ बस्न सकेकी होली,” भनेको आक्कल झुक्कल सुन्न सकिन्थ्यो ।

तर उनीहरूको आत्मियता क्षणिक हुन्थ्यो । बिहानीपखमा अस्ताउँदै गरेको जुनझैं उनीहरू बिलिन भइहाल्थे । लाग्थ्यो – उनीहरूको पुरै ‍खजना भरियो । त्यहाँदेखि बागमती र बिष्णुमती नदीमा बहने पानीझैं बहेर गएपछि, त्यो रात मरिगए हाम्रो नजिक देखा पर्दैनथे । त्यसपछि हामी त्यस बारलाई बिदा गर्थ्यौं । र, गोजिमा अर्को हजार खोज्दै खोज्दै नयाँ बारमा जान्थ्यौं ।

त्यसरी विक्रम भवन काठमान्डौमा बिताएका राम्रा वा नराम्रा क्षणहरुका बिषयमा निक्कैबेर सोचिरहँदा, –

“अँ ! मामाजी के भो रे ? लम्बाचौडा कुरा नगरि तपाइँहरु दरवार मार्गमा बेसरी धुलाई खाएको बिषयमा कुरा गर्नोस् न । डिस्कोमा क-कस्का टाउको फुटेका, दात खुस्सेका, नलि खुट्टा भाँचिएका, फिलामा छुरी रोपिएका कुरा । त्यो पो सुन्न मज्जा आउँछ छ त ? अरु त छ्या ! सुन्नै मन पर्दैन ।”

“होइनँ, लाज लाग्छ । नभनौं के ? तैपनि आजभन्दा पच्चिस छब्बिस वर्ष अगाडिको कुरा हो । जम्मै बिर्सिसकेको छु । बुढा पनि भइयो । दिमाग सिमाग खुस्कि सक्यो । भो त्यो कुरा नगरौं क्या ?”

“अरु सबै कुरा सम्झने । अनि आफू कुटाइ खाको चाहिँ सर्लक्कै बिर्सने । कहाँ त्यस्तो हुन्छ, हुँदै हुँदैन् । तपाइँलाई सबै कुरा थाहा छ । लु आज समय पनि फालाफाल छ । लु मेलैमारी भन्नु पर्छ । होइन बैनी ? अरुबेला त खुव मानिस भएपछि ढाँटनु हुन्न । सधै सत्य बोल्नु पर्छ पो भन्नु हुन्थ्यो त ? के हो पारा ? यो त पटक्कै भएन नि ?”

“गीत गाको, महेन्द्र पुलिस क्लवका बैनीहरुसँग नाँचेको गफ गर्ने हो । कहाँ आफू कुटाइ खाको कुरा गर्ने हो ? कति हत्ते गर्नु हुन्छ हौ ?”

“होइन, आज जसरि भएपनि सुन्नै पर्छ । तपाइँहरु त्यसदिन ठमेलको डान्स रेष्टुँरा जानु भएको थियो । त्यसपछि रातको एघार बजेतिर दरवार मार्ग नजिकै रहेको होटल वुडल्यान्डको पछाडि डिस्कोमा जानु भयो । अनि त्यहाँ तपाइँहरू सबै पन्ध्र जनाले नै मरिन्जेल चुटाइ खानु भयो । त्यो घटना चाहिँ भन्नोस न । मामाश्री, अरू होइनँ के ?”

जुवाइँले त्यति सार्है अनुरोध गरिरहँदा पर कुना बाट एकसुरमा, “सरङ्गी रुदैछ, पारी गाउँमा,” भन्ने सुमधुर गीत बजिरहेको थियो । मामाले केही ओकलि हाल्छन् कि भनेर जुवाइँले प्याक प्याक पारिरहनु भएको थियो । त्यसैले उदाश भावमा मानवीय चरित्रको बिषयमा सोच्न थाल्छु ।

लाग्थ्यो – मानिस सुखकोभन्दा दुःखको कथा सुन्न पराउँछन् । उन्नति र प्रगति गरेको मानिसलाईभन्दा दुर्गति र अधोगति गएकाहरूलाई हेर्न मन पराउँछन् । सफल मन पराउँदैनन्, असफल मन पराउँछन् । त्यसैले एकजना श्रमिककोभन्दा सफल नेताको सयकडौ बढि दुश्मन हुन्छन् । तर नेताले दुश्मन बनाउँदैनन्, आफै हुँदै जान्छन् । बिनाबिच्चमा नानाथरि सोचेर बसिरहेको बेला अचानक हाम्रो नजिक बेहुलीको आमा आइपुग्छिन् र मलाई देख्ने बित्तिकै, –

“बाबै ! नमस्ते,” भन्छिन् ।

चाम्लिङ भाषामा काकालाई बाबै भन्ने गरिन्छ । त्यसपछि, मेरी भतिजीसँग बोल्न थाल्छु । नातिनी र जुवाइँको शुभ विवाहको अवसरमा उज्वल भविष्यको शुभकामना दिन्छु । तर जुवाइँ मेरा किस्ता किस्ता जिन्दगीको एकाध उत्तरको प्रतिक्षामा बसिरहनु हुन्छ, बसिरहनु हुन्छ । मरिजाउँ मेरो मुख खोलिदैनँ ।

अक्सफोर्ड, इङ्गल्यान्ड ।
३१ मे २०२६

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!