बेलायतमा फार्नबोरो इलाइटले जित्यो १३औँ पाँचथर कप

SHARE:

नगेन्द्रराज नेम्वाङ
लन्डन । पाँचथर समाज सेवा यूकेद्वारा हरेक वर्ष आयोजना गरिँदै आएको १३औँ पाँचथर कप फुटबल प्रतियोगिताको उपाधि फार्नबोरो इलाइटले जितेको छ। फेल्थाममा शनिबार ६ जुनमा सम्पन्न प्रतियोगिताको फाइनलमा फार्नबोरो इलाइटले बीबीसीलाई ३–० गोलअन्तरले पराजित गर्दै उपाधि आफ्नो नाममा लेखाएको हो।

मेन टिमतर्फ फार्नबोरो इलाइटका अनुज थापाले सर्वाधिक गोलकर्ता (टप स्कोरर)को पुरस्कार जिते भने सोही टोलीका रायन कुँवर उत्कृष्ट खेलाडी घोषित भए। विजेता टोलीले पाँचथर कपसहित १,८०० पाउण्ड नगद र व्यक्तिगत ट्रफी प्राप्त गरेको थियो।

प्रतियोगिता मेन टिम, भेटेरान र सुपर भेटेरान गरी तीन समूहमा सञ्चालन गरिएको थियो। कुल २५ टोली सहभागी रहेको प्रतियोगितामा अन्य दुई समूहको उपाधि पनि प्रतिस्पर्धात्मक खेलमार्फत टुंगिएको थियो ।

सुपर भेटेरान समूहमा डीएफसी यूकेले इलाम एफसीलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्दै उपाधि जित्यो। इलाम एफसीका चोक गुरुङ सर्वाधिक गोलकर्ता बने भने सोही टोलीका हेमकुमार राई उत्कृष्ट खेलाडी घोषित भए ।

भेटेरान समूहमा ड्याडी एफसीले जोइन्ट एफसीलाई १–० ले हराउँदै उपाधि जित्यो। किरण सर्वाधिक गोलकर्ता बने भने सुरेन गुरुङ उत्कृष्ट खेलाडी चुनिए। तीनै समूहका विजेता टोलीले कप, नगद पुरस्कार र व्यक्तिगत ट्रफी प्राप्त गरेका थिए । उपविजेता टोलीहरूलाई पनि नगद पुरस्कार र व्यक्तिगत ट्रफी प्रदान गरिएको आयोजकले जनाएको छ।

खेलको मध्यान्तरमा जन्मभूमि नेपालको सम्मान र स्मरणमा नेपालको राष्ट्रिय गान तथा बेलायतको राष्ट्रिय गान बजाइएको थियो। प्रमुख अतिथि किरात याक्थुङ चुम्लुङ यूकेकी अध्यक्ष कमला सेन्दाङ लिम्बु र पाँचथर समाज सेवा यूकेकी कार्यवाहक अध्यक्ष दीपा योङ्या लिम्बुले संयुक्त रूपमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रमका क्रममा संस्थाका अध्यक्ष नगेन्द्रराज नेम्बाङका पिता स्वर्गीय कुबेरसिङ नेम्वाङको सम्मान तथा सम्झनामा दुई मिनेट मौनधारण गरिएको थियो । पूर्व ब्रिटिस गोर्खा कुवेरसिङको बेलायतको केन्टस्थित विलियम हार्भे अस्पताल, आसफोर्डमा बिहीबार ४ जूनमा ९२ वर्षको उमेरमा निधन भएको हो । कुवेरसिङको पार्थिव शरीर अन्त्येष्टिका लागि नेपाल लाने तयारी भइरहेको पारिवारिक स्रोतले जनाएको छ। कुबेरसिङ वि.सं. १९९१ सालमा पाँचथरको फाल्गुनन्द गाउँपालिका-२ इम्बुङमा जन्मिएका थिए ।

पाँचथर कपको उद्घाटन समारोहमा वरिष्ठ उपाध्यक्ष लिला सेलिङ माबोले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । कार्यक्रममा सम्बोधनका क्रममा प्रमुख अतिथि कमला सेन्दाङ लिम्बुले विजेता टोलीलाई बधाई दिँदै पाँचथर समाज सेवा यूकेले आगामी वर्षहरूमा पनि यस्तै कार्यक्रममार्फत समुदायलाई एकताबद्ध गर्दै अघि बढ्ने विश्वास व्यक्त गरिन् ।

प्रतियोगिता संयोजक देउमान लावती र कार्यवाहक अध्यक्ष दीपा लिम्बुले उपस्थित अतिथि, खेलाडी, दर्शक, प्रतियोगिता सञ्चालनमा खटिएका पदाधिकारी, अफिसियल तथा पुरस्कार प्रायोजकप्रति आभार व्यक्त गर्दै विजेता टोलीलाई बधाई दिएका थिए ।

दीपा लिम्बुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजसेवी नरकुमारी लिम्बु, तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, तमु धीं यूके आमा समूहकी अध्यक्ष कमला देवी गुरुङ, डोनकास्टर नेपाली कम्युनिटीका अध्यक्ष विश्वकुमार राई, मगर एसोसिएसन युथ यूकेका अध्यक्ष दीपक मैथाने मगर,पाँचथर समाज सेवा यूकेका संस्थापक अध्यक्ष सुभाषचन्द्र जबेगु, पूर्वअध्यक्षहरू नरवीर आङ्बो, चन्द्र सुन्दास, शान्ति लिम्बु, सल्लाहकार सूर्य गुरुङ तथा पूर्वमहासचिव नर थाम्सुहाङलगायतको उपस्थिति रहेको थियो।

औपचारिक कार्यक्रम महासचिव पारु राईले सञ्चालन गरेकी थिइन् भने प्रतियोगिताको व्यवस्थापन भगीरथ जबेगु, कोषाध्यक्ष शिखर लिम्बु, खेल संयोजक देउमान लावती तथा सह–संयोजक प्रताप तामाङले गरेका थिए।

पाँचथर समाज सेवा यूकेले संस्थापक महासचिव स्वर्गीय प्रेमप्रकाश नेम्बाङको सम्मान र सम्झनामा मेन टिमतर्फको सर्वाधिक गोलकर्ता पुरस्कार प्रदान गर्दै आएको जनाएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!