लन्डन । नेपालबाहिर नेपाली समुदायद्वारा आयोजना हुने सबैभन्दा ठूलो खेलकुद प्रतियोगितामध्येको एक ‘ए–स्टार नेपाल बास्केटबल लिग २०२६’ को पाँचौं संस्करणको फाइनल खेल आगामी शनिबार (जुलाई ४ तारिख) लन्डनमा आयोजना हुने भएको छ ।
नेपाल बास्केटबल लिग यूकेले विमेन बलर्स क्लबसँगको सहकार्यमा आयोजना गरेको लिग प्रतियोगितामा यस वर्ष पुरुषतर्फ ११ तथा महिलातर्फ २ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन् । गत १५ मार्च २०२६ देखि सुरु भएको यस प्रतियोगिताले बेलायतभर रहेका नेपाली मूलका प्रतिभाशाली युवा खेलाडीहरूलाई एउटै मञ्चमा ल्याएर खेलकुदप्रतिको आकर्षण र भाइचारा बढाउन महत्त्वपूर्ण भूमिका खेलिरहेको छ ।
गत जुन २१ मा फेल्थमस्थित स्प्रिङवेस्ट एकेडेमीमा सम्पन्न रोमाञ्चक सेमिफाइनल खेलहरूसँगै प्रतियोगिताको उपाधि भिडन्तको समीकरण पूरा भएको हो । पहिलो सेमिफाइनल खेलमा स्यान्डहर्स्ट निक्सले ह्याम्पशायर हुपर्सलाई ८२–७७ को प्रतिस्पर्धात्मक अंकले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो । त्यस्तै, दोस्रो सेमिफाइनल खेलमा ग्रीनफोर्ड नाइट्सले बलर्स स्ल्यामर्समाथि १०९–७७ को फराकिलो अंक अन्तरले शानदार जित दर्ता गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गर्यो ।
स्यान्डहर्स्ट निक्स र ग्रीनफोर्ड नाइट्सबीच प्रतिस्पर्धा
अब उपाधिका लागि आगामी शनिबार लन्डनस्थित ब्रुनेल विश्वविद्यालय स्पोर्ट्स सेन्टरमा बिहान १० बजेदेखि साँझ ६ बजेसम्म स्यान्डहर्स्ट निक्स र ग्रीनफोर्ड नाइट्सबीच भव्य प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको फाइनल खेलले यस वर्षकै उत्कृष्ट स्तरको बास्केटबल कौशल प्रदर्शन गर्ने र उपाधिका लागि हुने भिडन्त निकै रोमाञ्चक हुने विश्वास लिगका संयोजक सार्थक गुरुङले व्यक्त गरे ।
यसैगरी, नेपाल बास्केटबल यूकेका अध्यक्ष रूपक गुरुङले प्रतियोगितालाई यो उचाइसम्म पुर्याउन र सफल बनाउन अनवरत योगदान दिने सम्पूर्ण खेलाडी, स्वयंसेवक, मुख्य प्रायोजक ए स्टार मोर्गेजेज लगायत सबै प्रायोजकहरु तथा दर्शकहरूप्रति विशेष आभार प्रकट गरेका छन् । उनले ब्रुनेल विश्वविद्यालयमा हुने फाइनल खेल प्रत्यक्ष अवलोकन गरी खेलाडीहरूको उत्साह बढाउन बेलायतमा रहेका सम्पूर्ण खेलप्रेमी नेपालीहरूलाई हार्दिक निमन्त्रणा समेत गरे ।
फाइनल खेल हेर्नका लागि दर्शकहरूले आधिकारिक अनलाइन पोर्टल (https://buytickets.at/nepalbasketballuk/2276403) मा गएर आफ्नो टिकट सुरक्षित गर्न पनि आयोजकले आग्रह गरेका छन् ।






