
जयराम तामाङ
सुईन्डन, युके । नेपाली समाज विल्टशायरको आयोजनामा बेलायतमा भएको सुईन्डन कप फानबरो ईलिटले जितेको छ ।
सुईन्डनस्थित न्यू कलेजको खेल मैदानमा शनिबार ११ जुलाई २०२६ मा सम्पन्न फुटबल प्रतियोगितामा मेन क्याटगोरीमा एफसी कनेक्टलाई पराजित गर्दै फानबरो ईलिटले ट्रफी र मेडल नगद पुरस्कार हात पारेको हो ।
यसैगरी भेट्रानतर्फ फाईनलमा एफसी तोङ्बा(क्युजीई)ले ज्वोईन्ट एफसी लाई २-१ ले हराउॅदै एक हजार पाउन्ड नगद, मेडल र ट्रफी जित्यो ।
यस्तै सुपर भेट्रानतर्फ एफसी केनीले २-० ले हराउॅदै मेडल, ट्रफी र ४ सय पाउन्ड नगद जितेको थियो ।
प्रतियोगितामा सुपर भेट्रान २ टिम, भेट्रान ८ टिम र मेन क्याटगोरीतर्फ १८ टिमले प्रतिस्पर्धा गरेका थिए ।
विजेताहरुलाई नेपाली समाज विल्टशायरका अध्यक्ष रन्जन मल्ल, संयोजक ज्ञानप्रसाद गुरुङलगायत समाजका पदाधिकारीहरुले मेडल , ट्रफी र नगद पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितालाई सफल बनाउनका लागि विभिन्न संघसंस्थालगायतले प्रायोजन गरेका थिए ।
कार्यक्रम नेपाली समाज विल्टशायरका पूर्वसचिव तथा वर्तमान सल्लाहकार भवानी गुरुङले सञ्चालन गरेका थिए।
कार्यक्रमको अन्त्यमा नेपालकै चर्चित डान्सर अष्मिता रानाको नृत्यले सबैजना मन्त्रमुग्ध बनाएको थियो ।










