– डा. सुमाया राई -बेलायत |
२१३ औं भानु जयन्ती एवं ९५ औं ईश्वर प्रसाद मानन्धर जयन्तीको पावन अवसरमा ११ जुलाई २०२६ का दिन लण्डनस्थित ग्रीनफोर्डको ‘टेस्ट अफ पर्सिया’ सभाहलमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेलायत च्याप्टर एवं नेपाल मुक्तक प्रतिष्ठान बेलायत शाखाको संयुक्त आयोजनामा यस वर्षको ‘अनेसास सुप्रमा-ईप्रमा अन्तर्राष्ट्रिय पुरस्कार’ प्रा. डा. देवी प्रसाद सुवेदीकृत ‘उर्वशी’ उपन्यासलाई प्रदान गर्दै सर्वोत्कृष्ट कृति घोषणा गरियो। प्रा. डा. देवी प्रसाद सुवेदीको ‘उर्वशी’ को सम्मानमा सम्मानपत्रका साथै £५०१ (पाँच सय एक पाउण्ड) पुरस्कार राशि हस्तान्तरण गरियो। ‘उर्वशी’ उपन्यास पूर्वीय हिन्दू दर्शन, शास्त्रीय दृष्टिकोण एवं आध्यात्मिक चिन्तन र चरित्रहरूको पृष्ठभूमिमा लेखिएको जानकारी वक्ताहरू तथा सम्मानित कृतिकारको मुखारविन्दबाट गराइएको थियो। सोही अवसरमा डा. रूपक श्रेष्ठद्वारा लिखित मुक्तक सङ्ग्रहहरू ‘चौशूल’ र अङ्ग्रेजी भाषामा ‘Pokhtak’ एवं सुमल कुमार गुरुङकृत ‘कर्मवीर’ युद्ध उपन्यासको पनि विमोचन सम्पन्न भएको थियो।
‘अनेसास सुप्रमा-ईप्रमा अन्तर्राष्ट्रिय पुरस्कार’ नेपाली डायस्पोरा माझ एक सुपरिचित नाम हो। उक्त पुरस्कारको स्थापना सन् २०१२ मा बेलायतमा भएको हो। तत्कालीन ईश्वर प्रसाद मानन्धरज्यूले आफ्ना पिता स्वर्गीय सुन्दर प्रसाद मानन्धरको चिरस्मृतिमा ‘अनेसास सुप्रमा पुरस्कार’ को स्थापना गर्नुभएको थियो। त्यस समय यस साहित्यिक पुरस्कारको राशि £२५१ रहेको थियो। प्रारम्भमा बेलायतवासी नेपाली साहित्यकर्मी, सर्जक एवं स्रष्टाद्वारा लिखित तथा प्रकाशित कृतिहरू पुरस्कारका लागि आह्वान गरी प्राप्त कृतिहरूको मूल्याङ्कन प्रक्रियामार्फत सर्वोत्कृष्ट कृतिकारलाई प्रत्येक वर्ष भानु जयन्ती एवं ईश्वर जयन्ती समारोहका अवसरमा पुष्पगुच्छा, खादा, माला, सम्मानपत्र र तोकिएको पुरस्कार राशि हस्तान्तरण गर्ने परम्परा रहँदै आएको छ।
ईश्वर प्रसाद मानन्धरज्यूको देहावसानपछि सन् २०२० देखि उहाँको स्मृतिलाई समेत जोडेर यस पुरस्कारको नाम ‘अनेसास सुप्रमा-ईप्रमा पुरस्कार’ बनाइयो। यस पुरस्कारको सकारात्मक प्रभावले स्थापनाकालदेखि नै बेलायती डायस्पोरामा नेपाली साहित्य सृजनाका क्षेत्रमा निरन्तर उत्प्रेरणा जगाउने काम गर्दै आइरहेको छ। नेपाली भाषा एवं साहित्यको श्रीवृद्धिका लागि यो अत्यन्तै सुखद कुरा हो।
यसै क्रममा, सन् २०२५ मा ‘अनेसास सुप्रमा-ईप्रमा पुरस्कार’ को स्वरूपमा परिमार्जन गर्दै यसलाई विश्वव्यापी बनाइयो। सुरुका वर्षहरूमा बेलायतवासी नेपाली स्रष्टाहरूलाई मात्र पुरस्कृत गरिने परिपाटी रहेकोमा सोही वर्षदेखि विश्वभरका नेपाली स्रष्टाहरूका कृतिलाई समेट्न थालिएकाले यसको नाम ‘अनेसास सुप्रमा-ईप्रमा अन्तर्राष्ट्रिय पुरस्कार’ राखियो। साथै, पुरस्कार राशि वृद्धि गरी £५०१ बनाइयो। सो वर्षको पुरस्कार डा. श्रीधर खनालको उपन्यास ‘सावर्णि’ लाई प्रदान गरिएको थियो।
उक्त पुरस्कारका लागि अभिभावकत्व स्वर्गीय ईश्वर प्रसाद मानन्धरज्यूकै परिवारजनले प्रदान गर्दै आउनुभएको छ भने पुरस्कार वितरण एवं व्यवस्थापनका लागि प्रक्रियागत भूमिकामा डा. रूपक श्रेष्ठ रहँदै आउनुभएको छ। यसको संयोजनकारी भूमिका अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायतले निर्वाह गर्दै आएको छ।
नेपाली डायस्पोरामा ‘अनेसास सुप्रमा-ईप्रमा अन्तर्राष्ट्रिय पुरस्कार’ सर्वाधिक लोकप्रिय, गरिमामय एवं ठूलो राशिको पुरस्कारका रूपमा प्रसिद्ध छ। स्थापनाकालदेखि आजका मितिसम्म यस गरिमामय पुरस्कारबाट सम्मानित हुने महानुभावहरूको नामावली निम्नानुसार रहेको छ:
सन् २०१४: मुकेश राई – पानीका रङ्गहरू (कविता सङ्ग्रह)
सन् २०१५: दुर्गा प्रसाद पोखरेल – अक्षरका पाइलाहरू (कविता सङ्ग्रह)
सन् २०१६: केदार सङ्केत – अफिम फुल्ने देशमा (खण्डकाव्य)
सन् २०१७: कृष्ण बजगाईं – कमरेड भाउजू (कथा सङ्ग्रह)
सन् २०१८: सुमाया राई – अव्यक्त अभिव्यक्ति (कविता सङ्ग्रह)
सन् २०१९: नृपेश उप्रेती – मुसाफिर (गजल सङ्ग्रह)
सन् २०२०: देवेन्द्र खेरेस – कोलम्बस यात्रा (कविता सङ्ग्रह) (यसै वर्षदेखि पुरस्कारको नाम ‘सुप्रमा-ईप्रमा’ बनाइएको)
सन् २०२१: प्रतिमा के.सी. – पानीको विद्रोह (कविता सङ्ग्रह)
सन् २०२२: माया गुरुङ – जिन्दगी (कविता सङ्ग्रह)
सन् २०२३: सनम कुमार बैराग – कैदीको पत्र (श्रव्य-दृश्य) (स्व. ईश्वर प्रसाद मानन्धरद्वारा रचित कथा ‘कैदीको पत्र’ मा आधारित श्रव्य-दृश्य/Audiovisual का लागि)
सन् २०२४: (सुप्त/सञ्चालन नभएको)
सन् २०२५: श्रीधर खनाल – सावर्णि (उपन्यास) (यसै वर्षदेखि पुरस्कार राशि वृद्धि गरी £५०१ बनाइएको र अन्तर्राष्ट्रिय स्वरूप दिइएको)
सन् २०२६: प्रा. डा. देवी प्रसाद सुवेदी – उर्वशी (उपन्यास)
यसरी आजका मितिसम्म १३ जना स्रष्टाहरूले यो प्रतिष्ठित पुरस्कार प्राप्त गर्ने सौभाग्य प्राप्त गर्नुभएको छ।सुप्रमा-ईप्रमा साहित्य अन्तर्राष्ट्रिय पुरस्कारका संस्थापक स्वर्गीय ईश्वर प्रसाद मानन्धरज्यूको जन्म नेपाल (हाल मधेश प्रदेशको सप्तरी जिल्लास्थित राजविराज) मा सन् १९३१ जुलाई २३ का दिन भएको थियो। सन् १९७९/८० को दशकमा उहाँको बेलायत आगमन भयो। संसारकै व्यस्त एवं महँगो सहर लण्डनमा उहाँले ‘नटराज’ नामक रेस्टुरेन्ट व्यवसाय प्रारम्भ गर्नुभयो। उहाँ एक सफल व्यवसायी मात्र नभई उच्च मानवीय संवेदनाले भरिपूर्ण समाजसेवी पनि हुनुहुन्थ्यो। नेपालीभाषी माझ उहाँको लोकप्रियता कति थियो भने, तत्कालीन राजसंस्थाका सदस्य हुन् वा कूटनीतिक नियोगका प्रतिनिधि, कुनै राजनीतिक दलका नेता हुन् वा साधारण व्यक्ति—उहाँकहाँ पुगेर न्यानो आतिथ्य ग्रहण गरेका प्रसङ्गहरू आज पनि चाखलाग्दो गरी सुन्न पाइन्छ।
सुखद कुरा त के भने, स्वर्गीय ईश्वर प्रसाद मानन्धर स्वयं पनि एक उम्दा साहित्यकार हुनुहुन्थ्यो। उहाँको ‘म, आकाश र ताराहरू’ कविता सङ्ग्रह एक उत्कृष्ट रचना मानिन्छ। उहाँका कविताभित्र जीवनदर्शन, प्रकृति र मानव जीवनका अभिन्न गुण, अनुभव तथा अनुभूतिहरू पाइन्छन्। जीवन बाँच्ने कलाप्रतिको संवेदनशीलताका साथै माया र समर्पणका सुन्दर बिम्बहरू यसरी प्रयोग भएका छन्:
यो मन रोइरहेको हुन्छ त के भो,
जीवन तिम्रो सदा सुखमय रहोस्।
तिम्रो माया पाउन नसके त के भो,
मेरो माया सदा रहिरहोस्।
(‘म, आकाश र ताराहरू’, पृष्ठ १)
शून्य, शान्त आकाशमा
जगमगाइरहेका ताराहरू
एकटक हेरिरहेको हुन्छु।
ती झिलमिल ताराहरू
एक-एक गरेर गन्न खोज्छु,
कोही ओझेल हुन्छन्,
प्रकाशविहीन हुन्छन्
भूलभुलैया जस्तै।
(‘म, आकाश र ताराहरू’, पृष्ठ ९)
यसै क्रममा स्वर्गीय मानन्धरको अर्को चर्चित एवं मर्मस्पर्शी कविता ‘शुभकामना: विदेशबाट’ रहेको छ, जसलाई एक प्रतिनिधि रचनाका रूपमा लिन सकिन्छ। विश्वभरका नेपाली मन र हृदयको संवादलाई कविले यस कवितामार्फत पोख्नुभएको छ। प्रवासी नेपाली मनलाई मातृभूमिको मायाले ओतप्रोत गराउँदै शान्ति र समृद्धितर्फको सन्देश दिन कवि पूर्णतः सफल हुनुभएको छ।
स्वर्गीय ईश्वर प्रसाद मानन्धरको नेपाली साहित्यप्रतिको गहिरो चेतना र संवेदनशीलताको नतिजा नै ‘अनेसास सुप्रमा-ईप्रमा अन्तर्राष्ट्रिय पुरस्कार’ हो। भावी सन्ततिले नेपाली भाषा बिर्सँदै जाने पो हुन् कि भन्ने चिन्तनबाट यो पुरस्कार मूर्त रूपमा जन्मिएको हो। ६०/७० को दशकमा, जब बेलायतको भूमिमा नेपालीहरूको उपस्थिति नगण्य थियो, त्यस समयमा मानन्धरज्यूले यहाँ आएर नेपाली भाषा-साहित्यको संरक्षण एवं संवर्द्धनका लागि गोरेटो खन्नुभयो।
बेलायती भूमिमा नेपाली भाषा र साहित्यको बीजारोपण गर्ने महान् व्यक्तित्व ईश्वर प्रसाद मानन्धरको सन् २०१२ फेब्रुअरी ४ (शनिबार) का दिन निधन भयो। बेलायतमा बसोबास गर्ने नेपालीहरू माझ सम्भवतः प्रथम कविता कोर्ने र नेपाली साहित्यको जगेर्ना गर्ने अग्रजका रूपमा उहाँको योगदानलाई जीवन्त राख्न २७ फेब्रुअरी २०१२ मा आयोजित श्रद्धाञ्जली सभामा डा. रूपक श्रेष्ठले उहाँलाई ‘बेलायती नेपालीहरूका आदिकवि’ भनेर सम्बोधन गर्नुभएको थियो। सोही समयदेखि उहाँलाई बेलायतको नेपाली साहित्य माझ श्रद्धापूर्वक ‘आदिकवि’ भनेर सम्बोधन गर्ने गरिन्छ। उहाँको बहुआयामिक योगदानको कदर गर्दै तत्कालीन नेपाल सरकारका तर्फबाट ‘गोरखा दक्षिण बाहु’ लगायत थुप्रै मान-पदवी र सम्मान प्रदान गरिएको थियो।






