लन्डन । बेलायतमा यही २५ जुलाईमा चर्चित लोक कलाकारको जमघटमा सांगीतिक साँझ हुँदैछ ।
अल्डरसटस्थित ठमेल दोहोरी एन्ड ढिडोघरमा ‘फोल्क बिट्स म्युजिकल नाइट’ आयोजना हुन लागेको हो । साँझ ७ बजेदेखि हुने कार्यक्रम नेपाली लोकसंगीत, संस्कृति र मनोरञ्जनलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो।
कार्यक्रममा गायिका सबिना बुढा मगर, सपना रोका, ललिता पुन, रूपी सिङ्जाली, बिना राई तथा गायक कृष्ण सुवेदी, मनसुधन थापा र सन्तोष पुनले प्रत्यक्ष सांगीतिक प्रस्तुति दिने छन् ।
कार्यक्रमस्थलमा नेपाली परिकारसहित खाना तथा पेय पदार्थको समेत व्यवस्था रहने जनाइएको छ।
बेलायतमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै आयोजना गरिएको उक्त सांगीतिक साँझमा नेपाली लोकसंस्कृति र संगीतको विविध स्वाद प्रस्तुत गरिने भएकोले उपस्थित हुन बेलायतवासी नेपाली समुदायलाई अनुरोध गरिएको छ।






