अरुण थापा स्मृति दिवस बागलुङमा म्याग्दीका कलाकारद्वारा थाली नाच प्रस्तुत

SHARE:

साजन पुन मगर – म्याग्दी।

नेपाल मगर विद्यार्थी संघ बागलुङद्वारा आयोजना गरिएको अरूण थापा स्मृति दिवसमा म्याग्दीका कलाकारद्वारा ‘थाली नाच’ प्रस्तुत गरिएको छ। उक्त थाली नाच म्याग्दी जिल्ला, रघुगंगा गाउँपालिका वडा नं. ५ झिं निवासी मेघना गर्बुजा पुन मगर र वडा नं. ४ दर्मीजा निवासी एलिसा पुन मगरले प्रस्तुत गरेका थिए ।

नेपाल मगर विद्यार्थी संघ बागलुङ जिल्ला समितिको आयोजनामा स्वर्गीय गायक तथा संगीतकार अरूण थापा मगरको २७औँ स्मृति दिवसको अवसरमा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा नेपाल मगर विद्यार्थी संघ म्याग्दीको तर्फबाट म्याग्दी जिल्लाको मौलिक पहिचान झल्काउने ‘थाली नाच’ प्रस्तुत गरिएको थियो। कार्यक्रममा नेपाल मगर विद्यार्थी संघ म्याग्दीका सचिव साजन पुन मगरले थाली नाचको ऐतिहासिक महत्त्व र पृष्ठभूमिबारे जानकारी गराउनुभएको थियो।

थाली नाचको इतिहास र चिमखोलाको योगदान
म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका–७, चिमखोला नेपालको मौलिक लोकसंस्कृतिको धरोहरका रूपमा परिचित छ। थाली नृत्यको उद्गमस्थल मानिने चिमखोलाको यो नाच आज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा म्याग्दीको पहिचानका रूपमा स्थापित भइसकेको छ। यद्यपि, यसको प्रारम्भ कहिले भयो, कसरी भयो र सर्वप्रथम कसले भित्र्याए भन्ने विषयमा पर्याप्त दस्तावेजीकरण हुन सकेको छैन। त्यसैले थाली नृत्यको वास्तविक इतिहासको खोजी, संरक्षण र अभिलेखीकरण आजको प्रमुख आवश्यकता बनेको छ।

उपलब्ध मौखिक इतिहास तथा प्रतक्षदर्शी स्थानीय अग्रजहरूको भनाइअनुसार चिमखोलामा थाली नृत्यका प्रथम प्रवर्तक स्वर्गीय हवल्दार थमान पुन मगर हुन्। उहाँ तत्कालीन मुस्ताङ जिल्ला, चिमखोला गाउँ पञ्चायत (हाल म्याग्दी जिल्ला, रघुगंगा गाउँपालिका–७, चिमखोला) निवासी स्वर्गीय जिम्माल बलबहादुर पुन मगरका माहिला छोरा हुनुहुन्थ्यो। सन् १९२३ मा जन्मनुभएका थमान पुन सन् १९४३ मा भारतीय सेनामा आबद्ध हुनुभएको थियो।

वि.सं. २०१३ सालमा भारतीय सेनाबाट घर बिदामा चिमखोला फर्किएका बेला उहाँले हत्केलामा थाली राखेर छमछमी नृत्य प्रस्तुत गर्नुभएको थियो। यही प्रदर्शनलाई चिमखोलामा थाली नृत्यको पहिलो सार्वजनिक प्रस्तुति मानिन्छ। उहाँको यो अभूतपूर्व कला देखेर स्थानीय समुदाय अत्यन्त प्रभावित भएको बताइन्छ।

हिरामाया पुन मगरको योगदान र पञ्चेबाजाको ताल
थमान पुनको नृत्यबाट प्रभावित भई उहाँकै भाईखलक तथा जिम्माल खलककी चेली हिरामाया पुन मगरले बि. सं २०२० तिर आफ्नै गाउँ चिमखोलादेखि शुरु गरेको यो नृत्यको अभ्यासलाइ निरन्तरता दिदै बि. सं २०२२ सालमा जिल्ला स्तरीय सांस्कृतिक नृत्य प्रतियोगिता तत्कालिन मुस्ताङ जिल्लाको सदमुकाम दानामा प्रस्तुत गरेका थिए । हत्केलामा थाली राखेर आकर्षक ढंगले नृत्य प्रस्तुत गर्न थाल्नुभएकी हिरामायाले थाली नृत्यलाई निरन्तरता दिँदै चिमखोलाको सांस्कृतिक पहिचान स्थापित गर्न उल्लेखनीय योगदान पुर्‍याउनु भयो।

वि.सं. २०२८ सालमा हिरामाया पुन मगरले पहिलो पटक पञ्चेबाजाको तालमा थाली नृत्य सार्वजनिक रूपमा प्रस्तुत गर्नुभएको इतिहास छ। त्यसपछि यो नृत्य चिमखोलाका विभिन्न सांस्कृतिक कार्यक्रम, पर्व तथा उत्सवहरूको अभिन्न अङ्ग बन्दै गयो। स्थानीय कलाकारहरूको सक्रिय सहभागिता र निरन्तरताका कारण यो नृत्य पुस्तान्तरण हुँदै झनै लोकप्रिय बन्न पुग्यो।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान
थाली नृत्यलाई राष्ट्रिय स्तरमा चिनाउन वि.सं. २०४२ साल एउटा महत्त्वपूर्ण मोड बन्यो। सो वर्ष वीरगञ्जमा आयोजित ‘तेस्रो राष्ट्रिय लोकनृत्य प्रतियोगिता’मा हिरामाया पुन मगर, स्थानीय गायिका धनकुमारी थापा मगरसहितको चार सदस्यीय टोलीले सामूहिक थाली नृत्य प्रस्तुत गरी प्रथम स्थान हासिल गरेको थियो। यस सफलताले चिमखोलाको थाली नृत्यलाई देशव्यापी पहिचान दिलायो।

त्यसैगरी वि.सं. २०४४ सालमा काठमाडौँमा सम्पन्न सार्क शिखर सम्मेलनका अवसरमा थाली नृत्य प्रस्तुत गरिएपछि यसले अन्तर्राष्ट्रिय स्तरमा समेत व्यापक प्रशंसा पायो। त्यसयता थाली नृत्य नेपालको प्रमुख मौलिक लोकनृत्यमध्ये एकका रूपमा स्थापित हुँदै विश्वका विभिन्न देशमा रहेका म्याग्देली तथा नेपाली समुदायमार्फत संरक्षण, संवर्द्धन र प्रवर्द्धन भइरहेको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!