रूपन्देही । पछिल्लो समय रूपन्देही जिल्लामा सर्प र सर्पदंशका घटनामा वृद्धि हुन थालेपछि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विद्यालयस्तरमा सचेतनामूलक अभियान सुरु गरिएको छ ।
धार्मिक संस्था रुद्र गणको अगुवाइमा युवा अभियन्ता विशाल पाण्डेय र नबिन पौडेलले जिल्लाका विभिन्न विद्यालयमा पुगेर सर्पसम्बन्धी वैज्ञानिक जानकारी तथा सर्पदंशबाट बच्ने उपायबारे अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिरहेका छन् ।
कार्यक्रमअन्तर्गत विद्यार्थी तथा शिक्षकहरूलाई विषालु र अविषालु सर्पको पहिचान, सर्पदंश हुन नदिन अपनाउनुपर्ने सावधानी, सर्पदंश भएमा तत्काल अपनाउनुपर्ने प्राथमिक उपचार तथा सर्प संरक्षणको महत्वबारे जानकारी प्रदान गरिएको छ। साथै, सर्पसँग सम्बन्धित अन्धविश्वास र भ्रम हटाई वैज्ञानिक सोचको विकास गर्न पनि अभियानले विशेष जोड दिएको आयोजकले जनाएको छ ।
आयोजकका अनुसार मानव सुरक्षा र जैविक विविधताको संरक्षणबीच सन्तुलन कायम गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको यस अभियानलाई आगामी दिनमा रूपन्देहीका थप विद्यालय तथा समुदायस्तरसम्म विस्तार गरिनेछ ।
सर्पदंशका घटनाबाट हुने मानवीय क्षति न्यूनीकरणका लागि यस्ता सचेतनामूलक कार्यक्रम प्रभावकारी हुने विश्वास आयोजकको रहेको छ ।






