हङकङमा गीतकार दिदी जानु काम्बाङ लिम्बुको नविन उपन्यास भव्य समारोहबीच आइतबार २६ जुलाई २०२६ मा लोकार्पण भएकोछ । यस लोकार्पण समारोहमा खाम्योक उपन्यासबारे समीक्षा गर्न मलाई अवसर दिनुहुने मेरो आदरणीय दिदी जानु काङबाङ तथा हङकङ साझा साहित्यिक शृंखला परिवारलाई हार्दिक नमन ।
उपन्यासकारभन्दा पहिलो जानु दिदीलाई गीतकारको रुपमा चिन्छु म । कविको रूपमा चिन्छु म, आख्यानकारको रूपमा चिन्छु म । तर गीत, कविता र आख्यानभन्दा पहिले मलाई माया गर्ने मेरो गाउँले दिदी, मेरो अभिभावक भनेर लिन्छु म दिदीलाई ।
दिदीसँगको संगत, दिदी हङकङ आएदेखि निकट भए पनि, एक अग्रजको रुपमा उहाँलाई लामो समयदेखि पछ्याउँदै आइरहेको छु । दिदीसँगको औपचारिक, अनौपचारिक दुवै भेटहरूमा छुट्टै अपनत्वको अभास पाउने गर्छु म । सायद हामी जन्मी हुर्केको भूगोल, रुचिको क्षेत्र र दुवैले एकअर्कालाई गर्ने आदर र प्रेमभावले निकट बनाएको हुनसक्छ भन्ने ठानेकी छु ।
उमेरले, अनुभवले, लेखनले, सबै कुराहरुले दिदी मभन्दा धेरै अग्रज, परिपक्क हुनुहुन्छ । आज उनै मेरो अग्रज दिदीको औपन्यासिक कृति खाम्योकमाथि बोल्नुपर्ने जोखिम आइलागेको थियो । खासमा म साहित्यको गम्भीर अध्येता पनि होइन । न, गम्भीर समीक्षक नै हुँ । मैले सुरुदेखि नै आफ्नाबारे भन्दै आइरहेको के हो भने, म एक मामुली पाठक, रहरको साधारण लेखक हुँ । यस्तै रहरको हुटहुटीले एउटा उपन्याससमेत लेख्ने दुस्साहस गरेँ । मलाई लाग्छ, जानु दिदीले मेरो यहीँ रहरे आख्यान लेखनका कारण दिदीको उपन्यासमाथि बोल्न लगाउनुभएको । तर मलाई थाहा छ, उपन्यास खाम्योकजस्तो गम्भीर औपन्यासिक कृतिको समीक्षा गर्नु मेरो बसको कुरा हुँदै होइन । समीक्षा मेरो क्षेत्र र पहुँच बाहिरको कुरा हो । मैले गर्न सक्ने भनेको साधारण पाठकीय प्रतिक्रिया मात्रै हो ।
जानु दिदीको उपन्यास खाम्योक पढिसकेपछि मलाई बारम्बार महसुस भएको एउटै कुरा के हो भने, यो उपन्यास हाम्रै कथाले लेखिएको उपन्यास हो । उपन्यासका मुख्य पात्र खाम्योक र अनुपहरु हङकङको सडक र गल्लीहरुमा हरदिन जम्काभेट भइरहन्छन् । उनीहरुले परदेशमा पाएका दुःखहरु हाम्रै साझा दुःखहरु हुन् । उनीहरुले कहिलेकाहीं भेटेर साझा गर्ने अनुभूतिहरु हाम्रै कथाहरु हुन् । कहिलेकाहीं व्यस्तता र दुःखहरुबाट बाहिर निस्केर जसरी हामी यो सहरको भिडभन्दा बाहिर निस्किएर केही क्षणलाई सारा बोझहरुका भारी बिसाउँछौँ । ठिक त्यसरी नै उपन्यास खोम्याकका पात्रहरु हाम्रै भोगाई र कथाहरु बोकेर आँखाभरि, मनभरि आइदिन्छन् । भनिन्छ, एउटा लेखक त्यतिखेर सफल हुन्छ, जतिखेर उसका पात्रहरुसँग, चरित्रहरुसँग पाठकले आफूलाई प्राप्त गर्छ । यसरी हेर्ने हो भने एक उपन्यास र उपन्यासकारका रुपमा, दिदी जानु काम्बाङ सफल हुनुभएको छ भन्ने लाग्छ ।
उपन्यास खाम्योकले माओवादीले सुरु गरेको दशवर्षे युद्ध, २०६२/६३ पछिको पहिचानका लागि गरिएको लिम्बुवान आन्दोललाई आधार बनाएर उपन्यासको कथा एकदमै सुन्दर ढंगले बुनिएको छ । उपन्यासको मुख्य पात्र खाम्योक सेनामा कार्यरत रहँदै माओवादीले युद्ध सुरु गर्छ । माओवादीले सुरु गरेको त्यहीँ युद्धमा खाम्योक घाइते हुन्छ । बालबाल मृत्युबाट बचेको खाम्योक सेनामा फर्किने दुस्साहस गर्दैन । बरु वैकल्पिक पेसा रोज्छ । काठमाडौँमा पिसीओ चलाएर गुजारा गर्छन् । पिसीओ चलाउँदा चलाउँदै एकदिन दलालमार्फत बेल्जियम उड्छन् । र परदेशको अनन्त दुःखको पाउमा पर्छन् ।
हामी परदेशीहरूलाई प्रदेशको दुःखको बारेमा सारै बताइरहन पर्छजस्तै लाग्दैन मलाई । परदेशको दुःख कस्तो हुन्छ ? समस्या कस्ता र कतिसम्म हुन्छ परदेशमा ? यसको आदिम भुक्तभोगी हामी परदेशीहरू सबै हौं । त्यसैले त, परदेशमा खाम्योकले पाएको दुःख, हाम्रै साझा दुःख हो ।
जानु दिदी, आफैं पनि लामो समयदेखि परदेशी भएका कारणले होला, उहाँका लेखनमा यति सुन्दर ढंगले परदेशीको अनुभूतिहरु व्यक्त भएर आएको छ । तर उपन्यासले परदेशको दुःख मात्रै उठाएको भने छैन । परदेशमा बसेर पनि स्वदेशको हरेकजसो अभियानमा महत्त्वपूर्ण भूमिका खेलिरहेकोछ भन्ने कुरा उपन्यासकार जानु दिदीले उठाउनुभएको छ । र यो यथार्थ पनि हो । बेल्जियममा बसेर जसरी पहिचानको आन्दोलन लिम्बुवानका लागि योगदान गर्ने खाम्योकहरुको भूमिका प्रतिनिधि घटनाका रुपमा उपन्यासकारले उठाउनुभएको हो । खाम्योकहरु हङकङ र हङकङजस्ता सयौँ देशहरुबाट केही न केही योगदान गरिरहेका छन् समुदायका लागि ।
भूगोलका लागि ।
जातिका लागि ।
देशका लागि ।
तर परदेशीहरुका योगदानलाई देशमा बस्नेहरुले अवमूल्यन गरिरहेको छ भन्ने कुरा लेखकले अप्रत्यक्ष रुपमा उपन्यासमार्फत भन्न खोज्नुभएको छ । जानु दिदीले उपन्यासमा उठाउन खोज्नुभएको अत्यन्तै महत्त्वपूर्ण विषय पनि हो यो ।
उपन्यासको अर्को सुन्दर पक्ष लिम्बु परम्परा र संस्कृतिको सुन्दर संयोजन उपन्यासभरि भेटिनु पनि हो । उपन्यासकार जानु दिदी आफैं लिम्बु समुदायबाट भएर पनि होला, उहाँले आफूनजिकका सांस्कृतिक चेतनालाई उपन्यासका पात्रहरुमार्फत व्यक्त गर्नुभएको छ । उपन्यासका पात्रहरुले बोल्ने लवज सुन्दा जोकसैले पनि लिम्बुवानको सुवास भेटिहाल्छ । आफ्नै दाइभाइ, काका, मामा यस्तै कोही भेटेजस्तो लाग्छ उपन्यासमार्फत ।
भन्नैपर्दा उपन्यासको मुटु नै पल्लो किरात अर्थात् लिम्बुवान भूमि हो भन्दा फरक पर्दैन । एक याक्थुङ कुलमा जन्मनुभएकी दिदी जानु काम्बाङ लिम्बुले उपन्यास खाम्योक लेखेर आफूलाई जन्माउने माटोको गुण तिर्नुभएको छ । फेरि पनि जानु दिदीलाई बधाई ।






