लन्डन । एभरेस्ट राइनोज यूकेले माया टी–१० क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ ।
बेलायतको वेकम्ब हाउस क्रिकेट क्लबमा आयोजित दोस्रो संस्करणको प्रतियोगिताको फाइनलमा माया क्रिकेट क्लबलाई पराजित गर्दै एभरेस्ट राइनोज च्याम्पियन बन्न सफल भएको हो । पहिले ब्याटिङ गरेको एभरेस्ट राइनोजले ८८ रन बनाएको थियो। जवाफमा माया क्रिकेट क्लबले खेल रोकिनुअघि ५ विकेटको क्षतिमा ४४ रन बनाएको थियो । पर्याप्त प्रकाश नभएका कारण खेल प्रभावित भएपछि डीएलएस पद्धतिका आधारमा एभरेस्टलाई विजेता घोषणा गरिएको हो।
प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका अनुभवी खेलाडी विनोद भण्डारीले उत्कृष्ट प्रदर्शन गरे। उनले प्रतियोगिताभर चार खेलमा चार अर्धशतक प्रहार गर्दै एभरेस्ट राइनोजको उपाधि यात्रामा महत्त्वपूर्ण भूमिका निर्वाह गरे।
भण्डारी ‘म्यान अफ द टुर्नामेन्ट’, फाइनलको ‘म्यान अफ द म्याच’ तथा ‘बेस्ट ब्याट्सम्यान अफ द टुर्नामेन्ट’ गरी तीन व्यक्तिगत विधामा सम्मानित भए।

प्रतियोगिताका विजेता खेलाडी तथा प्रायोजकहरुलाई बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडी, अभिनेता पल शाह, पूर्व मेयर एवं काउन्सिलर विष्णु गुरुङ, एनआरएनए यूके अध्यक्ष राजेन्द्र पुडासैनी, माया इभेन्ट्सका निर्देशकद्वय राज पाण्डे र डा. रक्षा थापा, समाजसेवी तथा व्यवसायी रविन्द्रजंग लामिछाने, युवा उद्यमीहरु विकास नेपाल, राजन खकुरेल, सुनिल थापा र अभिषेक भट्टराई लगायतले पुरस्कार र ‘टोकन अफ लभ’ प्रदान गरेका थिए ।
आयोजकका माया इभेन्टस एवम् माया क्रिकेट क्लबका संस्थापक राज पाण्डेले प्रतियोगिताले बेलायतमा रहेका नेपालीमूलका युवा खेलाडीहरूलाई राष्ट्रिय स्तरका खेलाडीहरूसँग खेल्ने, सिक्ने र अनुभव हासिल गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको बताएका छन् ।








