- विक्रम भट्टराई
मानिसले जीवनमा धेरै कुरा बिर्सन्छ। धेरै मानिसहरू भेट्छ, धेरै ठाउँहरू देख्छ, धेरै सपना पछ्याउँछ। तर एउटा कुरा भने कहिल्यै बिर्सँदैन उसको पहिलो जहाँ जन्म्यो हुर्क्यो त्यो घर फर्किने बाटो।
आजभन्दा करिब तेत्तीस वर्षअघिको कुरा हो। एसएलसी पास गरेपछि बुबाले भन्नुभयो, “अब गाउँमा बसेर मात्रै हुँदैन। काठमाडौँ जाऊ। पढ पनि, जागिर पनि गर, दिदी–भिनाजुको व्यवसायलाई पनि सहयोग गर् ।” त्यो निर्णय एउटा बा’को दृष्टिमा भविष्यको ढोका थियो। तर अठार वर्षको मेरो हिसाबले त्यो एउटा नयाँ संसारमा प्रवेश गर्ने गोल्डेन टिकट थिए भने पनि हुन्छ ।
पोखराबाट नजिकै भएर पनि त्यो बेलामा चेतना र विकासका हिसाबले निकै पछि परेको अर्मला भन्ने गाउँको केटो। मनभरि उत्साह। पोखराबाट काठमाडौँ जान पाउनु नै संसार जितेजस्तो लाग्थ्यो। त्यो बेलामा प्राईभेट कलेजहरूमा निकै नाम चलेको मध्य पर्ने पिपल्स क्याम्पस, पकनाजोलको बिहानको कक्षामा भर्ना भइयो । सुरुका केही दिन त काठमाडौँ साँच्चै जादुजस्तै लाग्यो। दिदीले पकाएको मिठो खाना, ठुलो सहर, भिडभाड, नयाँ साथी, नयाँ अनुभव, उरन्ठेउलो मन… तर मन त आखिर मन नै रहेछ।
दिनभरि काठमाडौँमा भए पनि मन भने बारम्बार अर्मलाको घर आँगन र पोखराको वरपर पुगिरहेको हुन्थ्यो। काठमान्डूको अहिलेको त्यो बेला नयाँ बसपार्क बनेकै थिएन। पोखरा जाने बस टुँडिखेलछेउको पुरानो बसपार्कबाट छुट्थ्यो। र मलाई आजसम्म लाग्छ, गजब त के भने त्यो बेलामा पोखरा जाने बसमा बसेर जब मुग्लिन क्रस हुन्थ्यो मनै हर हर हुन्थ्यो । त्यसपछि देखिने हरेक ढिस्का कान्लाहरू आफ्नै जस्तो लाग्थ्यो। बाटोका ढुङ्गाहरू पनि कताकता चिनेजस्ता लाग्थे। रुखहरू पनि आफ्नै गाउँका आफन्तजस्ता लाग्थे। सायद त्यो केवल भूगोल मात्र थिएन। त्यो त प्यारो घर नजिकिँदै गएको मन थियो।
यता दिदी–भिनाजुसँग बस्दा उता पोखरामा बाबुआमा ढुक्क हुनुहुन्थ्यो। तर मेरो मन भने त्यति स्थिर थिएन। बाआमाले बडो मेसो मिलाएर घरबाट पठाएको खर्च पनि हिसाब गरेर पठाइएको हुन्थ्यो। त्यसैले “घर जान मन लाग्यो” भनेर मात्रै टिकट काट्न पाइने अवस्था पनि त कहाँ हुन्थ्यो र । घर जान कुनै न कुनै बहाना चाहिन्थ्यो र त्यस्ता बहानाहरूको खोजी मै हुन्थेँ म । एक दिन त्यस्तै एउटा अवसर आयो। 
निकै संघर्ष गरेर धुम्बाराहीमा दिदीको नयाँ घर बनिसकेको थियो। बिहानै पोखरा निस्कने कुरा भयो। उबेलाको निकै भरपर्दो मानिने निलो कलरको साझा बस पाए सुनधारा, नभए पुरानो बसपार्क त छँदै थियो । घर जाने भनेपछि मेरो चुरीफुरीको त सीमा नै थिएन, निन्द्रा पनि त के लागोस् ।
हिजोआजको जस्तो हरेकको हात हातमा उबेला मोबाइल थिएन। पठाओ या उबर थिएन। न त इन्ड्राइभ नै थियो । त्यति बिहान ट्याक्सी चढ्ने हैसियत पनि कहाँ हुनु, न त हिजोआज जस्तो क्रेडिट कार्डको सुविधा होस् । कलेज जान सुरु गरेपछिको हिरो रेन्जर साइकल पछिको मेरो सबैभन्दा प्यारो सम्पत्ति थियो एउटा पुरानो पहेँलो माउन्टेन बाइक। त्यसमा मैले साथी रमेशसँग आधा काठमाडौँ चहारेको हुँ । त्यो साइकल केवल साइकल थिएन, मेरो आफ्नै पाराले हिँड्ने, हिरो टोपलिने, र अनेक तरिकाले चलाउने पहिलो स्वाद थियो।
पोखरा जाने कुराले मेरो हतार देखेर भिनाजुले हाँस्दै भन्नुभयो,”विक्रम तिमी साइकलमै जाऊ। कृष्णे र कान्छो पनि पछिपछि आउँछन्। फर्कँदा कान्छोले साइकल ल्याइहाल्छ।” कृष्ण र कान्छो भन्ने दुई जना भाइहरू दिदी भिनाजुको व्यवसायमा सहयोगीका रूपमा थिए र हामीसँगै बस्थे । त्यति भएसी म त फुरुक्क परेँ अनि एउटा झोला भिरेँ साइकल चढेँ र निस्केँ धुम्बाराहीबाट । रमाइलो त घर जाने उत्साहले साइकलको पैडल यति जोडले घुमाएँ कि घरबाट सँगै निस्किएका कृष्णे र कान्छो कहिले छुटे, मैले पत्तै पाइनँ।
चप्पल कारखाना, महाराजगन्ज, टिचिङ, लाजिम्पाट…जमल,वीर अस्पताल हुँदै सुनधारा…. म त हावासँग दौडिरहेको थिएँ।
सुनधारा पुगेर पछाडि फर्केर हेर्दा उनीहरू कतै देखिएनन्। मनले भन्यो “आउँछन्।” टिकट काउन्टरमा पुगेँ। लौ खा पोखरा जाने साझा बस त छुटिसकेछ। घर जानो हतारो नि अनि अरू केही नसोची हतारिएर पुरानो बसपार्क पुगेँ। तर त्यहाँ भाग्यले साथ दियो। पोखरा जाने बस अझै दश मिनेट बाँकी रहेछ। त्यो बेला आजको जस्तो एकै दिनमा सयौँ बसहरू पोखरा जाने पनि थिएनन् होला । टिकट काटेँ अनि मन मनै अब त घर गइयो भन्ने सोचेर लामो सास फेरेँ।
त्यसपछि पो एक्कासि मेरो नजर साइकलमा पर्यो। अब यसलाई कहाँ छोड्ने? ती भाइको पनि साँईशब्द छैन तर मनमा भने कृष्णे र कान्छो त आइपुग्लान् नि भन्दै मनलाई ढाडस दिइरहेको थिएँ । अलि नजिक होस् भनेर मैले बसको टिकट काउन्टर अगाडि मेरो साइकल अड्याएँ अनि भाइहरूको बाटो हेर्न सुरु गरेँ ।
यता बस स्टार्ट भयो। म झ्यालछेउको सिटमा बसेँ। तर मेरो मन भने बसभित्र थिएन। बाहिर यता र उता हेर्दै थियो र आँखा मेरो पहेँलो साइकलसँगै। बसको ड्राइभरले इन्जिन घ्यार्र ध्यार्र गर्दै अब हिँडे है भन्न थाल्यो। मानिसहरू चढे।
पुर्याउन आएकाहरू बसबाट ओर्लिए। बसको हर्न बज्यो मेरो मनमा त्यो हर्नले चिरिक्क बनाउँथ्यो किनकि आँखाको अगाडी त्यो पहेँलो साईकलले मलाई बिलौना गरेको जस्तो भयो तर घर जाने मन त थियो नै बलियो । बस बिस्तारै अगाडि निस्केर टुँडिखेलको साइडबाट भद्रकाली तर्फ मोडियो, म भने फर्की फर्की कतै ती भाइहरू आइहाल्छन् र साइकल देख्छन् र घर लान्छन् कि भनेर बसको झ्यालबाट टाउको निकालेर पनि हेरें । म भने झ्यालबाट त्यही साइकल हेरेको हेर्यै… तैपनि अझै पनि मनले विश्वास गरिरहेको थियो केही बेरमा आइपुग्छन्…।
तर… उनीहरू आएनन् बसको खलासीको “पोखरा…पोखरा…पोखरा…. सँगै मन पर्ने साइकल आँखाबाट हरायो र त्यसपछि मैले त्यो साइकल फेरि कहिल्यै देख्न पाइन ।
आज सोच्दा लाग्छ त्यो दिन मैले साइकल मात्रै होइन, बाल्यकालको एउटा टुक्रा पनि त्यही बसपार्कमा छोडेर आएको रहेछु। तर त्योभन्दा ठुलो कुरा अर्को रहेछ। घर पुग्ने चाहना मानिसभित्र यति बलियो हुँदो रहेछ कि त्यसले कहिलेकाहीँ आफूलाई सबैभन्दा प्रिय लागेका कुरासमेत पछि पारिदिन्छ। आज पनि कसैले “घर जाऔँ” भन्यो भने मन त्यसै गरी हलुका हुन्छ।

उमेर बदलियो। ठेगाना बदलियो। देश बदलियो।
सवारीसाधन बदलिए। मोबाइल आयो। जहाज चढ्न थालियो। तर एउटा कुरा बदलिएन घर फर्किने मन। सायद त्यसैले विदेशमा बसेका हामी नेपालीहरू “घर” शब्द सुन्नासाथ केही क्षण मै भावुक अनि आनन्दित हुन्छौँ। हामीले घर भन्नाले केवल एउटा ढुङ्गा माटो या काठ पातले बनाइएको संरचना सम्झेका हुँदैनौँ। हामीले सम्झेका हुन्छौँ आमाको हातले पकाएको खाना ।
बुबाको अनुहार त्यो आँगनको धुलो, गोठको गन्ध घरअगाडिको तगारो, त्यसै सँगैको लालुपातेको फुल अनि कलेजी रङ्गको काँडे फुलको झ्याङ, पहरेको चौतारी, खोल्साको पानी र सबै भन्दा महत्त्वपूर्ण कुरी त्यो निश्चिन्त भावना “घर पुगेपछि सबै ठिक हुन्छ।”
जीवनले पछि सिकायो सबै समस्या घर पुगेर समाधान हुँदैनन्। कतिपय समस्या त घरमै पनि पर्खिरहेका हुन्छन् त्यसको समाधानको प्रतीक्षा गरिरहेका हुन्छन् तर अचम्म के छ भने मनले आज पनि त्यो कुरा मान्न चाहँदैन। मनले अझै पनि त्यही अठार वर्षको केटो भएर भन्छ “घर पुगौँ न… सबै ठिक भइहाल्छ।”
सायद त्यसैले संसारका सबै यात्राहरूको अन्तिम गन्तव्य एउटा मात्र हुन्छ।






