काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान उद्धृत गर्दै प्रधानमन्त्री बालेन शाहले शुक्रबारदेखि देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन सम्पूर्ण नागरिकलाई आग्रह गरेका छन्।
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका पुगेका प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायलाई आवश्यक तयारी, समन्वय तथा पूर्वसतर्कता अपनाउन आग्रह गरेका हुन्।
उनका अनुसार असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको छ।
विशेषगरी गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी तथा एक–दुई स्थानमा मुसलधारे वर्षा हुने सम्भावना रहेको छ। त्यस्तै, कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि भारी वर्षाको आकलन गरिएको छ।
मौसम प्रणालीको प्रभावका कारण गण्डकीको पोखरा आसपास, लुम्बिनीका पहाडी तथा तराई क्षेत्र, कोशीको ताप्लेजुङसहित हिमाली भूभाग, बागमती र सुदूरपश्चिमका पहाडी क्षेत्र तथा कर्णालीको जुम्ला आसपास बाढी, पहिरो, डुबान तथा सडक अवरोधको जोखिम उच्च रहने जनाइएको छ।
सम्भावित विपद्लाई मध्यनजर गर्दै सरकारले नागरिक तथा सम्बन्धित निकायलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
बाढी, पहिरो तथा डुबानका कारण सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले वर्षा भइरहेको समयमा तथा रातको समयमा राजमार्गमा यात्रा नगर्न आग्रह गरिएको छ।
त्यस्तै, ट्रेकिङ तथा हिमाली क्षेत्रको भ्रमणको योजना बनाएका व्यक्तिलाई मौसममा सुधार नआएसम्म यात्रा स्थगित वा पुनर्विचार गर्न सुझाइएको छ।
नदी तथा खोला किनार र पहिरोको जोखिम रहेका क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन तथा मौसम विज्ञान विभाग र स्थानीय प्रशासनबाट जारी हुने नियमित सूचना तथा बुलेटिन हेर्न आग्रह गरिएको छ।
सम्भावित विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरणका लागि सम्बन्धित सरकारी निकायलाई आवश्यक पूर्वतयारीसहित प्रभावकारी समन्वयमा रहनसमेत निर्देशन दिइएको छ।






