बाढी पीडितको सहयोगार्थ बेलायतमा ‘सोलिड्यारिटी वाक’, ब्रिटिश सांसद तथा मेयरसहित सयौं सहभागी

SHARE:

लन्डन । नेपालमा २६ अगस्टमा आएको भीषण बाढीबाट पीडित समुदायको सहयोगका लागि लन्डनमा आयोजित ‘च्यारिटी सोलिड्यारिटी वाक’मा सयौंले भाग लिएका छन् ।

हेल्प नेपाल नेटवर्क यूकेको आयोजना तथा बुद्ध फाउन्डेसन यूकेको सहआयोजनामा शनिबार बेलुका आयोजित पदयात्रामा बेलायतस्थित ३० वटा नेपाली संघसंस्थाका प्रतिनिधिहरु सहभागी भएका थिए । त्यस्तै ब्रिटिश सांसद लुई फ्रेन्च, बरो अफ बेक्स्लीकी मेयर काउन्सिलर लिसा–जेन मुर, रोयल बरो अफ ग्रीनिचका मेयर काउन्सिलर डेभिड गार्डनरलगायत बेलायती समुदायका प्रतिनिधिहरू पनि सहभागी भएका थिए ।

वेलिङस्थित डान्सन पार्कबाट सुरु भएको करिब ५ माइल लामो पदयात्रा पूरा गर्न सहभागीहरूलाई करिब साढे दुई घण्टा लागेको थियो। पदयात्रा ब्ल्याकहिथमा पुगेर समापन भएको थियो ।

ब्ल्याकहिथमा आयोजित समापन कार्यक्रममा बाढीपहिरोमा ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्वलन तथा मौनधारण गरिएको थियो। कार्यक्रममा गुरु निलहरि घिमिरेले शान्तिस्वस्ति पाठ गरेका थिए भने बौद्ध धर्मगुरुहरुले बुद्ध वन्दनासहित पीडितहरूको आत्माको शान्ति तथा प्रभावित परिवारको शीघ्र पुनःस्थापनाका लागि प्रार्थना गरेका थिए ।

कार्यक्रममा सांसद लुई फ्रेन्च, बेक्स्लीकी मेयर लिसा–जेन मुर, ग्रीनिचका मेयर डेभिड गार्डनर तथा ग्रीनिचका पूर्वमेयर काउन्सिलर जीत रानाभाटले सम्बोधन गर्दै नेपालमा भएको विपत्तिप्रति दुःख व्यक्त गरे। उनीहरूले बाढीपहिरो पीडित तथा प्रभावित परिवारप्रति सहानुभूति र ऐक्यबद्धता व्यक्त गरेका थिए।

बेक्स्लीकी मेयर काउन्सिलर लिसा–जेन मुरले पदयात्राको सुरुवात गरेकी थिइन् भने रोयल बरो अफ ग्रीनिचका मेयर काउन्सिलर डेभिड गार्डनरले समापन गरेका थिए।

हेल्प नेपाल नेटवर्क यूकेका अध्यक्ष सचिन श्रेष्ठले कार्यक्रममा सहभागी नेपाली तथा बेलायती समुदायका सदस्य, सांसद, मेयर, पूर्वमेयर, काउन्सिलर तथा विभिन्न संघसंस्थाका प्रतिनिधिलाई धन्यवाद दिए । उनले विपत्तिको समयमा नेपालका पीडित परिवारका लागि देखाइएको साथ र ऐक्यबद्धताप्रति आभार व्यक्त गरे ।

बुद्ध फाउन्डेसन यूकेका अध्यक्ष दीपक श्रेष्ठले पनि कार्यक्रम सफल बनाउन सहयोग गर्ने तथा सहभागी सबैलाई धन्यवाद ज्ञापन गरे। सह-आयोजक कलेक्टिभ हार्ट्स फाउन्डेशनका ब्यारी संडर्सले पनि नेपालका बाढी पीडितहरु प्रति ऐक्यबद्धता जनाउंदै पदयात्रामा सहभागी सबैलाई धन्यवाद दिए।

पदयात्राका क्रममा नेपालका बाढीपहिरो पीडितको सहयोगका लागि केही रकमसमेत संकलन गरिएको आयोजकले जनाएका छन् । हेल्प नेपाल नेटवर्कले प्रभावित क्षेत्रमा गएर राहत वितरण गरि रहेको छ। ‘हिमालयन सुनामी’ पनि भनिएको भीषण बाढीबाट प्रभावित समुदायलाई अस्थायी आवास, सफा पिउने पानी, औषधि, कपडालत्ता तथा खाद्यान्नको आवश्यकता परेकाले यो लिंक मा गएर सक्दो सहयोग गर्न नेटवर्कले अपिल गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!