लन्डन । गोसाइँकुण्ड तीर्थयात्रामा जाने क्रममा गत भदौ १० गतेदेखि सम्पर्कविहीन हुनुभएका बिनु गुरुङ र उहाँसँगै यात्रामा रहनुभएकी देवी गुरुङको खोजीका लागि बेलायतबाट लेख गुरुङ रसुवाको बेत्रावती पुग्नुभएको छ ।
तमु समाज यूकेका सल्लाहकार तथा तनहुँ समाज यूकेका संस्थापक अध्यक्ष एवं संरक्षक लेख गुरुङ बहिनीहरू बेपत्ता भएको खबर पाउनासाथ बेलायतबाट नेपाल पुग्नुभएको हो। उहाँले सम्बन्धित निकायमा नाम तथा विवरण दर्ता गराउनुका साथै तस्बिर र आवश्यक जानकारी विभिन्न स्थानमा पुर्याउँदै सम्भावित यात्रा मार्ग तथा बाढी प्रभावित क्षेत्रहरूमा निरन्तर खोजतलास गरिरहनुभएको छ।
खोजी अभियानमा पत्रकार डण्ड गुरुङले उहाँलाई निरन्तर साथ, सहयोग र समन्वय गरिरहनुभएको तमु समाज यूकेले जनाएको छ। स्थलगत अवस्था बुझ्दै खोजी गर्ने क्रममा उहाँहरू रसुवाको उत्तरगया गाउँपालिकाअन्तर्गत पर्ने बेत्रावती बजार तथा आसपासका बाढी प्रभावित क्षेत्रमा पुग्नुभएको छ।
उक्त क्षेत्रको अवस्था अत्यन्त हृदयविदारक र कल्पनाभन्दा बाहिरको रहेको उहाँहरूले भिडियो सन्देशमार्फत बताउनुभएको छ। विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याउनुका साथै धेरै परिवारले आफ्ना प्रियजन गुमाएका छन्। बेपत्ता आफन्तहरूको खोजीमा थुप्रै परिवार पीडा र आशा बोकेर सम्भावित स्थानहरूमा पुगिरहेका कारुणिक दृश्यहरू देखिएका छन्।
घटना भएको भोलिपल्ट बिनु गुरुङ वा देवी गुरुङमध्ये एक जनाको मोबाइल बेत्रावती आसपासको क्षेत्रमा केही समय सक्रिय भएको सङ्केत प्राप्त भएको जानकारीका आधारमा लेख गुरुङ खोजीका लागि उक्त क्षेत्रमा पुग्नुभएको हो। बाढीले गाडी बगाउने क्रममा उहाँहरू गाडीबाट बाहिर निस्कन वा हामफाल्न सफल हुनुभएको हुन सक्छ भन्ने आशासहित सम्भावित स्थानहरूमा खोजतलास गरिएको थियो। तर स्थलगत रूपमा त्यहाँ पुगेपछि देखिएको अत्यन्त विकराल र जटिल अवस्थाले खोजी कार्यलाई झन् कठिन बनाएको उहाँले बताउनुभएको छ।
आफ्नी प्यारी बहिनी र उहाँसँगै यात्रामा रहनुभएकी देवी गुरुङको खोजीमा बेलायतबाट नेपाल पुगेर ठाउँ–ठाउँमा भौँतारिरहनुभएका लेख गुरुङको पीडा र कारुणिक अपिलले हामी सबैलाई भावविह्वल बनाएको छ। यस्तो असह्य अवस्थामा पनि उहाँले धैर्य र साहसका साथ खोजी कार्य जारी राख्नुभएको छ।
तमु समाज यूके परिवार नेपाल सरकार, स्थानीय प्रशासन, सुरक्षा निकाय, उद्धारकर्मी तथा सम्बन्धित सबै पक्षलाई बेपत्ता बिनु गुरुङ र देवी गुरुङको खोजी कार्यलाई अझ प्रभावकारी र तीव्र बनाउन हार्दिक अनुरोध गर्दछ। यस्ता प्राकृतिक विपत्तिमा खोज तथा उद्धार गर्न आवश्यक प्रविधि, साधन र दक्ष जनशक्तिसहितको विशेष टोली परिचालन गर्नसमेत हामी सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौँ। साथै, बिनु गुरुङ र देवी गुरुङका सम्बन्धमा कुनै जानकारी, तस्बिर, भिडियो, व्यक्तिगत सामान वा उहाँहरूको यात्रासँग सम्बन्धित कुनै सङ्केत प्राप्त गर्नुभएको छ भने तत्काल परिवार, नजिकको प्रहरी कार्यालय वा सम्बन्धित निकायलाई खबर गरिदिनुहुन सम्पूर्ण महानुभावहरूमा हार्दिक अपिल गर्दछौँ ।
यस कठिन घडीमा आदरणीय लेख गुरुङ, दुवै परिवारजन तथा यस विपत्तिमा आफ्ना प्रियजन बेपत्ता भएका सम्पूर्ण परिवारप्रति तमु समाज यूके परिवारले सहानुभूति व्यक्त गरेको छ । खोजी कार्यमा निरन्तर साथ र सहयोग प्रदान गरिरहनुभएका पत्रकार डण्ड गुरुङयूप्रति पनि समाजले हार्दिक आभार व्यक्त गरेको छ ।
‘हामी सबैको प्रार्थना, सद्भाव र साथ दुवै परिवार तथा आफ्ना प्रियजनको खोजीमा रहनुभएका सम्पूर्ण पीडित परिवारसँग छ। बिनु गुरुङ र देवी गुरुङ सकुशल भेटिनुहुनेछ भन्ने आशा र विश्वास कायम राख्दै उहाँहरूको शीघ्र खोजी तथा उद्धारका लागि सबैसँग सहयोगको विनम्र अनुरोध गर्दछौँ,’ तमु समाज यूकेको अपिलमा लेखिएको छ ।






