गण्डकी प्रदेशअन्तर्गत पर्वत जिल्लाको महाशिला गाउँपालिका–५, लामे गाउँमा जन्मिएका माओत्सेतुङ गुरुङ विगत डेढ दशकदेखि सामाजिक, सांस्कृतिक, कला तथा चलचित्र क्षेत्रमा निरन्तर समर्पित रहँदै आउनुभएको छ ।
बुबा रत्नबहादुर गुरुङ तथा माता भीमकुमारी गुरुङको कान्छा सन्तान माओत्सेतुङको मातृभाषा गुरुङ, संस्कार, संस्कृति तथा मौलिक पहिचानको संरक्षण र प्रवर्द्धन सामाजिक एवं सिर्जनात्मक यात्राको प्रमुख उद्देश्य रहँदै आएको छ। उहाँको योगदान चलचित्र क्षेत्रमा मात्र सीमित छैन। उहाँले चार भञ्ज्याङ तमु समाज पोखरामा दुई कार्यकाल सचिवको जिम्मेवारी निर्वाह गर्नुभएको छ। त्यसैगरी, प्राचीन नेपालका संस्थापक अध्यक्ष, गुरुङ फिल्म एसोसिएसन नेपालका कोषाध्यक्ष तथा उपाध्यक्ष र आदिवासी जनजाति चलचित्र महासंघ, गण्डकी प्रदेशका संस्थापक अध्यक्षलगायत विभिन्न सामाजिक, सांस्कृतिक तथा चलचित्रसम्बन्धी संघ–संस्थामा महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्दै आउनुभएको छ। यी जिम्मेवारीमार्फत उहाँले आफ्नो नेतृत्व क्षमता, सामाजिक प्रतिबद्धता र समुदायप्रतिको सेवाभाव प्रस्तुत गर्नुभएको छ।
चलचित्र यात्रातर्फ हेर्दा ‘सुनिमाया’, ‘तमु ह्युला’, ‘घलेक’, ‘मेरो जीवन’, ‘मुई’ अर्थात् ‘पैसा’, ‘तमुस्यो’, ‘टुकी’, ‘मि न्होर्बै ट, ‘ङेल्स्यो'(मितिनी), ‘मर्कली’ तथा ‘क्योई सा’ लगायतका चलचित्रमा अभिनय गर्दै उहाँले गुरुङ चलचित्र क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउनुभएको छ। यी चलचित्रमा अभिनय, निर्माण, लेखन तथा निर्देशनका माध्यमबाट आफ्नो बहुआयामिक प्रतिभा प्रस्तुत गर्दै उहाँले गुरुङ तथा नेपाली चलचित्र क्षेत्रलाई समृद्ध बनाउन उल्लेखनीय योगदान पुर्याउनुभएको छ।
उहाँको सिर्जनात्मक यात्राले विभिन्न राष्ट्रिय सम्मान तथा पुरस्कारसमेत प्राप्त गरेको छ। नेफ्टा अवार्डमा प्राप्त उत्कृष्ट निर्देशक सम्मान, चलचित्र ‘मि न्होर्बै ट’का लागि प्राप्त राष्ट्रिय चलचित्र पुरस्कार तथा चलचित्र ‘मर्कली’का लागि राष्ट्रिय चलचित्र पुरस्कार–२०२४ अन्तर्गत प्राप्त उत्कृष्ट चलचित्र सम्मान उहाँको प्रतिभा, साधना र समर्पणका महत्त्वपूर्ण उपलब्धि हुन् ।
आफ्नो भाषा, संस्कृति र पहिचानलाई चलचित्रमा उतार्नु केवल मनोरञ्जन प्रदान गर्नु मात्र होइन, यो समुदायका कथा, अनुभव, जीवनपद्धति र सांस्कृतिक सम्पदालाई अभिलेखीकरण गर्दै भावी पुस्तासम्म पुर्याउने महत्त्वपूर्ण कार्य पनि हो। माओत्सेतुङ गुरुङले कला, सिर्जना र समाजसेवामार्फत यस क्षेत्रमा पुर्याउनुभएको योगदान विशेष प्रशंसनीय छ।






