यस्तो छ, इङ्ग्ल्यान्डको ‘बिबरी र ट्राउट फार्म’ [तस्बिरहरु]

SHARE:

लन्डन । कोट्सवोल्ड्स क्षेत्रको सुन्दर बिबरी गाउँमा अवस्थित छ बिबरी ट्राउट फार्म (Bibury Trout Farm) । ट्राउट फार्म सन् १९०२ मा स्थापना भएको हो । यो इङ्ग्ल्यान्डकै सबैभन्दा पुरानो सञ्चालनमा रहेको ट्राउट फार्म मानिन्छ।

नेपालको गण्डकी ट्राउट फार्ममा जस्तो आफूले रोजेको माछाको परिकार बनाएर दिने रेस्टुरेन्टको व्यवस्था यहाँ देखिएन। तर पोखरीमा रहेका विभिन्न आकारका ट्राउट माछा हेर्न, दाना खुवाउन र बल्छी प्रयोग गरी आफैँ माछा मार्न पाइने भएकाले अनुभव निकै रमाइलो र फरक लाग्ने तमु समाज यूकेका पूर्वअध्यक्ष शिव कुमार गुरुङ बताउँछन् ।

फार्म प्रवेशका लागि वयस्कलाई £९.५० र ज्येष्ठ नागरिकलाई £८.५० शुल्क तोकिएको छ। कार पार्कमा दिनभरिका लागि £१० शुल्क लाग्छ ।

फार्मभित्र प्रवेश गरेपछि कर्मचारीहरूले माछा मार्ने विधि र सुरक्षासम्बन्धी छोटो जानकारीमूलक भिडियो देखाउँछन्। बल्छी (Fishing Rod) लगायत आवश्यक सामग्रीको एक सेट भाडामा लिन £३ लाग्छ। उक्त सेटमा बल्छी, दाना (Bait), माछा राख्ने बाल्टी, जाल (Net) र माछालाई छिटो मार्न प्रयोग गरिने विशेष डन्डी उपलब्ध गराइन्छ। यहाँ एउटा कडा नियम रहेछ—एकपटक बल्छीमा परेको माछा सानो वा ठूलो जस्तोसुकै भए पनि पुनः पानीमा छोड्न पाइँदैन। बल्छीबाट निकालेपछि त्यसलाई निर्धारित विधिअनुसार तत्काल मार्नुपर्ने रहेछ।यो प्रक्रिया प्रत्यक्ष देख्दा हामीलाई केही दुःखद महसुस भयो।त्यसैले सुरुमा माछा मार्ने सोच बनाएका भए पनि उक्त दृश्य देखेपछि हामीले आफ्नो सोच बदल्यौँ र माछा नमारी पोखरीमा दाना खुवाउँदै, ट्राउटहरू दाना खान झुम्मिएको रमाइलो दृश्य हेरेरै आनन्द लियौँ।

माछाको तौल, मूल्य र भण्डारण
आफूले मारेको माछा रिसेप्सनमा लगेर तौल गर्नुपर्छ। तौलअनुसार प्रतिकिलो £१३ तिर्नुपर्छ। माछा सफा गरिदिएको प्रतिमाछा £१ अतिरिक्त शुल्क लाग्छ। इच्छुक व्यक्तिले आफैँ पनि सफा गर्न सक्छन्। घुमफिर गरुन्जेल माछालाई फ्रिजमा सुरक्षित राखिदिने सुविधा पनि रहेछ। त्यसपछि माछा घर लैजान वा फार्ममै बारबिक्यु (BBQ) बनाएर खान सकिन्छ।

फार्मभित्रै आफूले मारेको माछा बारबिक्यु गरेर खाने राम्रो व्यवस्था छ। हट वा सेल्टर, कुर्सी–टेबल तथा बारबिक्यु स्ट्यान्ड उपलब्ध छन्। कोइला र लाइटरलगायत आवश्यक सामग्री पनि त्यहीँ किन्न पाइन्छ।

माछालाई दाना खुवाउने तथा घुम्ने सुविधा
प्रवेशद्वारमै प्रत्येक आगन्तुकलाई माछाको दानाको एक–एक पोका दिइन्छ। पोखरीमा दाना फाल्दा विभिन्न आकारका ट्राउट माछाहरू, हासहरु एकै ठाउँमा झुम्मिएको दृश्य हेर्न निकै मनोरञ्जनात्मक हुन्छ। पोखरीहरूका बीचमा बस्ने ठाउँहरू पनि बनाइएका छन्। ती स्थानमा घरबाटै लगेको खाना खाँदै परिवारसँग शान्त वातावरणमा रमाउन सकिन्छ।

तस्बिरहरु : शिवकुमार गुरुङ

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!