लन्डन — पूर्व गोर्खा सैनिक तथा विश्वकीर्तिमानी आरोही हरि बुढामगरलाई पहिलो ‘इन्भिक्टस रेजिलेन्स अवार्ड’ प्रदान गरिएको छ। बेलायती राजकुमार ह्यारीद्वारा स्थापित इन्भिक्टस गेम्स फाउन्डेसनले लन्डनमा आयोजना गरेको पहिलो ‘इन्भिक्टस स्पिरिट अवार्ड्स’ समारोहमा बुढामगरलाई उक्त सम्मान दिइएको हो। अवार्ड ग्रहण गर्दै बुढामगरले जीवनका चुनौती सामना गर्न सम्मानले थप प्रेरणा दिएको बताए।

उनले आफूलाई आफ्नो भाग्यको निर्माता र आत्माको नायक भएको बताउँदै, “म इन्भिक्टस हुँ र हामी सबै मिलेर इन्भिक्टस हौँ,” भने। समारोहसँगै आयोजित च्यारिटीबाट १६ लाख पाउण्डभन्दा बढी रकम सङ्कलन भएको फाउन्डेसनले जनाएको छ। उक्त रकम २६ देशका घाइते तथा बिरामी सेवारत र पूर्वसैनिकहरूको पुनःस्थापना तथा आत्मबल अभिवृद्धिमा प्रयोग गरिने जनाइएको छ। पूर्व रोयल गोर्खा राइफल्सका कर्पोरल बुढामगरले सन् २०१० मा अफगानिस्तानमा युद्धका क्रममा दुवै खुट्टा गुमाएका थिए।

सन् २०२३ मा उनले दुवै खुट्टा घुँडाभन्दा माथिबाट गुमाएका व्यक्तिका रूपमा पहिलोपटक सगरमाथा आरोहण गरी कीर्तिमान कायम गरेका थिए। उनले विश्वका सातै महादेशका सर्वोच्च शिखर आरोहण गर्ने ‘सेभेन समिट्स’ अभियान पूरा गरेका छन्। यस अभियानमार्फत उनले अपाङ्गता भएका व्यक्तिप्रतिको सामाजिक दृष्टिकोण परिवर्तन गर्नसमेत योगदान दिँदै आएका छन्। समारोहमा इन्भिक्टस गेम्स फाउन्डेसन, अस्ट्रेलिया तथा सन् २०२७ मा बर्मिंघममा आयोजना हुने इन्भिक्टस गेम्सका प्रतिनिधिलगायत विभिन्न देशका अतिथिहरूको सहभागिता थियो।







