काठमाडौं । तमु धीं बेलायतका अध्यक्ष जुमकाजी गुरुङसहितको टोलीले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङसँग काठमाडौंमा भेटघाट गरेको छ। नेपाल बसाइको अन्तिम दिन काठमाडौं म्यारियट होटल, नक्सालमा भएको भेटमा पार्टीका सचिव तथा कोषाध्यक्षको पनि सहभागिता थियो।

भेटका क्रममा २०२५ मा तमु धीं बेलायतले आयोजना गरेको १६औँ नेपाली मेलामा सहभागी भएकोमा घिसिङलाई धन्यवाद दिइएको थियो। साथै, नेपालको समसामयिक राजनीति, विदेशमा रहेका नेपालीको नागरिकता, विदेशी लगानी र ऊर्जा क्षेत्रबारे विचार आदानप्रदान भएको थियो।
अध्यक्ष घिसिङले विदेशमा रहेका नेपाली तथा उनीहरूका सन्तानको वंशजको नागरिकताको निरन्तरताका विषयमा आफ्नो पार्टीले आवाज उठाउँदै आएको बताउनुभयो। उहाँले जलविद्युत्, सौर्य ऊर्जा, चार्जिङ स्टेसन र डेटा सेन्टरलगायत क्षेत्रमा लगानीको सम्भावना रहेको उल्लेख गर्नुभयो।
नेपालमा विद्युत् आपूर्ति सहज हुँदै विद्युत् निर्यात गर्न सक्ने अवस्था बन्नु महत्वपूर्ण उपलब्धि भएको बताउँदै घिसिङले रसुवा बाढीका कारण जलविद्युत् आयोजनामा परेको क्षतिबारे पनि चर्चा गर्नुभयो।
भेटको अन्त्यमा तमु धीं बेलायतले सन् २०२७ मा आयोजना गर्ने २५औँ गोर्खा कप तथा स्वर्ण महोत्सवमा सहभागी हुन घिसिङलाई निमन्त्रणा दिएको छ। कार्यक्रममा आपसी सहकार्य, सामाजिक योगदान र प्रवासमा रहेका नेपाली समुदायका विषयमा समेत छलफल भएको थियो।






