बेलायतवासी आचार्य र नेपालद्वारा डीएनए परीक्षण उपकरण र एक करोड सहयोग

SHARE:

लन्डन । भोटेकोशी–त्रिशूली विपत्तिपछि पहिचान हुन बाँकी व्यक्तिहरूको पहिचान प्रक्रियालाई प्रभावकारी बनाउन गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष कुल आचार्य र उत्तम नेपालले नेपाल सरकारलाई दुई सेट डीएनए परीक्षण उपकरण हस्तान्तरण गरेका छन्। उत्तम नेपालले यससँगै एक करोड रुपैयाँसमेत हस्तान्तरण गरेका छन्।

कात्तिक ९ गते सोमबार परराष्ट्रमन्त्री शिशिर खनालको उपस्थितिमा परराष्ट्र मन्त्रालयमा आयोजित विशेष समारोहमा QIAGEN TissueLyser III प्रणालीका दुई पूर्ण सेट सरकारलाई हस्तान्तरण गरिएको आचार्यले जानकारी दिएका छन्। मन्त्रालयका अनुसार नेपालमा परीक्षण हुन बाँकी रहेका झन्डै आठ हजार डीएनए नमुनाको परीक्षण गर्न यी उपकरण उपयोगी हुनेछन्। उपकरणमार्फत नमुनाको परीक्षण प्रक्रिया अघि बढाइने र विपत्तिपछि पहिचान हुन नसकेका व्यक्तिहरूको पहिचानमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

हस्तान्तरण गरिएका उपकरण नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला वा खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामार्फत सञ्चालनमा ल्याउने अपेक्षा गरिएको आचार्यले बताएका छन्। उक्त अवसरमा गैरआवासीय नेपाली नागरिकता, एनआरएन कार्डलगायत गैरआवासीय नेपाली समुदायसँग सम्बन्धित विभिन्न विषयमा परराष्ट्रमन्त्रीसमक्ष आफ्ना धारणा र अपेक्षा प्रस्तुत गरिएको पनि उनले जनाएका छन्।

आचार्यका अनुसार मन्त्रीले चालु आर्थिक वर्षभित्रै गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनका लागि आवश्यक कानुनी आधार तयार गर्न सरकारले काम गरिरहेको जानकारी दिएका थिए। यसले विश्वभर रहेका नेपाली समुदायमा सकारात्मक आशा जगाएको उनले बताएका छन्।

डीएनए परीक्षण उपकरण नेपालसम्म ल्याउन तथा मन्त्रालयमा हस्तान्तरण कार्यक्रम आयोजना गर्न पहल, सहयोग र समन्वय गरेकोमा आचार्यले मन्त्री विदुषी राणाप्रति आभार व्यक्त गरेका छन्।

उनले यस मानवीय अभियानमा सहयोग र मार्गदर्शन गर्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) का अध्यक्ष धर्म उप्रेती, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतो, नेपाल सरकारका सम्बन्धित अधिकारी, गैरआवासीय नेपाली तथा अन्य सरोकारवालालाई पनि धन्यवाद दिएका छन्।

विश्वभर छरिएर रहेका नेपालीको सद्भाव, सहयोग र एकताले विपत्तिमा परेका नेपालीलाई सहयोग गर्ने साझा प्रतिबद्धता थप मजबुत बनाएको उल्लेख गर्दै आचार्यले नेपाल र नेपालीको सेवामा सहकार्य निरन्तर रहने बताएका छन्।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!