बेलायत – विश्व नेपाली साहित्य महासंघ (विनेसाम) पश्चिमा शाखा बेलायतको बैठक आइतबार, २५ अक्टोबर २०२६ मा जुम मार्फत सम्पन्न भएको छ।
उक्त बैठक विनेसाम पश्चिमा शाखा बेलायतको आयोजनामा आउँदो शनिबार, ३१ अक्टोबर २०२६ मा हुन गइरहेको “प्रथम भेटघाट तथा सिर्जना वाचन कार्यक्रम” को पूर्वतयारीका लागि डाकिएको थियो।
नेपाली भाषा, कला र साहित्यको प्रवर्धनका साथै डायस्पोरामा रहेका नेपालीहरूबीच आपसी भाइचारा र साहित्यिक सम्बन्ध सुदृढ बनाउने उद्देश्यले यो कार्यक्रम आयोजना गर्न लागिएको हो।
बैठकले आगामी कार्यक्रमलाई व्यवस्थित रूपमा सम्पन्न गर्नका लागि औपचारिक कार्यक्रम सञ्चालन, स्वागत मन्तव्य, अवधारणा पत्र प्रस्तुति, नवनियुक्त सल्लाहकारहरूको स्वागत तथा सिर्जना वाचन लगायतका विभिन्न व्यवस्थापकीय जिम्मेवारीहरू बाँडफाँड गरेको छ।
आगामी ३१ अक्टोबरको कार्यक्रम अध्यक्ष गोमा राना मगरको अध्यक्षतामा हुनेछ। कार्यक्रममा संस्थाकी संरक्षक डा. सुमाया राईलाई प्रमुख अतिथिका रूपमा र संस्थाका संस्थापक अध्यक्ष एवं प्रमुख सल्लाहकार लालसुन्दर राईलाई विशेष अतिथिका रूपमा आमन्त्रण गरिएको छ।
कार्यक्रममा विनेसाम पश्चिमा बेलायत शाखाका तथा आमन्त्रित स्रष्टा, कवि एवं साहित्यकारहरूले आफ्ना उत्कृष्ट रचनाहरू वाचन गर्नेछन्।
संस्थाकी अध्यक्ष गोमा राना मगरले बेलायतमा रहनुहुने सम्पूर्ण नेपाली भाषा-साहित्य प्रेमी, बुद्धिजीवी तथा समुदायका महानुभावहरूलाई उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्नुभएको छ।
अध्यक्ष गोमा राना मगरको अध्यक्षतामा सम्पन्न उक्त जुम बैठकको सञ्चालन सचिव गङ्गा भण्डारीले गर्नुभएको थियो।






