लन्डन । पुन मगर समाज यूकेले मृगौला पीडित पूर्णबहादुर खोरजा (प्रमोद खोरजा पुन मगर) को उपचारका लागि एक लाख ५५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।
बेलायतमा सङ्कलित रकममा एक लाख ५० हजार रुपैयाँ र पाँच हजार रुपैयाँ गण पुनले सहयोग गरेका हुन् । नेपाल पुन मगर समाज केन्द्रीय समिति र पुन मगर समाज यूकेका प्रतिनिधि गण सरले संयुक्त रूपमा पोखरास्थित आस्था अस्पतालमा पुगेर पीडितलाई उक्त रकम हस्तान्तरण गरेको समाजले जनाएको छ।
समाजले पीडितको शीघ्र स्वास्थ्यलाभको कामनासहित सहयोग रकम उपलब्ध गराएको हो।
हालै नेपालमा आएको भारी वर्षाका कारण म्याग्दी, पर्वत, कास्की र बागलुङ जिल्लाहरूका विभिन्न क्षेत्रका पुन मगर बस्तीहरूमा भएको क्षतिबाट प्रभावित परिवारहरूको सहयोगार्थ पुन मगर समाज यूकेले सहयोग संकलन गरेको थियो । यही विपतसँगै पर्वत सालिजाका पूर्णबहादुर खोरजा पुन मगरलाई मृगौलाको उपचारका लागि आर्थिक अभाव भन्दै संकलित रकममा केही अंश छुट्ट्याउने घोषणा गरिएको थियो ।






