लन्डन । तमु धीं यूकेको नयाँ कार्यसमिति चयन गर्न एकेन्द्र गुरुङको नेतृत्वमा निर्वाचन समिति गठन गरिएको छ। आगामी १२ डिसेम्बरमा हुने संस्थाको साधारणसभा तथा अधिवेशनसँगै नयाँ नेतृत्व चयन गरिनेछ।
निर्वाचन समितिमा प्रमुख निर्वाचन आयुक्त एकेन्द्र गुरुङ तथा सदस्यहरू मेजर (अवकाशप्राप्त) कृष्ण गुरुङ र धनबहादुर गुरुङ रहेका छन्।
निर्वाचन समितिले निर्वाचन कार्यतालिकासमेत सार्वजनिक गरिसकेको छ। तमु धीं यूकेले जारी गरेको सूचनाअनुसार बेलायतको मिचेटस्थित तमु धीं भवनमा बिहान ११ बजेदेखि साधारणसभा हुनेछ भने सोही दिन अपराह्न ४ बजेदेखि निर्वाचन प्रक्रिया सुरु हुनेछ।
कार्यतालिकाअनुसार मतदाता नामावली डिसेम्बर ३ मा प्रकाशन गरिनेछ। मतदाता नामावलीमाथि दाबी–विरोध, उम्मेदवारी मनोनयन तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशनलगायतका प्रक्रिया डिसेम्बर ४ र ५ मा सम्पन्न गरिने सूचनामा उल्लेख छ।
निर्वाचनमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष, खेलकुद विभाग प्रमुख तथा अन्य सदस्य पदका लागि प्रतिस्पर्धा हुनेछ। उम्मेदवार बन्न इच्छुक व्यक्तिले एक जना प्रस्तावक र एक जना समर्थकको हस्ताक्षरसहित मनोनयन फाराम भरी तोकिएको उम्मेदवारी शुल्क बुझाउनुपर्नेछ।
तमु धीं यूकेले संस्थालाई थप सुदृढ र समृद्ध बनाउने उद्देश्यले साधारणसभा तथा निर्वाचनमा सहभागी हुन सम्पूर्ण तमु समुदायलाई आग्रह गरेको छ। तमु धीं यूकेमा प्राय: सहमतिमा नेतृत्व चयन हुँदै आएको छ । वर्तमान अध्यक्ष जुमकाजी गुरुङ छन् ।
निर्वाचन तालिका







