लन्डन । लमजुङको क्व्होलासोथार गाउँपालिका–३, घलेगाउँ निवासी ८५ वर्षीय जमदार लिलबहादुर घलेको निधन भएको छ।
पूर्वप्रधानपञ्च घलेको निधन भएको बुधबार लमजुङका पत्रकार आश गुरुङले जनाएका छन् । बहुदलीय व्यवस्था पुनःस्थापनापछि उहाँले तत्कालीन उत्तरकन्या गाउँ विकास समितिमा नेपाली कांग्रेसको सभापतिको जिम्मेवारी लामो समयसम्म सम्हाल्नुभएको थियो।
कृष्ण चरित्र र सेर्गा गुरुका रूपमा समेत परिचित घले इतिहाससम्बन्धी ज्ञानका लागि पनि चिनिनुहुन्थ्यो। घलेगाउँको पर्यटन विकासमा उहाँले महत्त्वपूर्ण योगदान पुर्याउनुभएको थियो। सोही योगदानको कदर गर्दै घलेगाउँमा आयोजित एक कार्यक्रममा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट उहाँ सम्मानित हुनुभएको थियो।
को हुनुहुन्छ समाजसेवी जमदार लीलबहादुर घले ?
लील बहादुर घले (वि.सं. १९९८) मा प्राकृतिक एवं सांस्कृतिक सम्पदाहरूले भरिपूर्ण नमुना घले गाउँको उन्नति, प्रगति र विकास गर्ने सन्दर्भमा एक नमेटिने जीउदो व्यक्तित्व हुनुहुन्छ । विशेषगरी लील बहादुर घले, घले गाउँबासी एवं सबैजनाले सम्झिरहनु पर्ने जल्दोबल्दो नाउँ हो । घलेगाउँको सामाजिक र सांस्कृतिक विकासमा उहाँको योगदानलाई बिर्सन सकिन्न । वि.सं. १९९८ साल असार १७ गतेका दिन लील बहादुर घलेको जन्म क्व्होलासोथार गाउँपालिका वडा नं. ४, घले गाउँमा भएको हो । घलेका बाबुको नाम कृष्ण घले र आमाको नाम खोरानी घले हो । उहाँले बाल्यकाल आफ्नै गाउँघर र बेसी गरी खेल्दै रमाइदै विताउनुभयो । विशेषगरी वि.सं. (२०४३–२०४६) सम्म घले गाउँमा धारा, कुवा, मन्दिर, स्कुल, ठाँटीघर, बाटोघाटो, चौतारी, पाटीपौवा, पुलपलेसो, वनजङ्गल सीमाना आदि क्षेत्रमा उहाँको योगदान रहेको थियो । किशोर अवस्थामा उहाँ काठमाडौंमा जानुभएर केही वर्षसम्म अध्ययन गर्नुभएको थियो । काठमाडौं अध्ययनमा हुँदा साँवा अक्षर, बाह्रखरी, ठूलो वर्णमाला, राहधानी, मञ्जुरीनामा पत्र, औँठा छापा, हिसाब आदि जानिसक्नुभएको थियो. यस पश्चात् उहाँ गाउँ फर्कनुभयो ।
लील बहादुर घलेका पुर्खा मुँ क्यालपो राजा क्ले पोंचोको कोइम्लीको अन्तिम राजा थिए । घले वंशावली अनुसार घले जातिको पुर्खा चेडेक्ले नम्रचुक्याल्साका राजा थिए । इतिहासका विभिन्न कालखण्ड अन्तर्गत गण्डकी प्रदेशका चौबीसे राज्य रजौटहरूमा क्पालबुरूजु क्ले म्रुँ (राजा) एक शक्तिशाली र पराक्रमी थिए भनिन्छ ।
लील बहादुर घले सन् १९६१ अक्टोबर, ५ तारिखका दिन ५ गोर्खा राइफल्समा भर्ती हुनुभएको थियो । पल्टनमा उहाँले विभिन्न तालिमहरू लिनुभएको थियो । सबै साहेबहरूको प्यारो र आज्ञाकारी भएका कारण उहाँले जमदार पदवीसम्म प्राप्त गर्नुभएको थियो । पल्टनमा खेलकुदमा भाग लिने, परेड खेल्ने, दौडने, सांस्कृतिक कार्यक्रमहरूमा भाग लिने गर्नुहुन्थ्यो । छुट्टीमा गाउँमा फर्किदा बाबु आमाको सेवा गर्ने र परिवारका सेवा गर्नेका साथै रेडियो बजाउने, टेपर्कडर बजाउने आदि गर्नुहुन्थ्यो । उहाँले २२ वर्षसम्म पल्टनमा सेवा गर्नुभयो ।
घले गाउँको उत्थान र समृद्धिका लागि हरसमय काममा लागिपर्ने एक समर्पित समाजसेवी लील बहादुर घलेको नाउँ बिर्सिन सकिन्न । उहाँले समाजसेवामा आफ्नो पसीना खर्चेका कारण घलेगाउँ, बगुम, खगुम र फुलम्रोवासीहरूले अझै बडो आदरका साथ लिने गरिन्छ. जीवनभर नै समाजसेवी, नाचगान, कृष्णचरित्र, घाँटु, नाटक, गुरूङ चलचित्र, रोधी गीत आदि क्षेत्रमा लागि पर्नुभएको थियो । भाषा, कला, संस्कृति विकासका लागि घलेगाउँमा उहाँले पोख्नु भएको पसीनाका थोपाहरू अमृत समान बनेको देखिन्छ ।
मूलतः पञ्चायती कालमा वि.सं. (२०४३-२०४६) सम्म प्रधान पञ्चको कार्यकाल उहाँले सफलतासाथ कार्यभार सम्हाल्नु भएको थियो । उहाँको योगदानलाई मूल्याङ्कन गरेर हेर्दा नमुना घले गाउँको विकास र समृद्धिको पूर्वाद्धकाल अथवा पूर्वाधार निर्माण काल मान्न सकिन्छ र वि.सं. २०४६ सालको प्रजातन्त्रको पुनर्स्थापना पश्चात पनि उहाँ घलेगाउँ ग्रामीण पर्यटन व्यवस्थापन समितिका अध्यक्ष भई सेवा गर्नुभएको थियो । वि.सं. २०५७ सालमा उहाँले कृष्ण चरित्र लीलाहरूको गीतसंग्रह पुस्तिका प्रकाशनमा ल्याउनु भएको देखिन्छ । यस मानेमा उहाँ एक खोज अनुसन्धानमा लीन व्यक्तित्व हुनुहुन्छ । आफ्नो पेताँ ल्हुँ ताँ भनेपछि हुरुक्क हुने संस्कृति प्रेमी घलेले गुरूङ संस्कृति र इतिहास सम्बन्धी धेरै कुराहरू डा. जगमान गुरूङलाई समेत वृतान्त सुनाउनु भएको थियो ।
उहाँले पर्यटकीय गाउँ सिरूबारी, घान्द्रुक, धम्पुस, ल्वाड्घलेल आदि स्थापनाको अवलोकन भ्रमण गर्नुभएको छ । उहाँले भू.पू. पेन्सनवालाको पेन्सनसम्बन्धी मुद्दामा धेरै पहल गर्नुभएर सेवा गर्नुभएको थियो । लील बहादुर घलेले आफ्नी स्व.धर्मपत्नी नरकासी घलेको प्यारो मायाले छोरा सुशिल घले, छोरीहरू पूर्णकासी घले, रत्न कासी घले र तक्त कासी घलेलेई हुर्काउनु भएको थियो । आफ्नी स्व.धर्मपत्नी नरकासी घलेको स्वर्गारोहणमा उहाँ ज्यादै स्तब्ध हुनुभएको थियो । उहाँका दुई दाजुहरू र दुई दिदीबहिनी थिए । घले दाजुभाइहरूमा सबैभन्दा कान्छो छोरा हुनुहुन्छ ।
लील बहादुर घलेले पल्टनमा प्राप्त गर्नुभएका तक्माहरूमा सैन्य पदक, सामान्य सेवा पदक, सैन्य दीर्घ सेवा पदक आदि हुन् । झ्याउरे गुरु, गुरुङ चलचित्रका अभिनेता एवं सबैजनाका सहयोगी समेत हुनुहुन्छ ।
जीवनको उत्तरार्धमा पुगिसक्नु भएका घले हाल आएर कान कम सुन्ने र हिडडुल गर्न पनि मुसकिल भएको देखिन्छ । चार दशक भन्दा बढी घलेगाउँको लागि त्याग र समर्पण वास्तवमा अमूल्य सावित भएको छ । गुरूङ, नेपाली र हिन्दी भाषा बोल्न सिपालु घलेका आगामी दिनहरूमा अझ राम्रा पुस्तकहरू प्रकाशन हुने आशा राख्न सकिन्छ । उहाँको उदारणयोग्य कार्यको सबैजानाले सराहना गरिदिनुपर्छ । एउटै व्यक्ति भएर पनि अनेक थोक कार्य गर्न सक्ने मिलनसार सहृदयी र चेतनशील व्यक्तित्व हुनुहुन्छ ।






