लन्डन । कविता सुनाउनका लागि भीड चाहिँदैन, एउटा सच्चा मन भए पुग्छ भन्ने प्रमाणित गरेका सशक्त कवि नरेश काङमाङ राई अब बेलायतको मञ्चमा उभिँदैछन्।
इकोच अफ पर्वतको आयोजनामा हुन गइरहेको कविता वाचन कार्यक्रम २२ नोभेम्बर २०२६, आइतबार गोडिन्टन भिलेज हल, लाउडन वे, आशफोर्ड, केन्टमा हुने छ । दिउँसो १३ बजेबाट हुने कविता वाचन कार्यक्रममा संगीत संयोजन वीरचन्द्र राई उर्फ (वीसी राई) (गीटारको धुनद्वारा कवितालाई जीवन्त बनाउने) को रहने छ ।
नेपालमा एकल कविता वाचन गर्नु सामान्य आँट होइन। सामूहिक कार्यक्रममा केही मिनेट कविता सुनाउनु र दुई घण्टा एक्लै मञ्च धान्नु आकाश-जमिनको फरक हो। तर, कवि नरेश काङमाङ राईले यसअघि नै नेपालका ११ वटा फरक-फरक ठाउँमा (इलामको फिक्कल र बजार, झापाको दमक र भिल्लभिल, धरान, भरोल सुनसरी, धनकुटा, भोजपुर बजार र पाल्तेपानी, दिक्तेल तथा काठमाडौं) एकल कविता वाचन सफलतापूर्वक सम्पन्न गरिसकेका छन् ।
पूर्वको काखदेखि राजधानीको मुटुसम्म दर्शकको मन जितेका उनको यो यात्रा अब बेलायतको आशफोर्डमा १२ औँ अध्यायको रूपमा थपिँदैछ। कविता र संगीतको यो संगमले आशफोर्डलाई एकैक्षण भोजपुरको नागी, युद्धभूमिको मैदान र इलामको डाँडासम्म पुर्याउने अपेक्षा लिइएको छ ।
आयोजक ‘इकोच अफ पर्वत’ ले बेलायतमा रहने सम्पूर्ण साहित्यप्रेमी, गोर्खा परिवार, पूर्वसैनिक, विद्यार्थी तथा आदरणीय महानुभावहरूलाई कार्यक्रममा उपस्थित भई भव्य रूपमा सफल पार्न हार्दिक अनुरोध गरेको छ।
को हुन् कवि नरेश काङमाङ राई ?
साहित्यमा ‘काङमाङ नरेश राई’ का रूपमा परिचित उहाँको वास्तविक नाम नरेश मणि राई हो।
जन्मभूमि: टेम्के मैयुङ गाउँपालिका, नागी ४, भोजपुर
माता/पिता: कृष्ण कुमारी राई र कृष्ण बहादुर राई
परिवार: जीवनसंगिनी सीमा राई तथा सन्तानहरू स्वाभिल राई र स्वानिम राई
भोजपुर नागीको हरियो डाँडामा हुर्किएका राई सन् २००० मा बेलायती सेनामा भर्ना हुनुभयो र सन् २०१२ मा अवकाश लिनुभयो। सेनाको अनुशासन, युद्धको कठोर यथार्थ र प्रवासको एक्लोपनले उहाँको कलमलाई अझ धारिलो बनायो। उहाँले २०४५ सालदेखि नै लेखन थाले पनि बन्दुकको छेउमा उभिएर भोगेकै जीवन नै उहाँका कविताहरूको मुख्य ऊर्जा बनेको छ।
प्रकाशित कृतिहरू : कवितादेखि इतिहाससम्म
कवि राईका अहिलेसम्म १० वटा महत्वपूर्ण कृतिहरू प्रकाशित भइसकेका छन्:
कविता संग्रहहरू: आँशुको दोभान (२०६१), अनुहारमा लुकाइएका चोटहरू (२०६२), पप्पी फूल (२०७४), तेप्सायु (२०७८)
कथा र उपन्यास: युद्ध बोकेको सिताङ – युद्ध उपन्यास (२०६८), खुकुरीको धारमा लाहुरेको युद्ध कथा र व्यथाहरू (२०७१), एघार नोभेम्बर – कथा संग्रह (२०७६)
इतिहास र संस्कृति: फियरलेस वरियर (सन् २०१५, ओलम्पिया युके), साखुङवारा किरात राई २२ भाषीहरूको जन्मदेखि मृत्यु संस्कार (२०७७), पानी पतिया गोर्खा सैनिकको इतिहास (२०८१)
विशेष गरी ‘पानी पतिया गोर्खा सैनिकको इतिहास’ ले गोर्खा सैनिकको गौरवशाली तर ओझेलमा परेको इतिहासलाई दस्तावेजमा कैद गर्दै एउटा जातिको आत्मकथा नै तयार पारेको छ।
विशिष्ट सम्मान र पुरस्कारहरू
उहाँको साहित्यिक साधनालाई राज्यदेखि प्रतिष्ठित संस्थाहरूले कदर गरेका छन्:
कवि विमल गुरुङ कृति पुरस्कार (२०७८)
नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रज्ञा अन्तर्राष्ट्रिय पुरस्कार (२०८२)
मनमाया बान्तवा स्मृति प्रतिष्ठानद्वारा स्रष्टा सम्मान पुरस्कार (२०८१)
उर्वरा फाउण्डेशनद्वारा सम्मान (२०७८)
त्रि-चन्द्र मल्टिपल क्याम्पसद्वारा मानार्थ सदस्यता तथा सम्मान (२०१६)
अन्नपूर्ण बाररा मा.वि. सम्मान (२०८०)
साहित्यिक संस्था र सम्पादनमा योगदान
लेखनका साथै उहाँले नेपाली साहित्य र संस्थाहरूको संस्थागत विकासमा महत्वपूर्ण भूमिका खेल्नुभएको छ:
संस्थापक/अभियन्ता: पहिचान पुरस्कार (संस्थापक, २०१५), भोजपुर प्रतिभा प्रतिष्ठान (संस्थापक सचिव, २००८), युद्ध साहित्य पुरस्कार (संस्थापक मध्ये एक, २०२१), कृष्ण बहादुर काङमाङ राई स्मृति प्रतिष्ठान (संस्थापक सचिव, २०८३), नव प्रतिभा युवा क्लब नागी फुटबल ग्राउण्ड (निर्माण अभियन्ता, २००९) तथा प्रतिभा प्रतिष्ठान बेलायतका संस्थापक सचिव।
सम्पादित कृतिहरू: सीमाहीन बिम्बहरू, ग्रीनविचका प्रतिध्वनीहरू, युद्धमा हराएको प्रेम, गोर्खा वार पोयम (युके), युद्ध साहित्य र सिद्धान्त, गोर्खा सत्याग्रह, गुरिल्ला गर्ल, गोर्खा गन लगायत। साथै, ‘ग्रीनवीच टाईम्स’ म्यागाजिन (२०१२-२०१४) को कार्यकारी सम्पादक भएर समेत काम गर्नुभएको छ।
भूमिराज राई






