अल्डरसट । बेलायतमा बसोबास गर्दै आएका भूतपूर्व गोर्खा सैनिक तथा उनीहरूका परिवारका आमाबुबालाई लक्षित गर्दै ग्रेटर रसमुर नेपाली कम्युनिटी (जीआरएनसी) अन्तर्गत सञ्चालित ‘वेलेस्ले कम्युनिटी गार्डेन’ औपचारिक रूपमा उद्घाटन गरिएको छ ।
शनिबार आयोजित विशेष कार्यक्रममा रसमर बोरो काउन्सिलका मेयर पिटर कालम र जीआरएनसीकी अध्यक्ष लिला सेलिङ माबोले संयुक्त रूपमा रिबन काटेर गार्डेनको उद्घाटन गरेका हुन् । भूतपूर्व गोर्खा आमाबुबाले आफ्नो सीप, अनुभव र जाँगरलाई सदुपयोग गर्दै खेतीपाती गर्ने, फलफूल, सागसब्जी तथा मौसमी फूल उत्पादन गर्ने अवसर प्रदान गर्नुका साथै फुर्सदको समय कुटो कोदालो चलाउँदै साथीभाइसँग रमाइलो गरी बिताउन सकून् भन्ने उद्देश्यले उक्त सामुदायिक बगैँचा स्थापना गरिएको हो।
कार्यक्रमको सुरुवात बौद्ध धर्मगुरु अमृत गुरुङ तथा हिन्दू मन्दिरका गुरुङ मनसुधनबाट विधिपूर्वक पूजापाठ गरी गरिएको थियो। कार्यक्रमको सञ्चालन जीआरएनसीका महासचिव लेफ्टिनेन्ट सुनील रानाले गरेका थिए ।
कार्यक्रममा बगैँचा स्थापनाको सुरुदेखि नै नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका युवा समाजसेवी डा. विशाल गुरुङले आफ्नो धारणा राखे । उनले यस जिम्मेवारीलाई अगाडि बढाउन पाउँदा खुसी लागेको बताउँदै अल्डरसट आसपास बसोबास गर्ने नेपाली आमाबुबाको मानसिक तथा शारीरिक स्वास्थ्यमा सकारात्मक योगदान पुर्याउनुका साथै उनीहरूले गाउँघरमा सिकेको परम्परागत सीप र अनुभवलाई पुनः उपयोग गर्ने अवसर यस बगैँचाले प्रदान गर्ने विश्वास व्यक्त गरे । उनले कार्यक्रममा उपस्थित अल्डरसटका सम्पूर्ण अग्रज व्यक्तित्वहरूलाई सम्बोधन गर्दै यस अभियानलाई सफल बनाउन सबैको साथ, सहयोग र सहभागिताको अपेक्षा गरे ।
प्रमुख अतिथि मेयर पिटर कालमले यस किसिमको सामुदायिक पहलको प्रशंसा गर्दै ज्येष्ठ नागरिकहरूलाई सक्रिय, स्वस्थ र सामाजिक रूपमा जोडिराख्न सामुदायिक बगैँचाले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
कार्यक्रमको अन्त्यमा संस्थाका अध्यक्ष लीला सेलिङ माबोले उपस्थित सम्पूर्ण अतिथि, धर्मगुरु, अग्रज व्यक्तित्व तथा सहयोगीहरूलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरे ।






