क्याम्बरली नेप्लिज गोर्खा एसोसिएसन युके प्रतिष्ठित ‘किङ्स अवार्ड’ बाट सम्मानित

SHARE:

बेलायत । बेलायतको सरे काउन्टीअन्तर्गत क्याम्बरलीमा सक्रिय सामाजिक संस्था ‘क्याम्बरली नेप्लिज गोर्खा एसोसिएसन युके’ (सिएनजिए) ले बेलायतको प्रतिष्ठित सम्मान ‘किङ्स अवार्ड फर भोलुन्टरी सर्भिस’ प्राप्त गरेको छ। बेलायतका राजा चार्ल्स तृतीयको जन्मदिनको अवसरमा संस्थालाई यो सम्मान प्रदान गरिएको हो। उक्त ऐतिहासिक उपलब्धिका अवसरमा संस्थाले स्याम्पेन फोरेर हर्षोल्लासका साथ उत्सव मनाएको छ।

शनिबार, १४ नोभेम्बर २०२६ का दिन क्याम्बरलीस्थित कोचमेन कटेज लर्निङ सेन्टरमा आयोजित एक विशेष समारोहका बीच सिएनजिएका अध्यक्ष मेजर गणेश गुरुङले अवार्ड प्राप्त भएको औपचारिक जानकारी दिनुभएको हो।

स्वयंसेवी सेवाको क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने स्थानीय संस्थाहरूलाई प्रदान गरिने यो अवार्ड बेलायतको प्रतिष्ठित ‘एमबिई’ सरह मानिन्छ। बेलायतको च्यारिटी कमिसनमा दर्ता भई परोपकारी संस्थाका रूपमा क्रियाशील सिएनजिएले स्थापनाकालदेखि नै निस्वार्थ स्वयंसेवी कार्य गर्दै आएको संस्थाका ट्रस्टी मेजर टेक गुरुङले बताउनुभयो।

सन् २००३ मा ‘क्याम्बरली नेप्लिज (गोर्खा) सोसाइटी’ का नाममा स्थापना भएको यस संस्थाले क्याम्बरली र सरेहीथ क्षेत्रमा बसोबास गर्ने नेपाली परिवार तथा समुदायलाई एकताबद्ध गर्दै आएको छ। नेपाली कला, संस्कृति र परम्पराको संरक्षण गर्नुका साथै स्थानीय बेलायती समाजमा नेपाली समुदायको घुलमिल र सहअस्तित्व अभिवृद्धि गर्ने मुख्य उद्देश्यका साथ सुरु भएको यो अभियान सन् २०२६ मा औपचारिक परोपकारी संस्था (च्यारिटी) का रूपमा दर्ता भई थप विस्तार भएको हो।

लामो समयको निरन्तर सामाजिक सेवाका क्रममा संस्थाले समुदायलाई सल्लाह, परामर्श तथा कल्याणकारी सहायता प्रदान गर्ने आफ्नो क्षमतालाई अझ सुदृढ बनाउँदै लगेको छ। फलस्वरूप, संस्थाले स्थानीय बरो काउन्सिल, सरे काउन्टी तथा बृहत् स्थानीय बेलायती समुदायमाझ व्यापक पहिचान, विश्वास र समर्थन हासिल गर्न सफल भएको छ।

विशेषगरी ज्येष्ठ नागरिक, असहाय तथा जोखिममा रहेका व्यक्तिहरू र युवापुस्ताको सशक्तीकरणमा संस्थाले अग्रणी भूमिका निर्वाह गर्दै आएको छ। ज्येष्ठ नागरिकहरूको शारीरिक तथा मानसिक स्वास्थ्य र सामाजिक सक्रियताका लागि संस्थाले साप्ताहिक रूपमा अंग्रेजी कक्षा, स्वास्थ्य सचेतना सत्र, समसामयिक विषयमा छलफलसहितको ‘कफी आफ्टरनुन’ (चियापान भेटघाट), साधारण व्यायाम, ध्यान तथा स्थानीय पार्क र जङ्गलहरूमा सामुदायिक पदयात्राजस्ता सिर्जनात्मक कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। त्यसैगरी, युवापुस्तामा सामुदायिक एकता र आत्मविश्वास अभिवृद्धि गर्न वर्षभरि विभिन्न शैक्षिक तथा मनोरञ्जनात्मक गतिविधिहरू आयोजना गरिँदै आएको संस्थाका ट्रस्टी क्याप्टेन देव घलेले जानकारी दिनुभयो।

समुदायको आवश्यकतालाई मध्यनजर गर्दै संस्थाले हप्ताको सातै दिनजसो नियमित र व्यवस्थित कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। जसअनुसार प्रत्येक सोमबार अंग्रेजी कक्षा, मंगलबार स्थानीय पदयात्रा, बुधबार सिलाइकटाइ तथा बुनाइ कक्षा, र बिहीबार दिउँसो सामाजिक एवं शैक्षिक भेलाका साथै ‘ताई ची’ कक्षा सञ्चालन हुन्छ। यस्तै, शुक्रबार महिला सशक्तीकरणका लागि ‘मेनी ह्यान्ड्स’ सत्र र आइतबार बालबालिकाका लागि नेपाली कक्षा तथा ब्याडमिन्टन क्लब सञ्चालन हुँदै आएका छन्। यसका अतिरिक्त, प्रत्येक महिनाको पहिलो शनिबार लामो दूरीको विशेष पदयात्रासमेत आयोजना गर्दै आएको आमा समूहकी अध्यक्ष तुलसी घलेले जानकारी दिनुभयो।

सामुदायिक एकता, ज्येष्ठ नागरिकको सम्मान र स्वयंसेवी सेवामा संस्थाले पुर्‍याएको यही अतुलनीय योगदानको उच्च मूल्याङ्कन गर्दै बेलायती राजसंस्थाले सिएनजिएलाई ‘किङ्स अवार्ड’ बाट विभूषित गरेको हो।

सिएनजिएका अध्यक्ष मेजर गणेश गुरुङको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा अध्यक्ष गुरुङले नै स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव तेज सुनुवारले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। समारोहमा ट्रस्टीहरू मेजर टेक गुरुङ, मेजर हितमान गुरुङ, क्याप्टेन देव घले, लेफ्टिनेन्ट रने गुरुङ, डा. सुजाता राना मगर, आमा समूहकी अध्यक्ष तुलसी घले, उपाध्यक्ष रूपा गुरुङ लगायत स्थानीय निकायका अधिकारिहरुको विशेष उपस्थिति रहेको थियो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!