किरात बान्तावा रुङमाहाङ राईको केन्द्रीय भवन मङ्सिर ५ मा शिलान्यास हुने

SHARE:

काठमाडौँ । किरात बान्तावा रुङ्माहाङ राई केन्द्रीय वात्तोङ समितिको केन्द्रीय कार्यालय भवन यही मङ्सिर ५ गते सुनसरीको धरानमा शिलान्यास तथा ५७औँ स्थापना दिवस मनाइने भएको छ ।

“रगत र दूधको रक्षा गरौँ” भन्ने मूल नाराका साथ क्रियाशील समाजको यसै सिलसिलामा क्षेत्रीय समन्वय वात्तोङ समिति, काठमाडौँ उपत्यकाको आयोजना तथा इकाई वात्तोङ समिति काठमाडौँ उपत्यकाको सहकार्यमा ललितपुरको कुमारीपाटीस्थित युनाइटेड एकेडेमीमा समीक्षा बैठक सम्पन्न भएको छ। क्षेत्रीय समन्वय समिति तथा विदेश विभाग संयोजक वंश प्रभु राम राईको सभाध्यक्षतामा सम्पन्न बैठकले धरानस्थित केन्द्रीय भवन निर्माण अभियानलाई संस्थाको प्रमुख प्राथमिकतामा राख्दै आर्थिक स्रोत परिचालन र व्यवस्थापनका ठोस निर्णयहरू पारित गरेको छ।

बैठकमा प्रमुख अतिथि एवं केन्द्रीय सल्लाहकार वंश एकराज राईको अगुवाइमा संस्थाको वार्षिक मुखपत्र ‘दिवाहाङ बाखा’ को तेस्रो अङ्क विधिवत् विमोचन गरियो। सोही अवसरमा भवन निर्माण अभियानसम्बन्धी ब्रोसरसमेत सार्वजनिक गरिएको थियो। मुखपत्र तथा ब्रोसर प्रकाशनका लागि किरात बान्तावा रुङ्माहाङ राई बेलायत वात्तोङ समितिले आर्थिक सहयोग उपलब्ध गराएकोमा बैठकले विशेष कृतज्ञता व्यक्त गरेको छ।

भवन निर्माण अभियानमा उत्साह थप्दै इवास काठमाडौँ उपत्यकाका संस्थापक अध्यक्ष एवं समाजसेवी वंश राजेन्द्र बान्तावाले आफ्नो परिवारको तर्फबाट १० लाख ९५ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ। मुखपत्र ‘दिवाहाङ बाखा’ मा प्रकाशित वर्गीकरणअनुसार उहाँ ‘सम्पदा निर्माणकर्ता दाता’का रूपमा अभियानमा जोडिनुभएको हो।

ऐतिहासिक पृष्ठभूमि र सरकारी बजेटको पहल
समीक्षा बैठकमा केन्द्रीय वात्तोङ समितिका अध्यक्ष वंश नबिन कुमार राईले केन्द्रीय भवन निर्माणको पृष्ठभूमि, वर्तमान अवस्था र भावी कार्ययोजना प्रस्तुत गर्नुभयो। उहाँका अनुसार वि.सं. २०६८ सालमा इलाममा सम्पन्न चौथो राष्ट्रिय सम्मेलनका क्रममा तत्कालीन माननीय सभासद् स्व. छ्यामा राई (वंशरत्न किङ कमिसन मेजर स्व. बागधन राईकी धर्मपत्नी) ले धरान उपमहानगरपालिका–८, सभागृह मार्ग, भोटेपुलमा केन्द्रीय कार्यालय भवनका लागि निःशुल्क जग्गा प्रदान गर्नुभएको थियो। हाल सोही स्थानस्थित अग्रज वंश स्व. कीर्तिबहादुर राईको घरबाट केन्द्रीय कार्यालय सञ्चालन भइरहेको छ, जसको व्यवस्थापनमा वरिष्ठ केन्द्रीय सल्लाहकार वंश क्या. रामशेर राईको निरन्तर योगदान रहँदै आएको छ।

यसैगरी, भोजपुर जिल्ला क्षेत्र नं. २ बाट निर्वाचित कोशी प्रदेश सभा सदस्य वंश विनोद बान्तावाको विशेष पहलमा कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेटमा केन्द्रीय कार्यालय भवन निर्माणका लागि १० लाख रुपैयाँ विनियोजन भएको जानकारीसमेत बैठकमा गराइएको थियो।

गोदामचौरको ‘माङ्खिम’ पछि अब धरानमा केन्द्रीय भवन
ललितपुरको गोदावरी नगरपालिकास्थित गोदामचौरमा किरात रुङमाहाङ वंशको सामूहिक माङ्खिम यसअघि नै निर्माण सम्पन्न भइसकेको छ। संग्रहालयसहितको उक्त माङ्खिम किराती वंशहरूका लागि मात्र नभई अन्य जातजाति तथा शोध–अध्ययनकर्ताहरूका लागि समेत अवलोकन भ्रमण गर्न सकिने एक उत्कृष्ट र नमूना स्थलका रूपमा स्थापित भएको छ।

काठमाडौँ उपत्यकामा सामूहिक एकताको बलमा भव्य माङ्खिम निर्माण गरिएझैँ अब धरानमा बन्ने केन्द्रीय कार्यालय भवनलाई पनि वंशीय एकताको अर्को अनुपम नमूनाका रूपमा स्थापित गर्ने संकल्प लिइएको छ। बैठकमा केन्द्रीय सचिव वंश जीवन कुमार राईले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने इकाई सदस्य वंश ज्योति राज राईले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा पूर्वसचिव एवं गीतकार अमर बान्तु, चेली मीना कुमारी राई (गणेश), युनाइटेड एकेडेमीका संस्थापक डा. कविराज राई, पूर्वकेन्द्रीय सदस्य हरि कुमार राई, बेलायत वात्तोङ समितिका पूर्वअध्यक्ष दया सागर राई र रुङमाहाङ समाजका संस्थापक नन्दराज राई लगायतले भवन निर्माण अभियानलाई सफल बनाउन देश–विदेशमा छरिएर रहेका सम्पूर्ण बन्धु तथा छोरी–चेलीहरू एकजुट हुनुपर्नेमा जोड दिनुभयो।

मङ्सिर ५ र ६ गते धरानमा शिलान्यास तथा पूर्ण बैठक
समीक्षा बैठकले धरानस्थित प्राप्त जग्गामा प्राविधिक र कानुनी प्रक्रिया पूरा गरी निर्माण कार्यलाई तीव्रता दिने, आर्थिक कोष सङ्कलनलाई व्यवस्थित बनाउने र सरकारी निकायसँग थप समन्वय गर्ने निष्कर्ष निकालेको छ। आगामी २०८३ साल मङ्सिर ५ गते शनिबार समितिको ५७औँ स्थापना दिवसको अवसर पारेर संस्थापक अध्यक्ष वंशरत्न प्रेमकुमार बान्तावाको बाहुलीबाट मुन्दुमी विधिअनुसार केन्द्रीय कार्यालय भवनको शिलान्यास गरिने कार्यक्रम तय भएको छ। सोही दिन भवनको प्रस्तावित मास्टर प्लान (नक्सा) प्रस्तुतीकरण तथा कोष घोषणा र दाता सम्मान कार्यक्रम आयोजना हुनेछ। यसैगरी, मङ्सिर ६ गते आइतबार समितिको साङ्गठनिक पूर्ण बैठक (साधारण सभा) बसी भावी कार्ययोजना तथा अभियानको देश–विदेश प्रचार एवं शाखा परिचालनसम्बन्धी महत्त्वपूर्ण निर्णयहरू पारित गरिनेछ।

– भूमिराज राई

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!