काठमाडौं । रोजगारीका सिलसिलामा दक्षिण कोरिया पुगेका काभ्रेका धनबहादुर तामाङ (प्रितम लामा तामाङ) को सुतेकै अवस्थामा मृत्यु भएको छ।
काभ्रेको धुलिखेल नगरपालिका–१, देविटारका तामाङको गत शनिबार १४ नोभेम्बर २०२६ मा मृत्यु भएको हो। श्रीमतीलाई नेपाल पठाउन विमानस्थलसम्म पुर्याएर फर्किएका तामाङ आनसानस्थित एक साथीको कोठामा बसेका थिए। सोही क्रममा सुतेकै अवस्थामा उनको मृत्यु भएको हो।
बिहान अबेरसम्म नउठेपछि साथीहरूले हेर्न जाँदा उनी अचेत अवस्थामा भेटिएका थिए। त्यसपछि उनलाई अस्पताल पुर्याइएको थियो। अस्पतालले परीक्षणका क्रममा करिब ६ घण्टाअघि नै उनको मृत्यु भइसकेको जानकारी दिएको थियो । करिब ९ वर्षअघि कोरिया पुगेका तामाङ हाल ई-७ भिसामा कार्यरत थिए।
प्रितमको मृत्युबारे काभ्रे सम्पर्क समिति दक्षिण कोरियाले पनि औपचारिक जानकारी दिएको छ । उनी काभ्रे सम्पर्क समिति दक्षिण कोरियाका केन्द्रीय सदस्य समेत थिए ।
तामाङको पार्थिव शरीर नेपाल पठाउन आवश्यक रकम अपुग भएकाले काभ्रे सम्पर्क समिति दक्षिण कोरियाले नेपाल तामाङ घेदुङसँगको सहकार्यमा आर्थिक सहयोग संकलन अभियान सुरु गरेको जनाएको छ। ‘यस दुःखद घडीमा उहाँको पार्थिव शरीर जन्मभूमि नेपाल पुर्याउन र शोकसन्तप्त परिवारलाई सहयोग गर्न दक्षिण कोरियामा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी, संघसंस्था तथा शुभचिन्तकहरूमा स्वेच्छिक आर्थिक सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।,’
आर्थिक सहयोगका लागि बैंक विवरण :
Bank: Hana Bank (하나은행)
Account Number: 50691045305907
Account Holder: THAPA SUSHMA
केही जानकारीको लागि : 010-3008-0766 / 010-2185-5109 / 010-7612-9507
‘सानो सहयोगले पनि यो कठिन समयमा ठूलो सहारा प्रदान गर्न सक्छ। आउनुहोस्, मानवता र एकताको भावना बोकेर यस दुःखद घडीमा एकअर्काको साथ बनौँ,’ काभ्रे सम्पर्क समिति, दक्षिण कोरियाको अपिलमा छ ।






