लन्डन । विश्व नेपाली साहित्य महासंघ (विनेसाम) ले वातावरण संरक्षणप्रति जनचेतना फैलाउने उद्देश्यले आयोजना गरेको ‘विश्व पर्या कविता प्रतियोगिता’ मा सहभागी हुन अब ४५ दिन मात्र बाँकी रहेको छ।
प्रतियोगितामा सहभागी हुन इच्छुक सर्जकले आफ्नो कविता आगामी ३० डिसेम्बर २०२६ (१५ पुस २०८३) भित्र gfnl.litcontest@gmail.com मा पठाउनुपर्ने आयोजकले जनाएको छ ।
‘कवितामार्फत पृथ्वीको आवाज बनौँ’ भन्ने मूल नारासहित आयोजना गरिएको प्रतियोगितामा विश्वभर रहेका नेपाली भाषी स्रष्टाहरू सहभागी हुन सक्नेछन्।
प्रतियोगितामा नेपाली भाषामा लेखिएका पर्यावरण तथा वातावरणसम्बन्धी मौलिक कविता समावेश गर्न सकिनेछ। प्रतियोगिताका लागि कविता पूर्णतः आफ्नै सिर्जना हुनुपर्नेछ। कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरी तयार पारिएका कविता प्रतियोगितामा मान्य हुने छैनन्।
प्रतियोगिताका लागि कविता बढीमा २५० शब्दको हुनुपर्नेछ। यसअघि कतै पनि प्रकाशित नभएको कविता युनिकोड वा प्रीति फन्टमा टाइप गरी पठाउनुपर्नेछ। प्रतियोगिताको नतिजा घोषणा नभएसम्म कविता अन्यत्र प्रकाशन गर्न पाइने छैन। तियोगीले कवितासँगै आफ्नो पूरा नाम, ठेगाना, इमेल, मोबाइल नम्बर र फोटोसमेत संलग्न गर्नुपर्नेछ।
प्रतियोगितामा उत्कृष्ट तीन कविलाई आकर्षक पुरस्कार दिइने छ । प्रतियोगितामा प्रथम हुनेले ४० हजार रुपैयाँ, द्वितीय हुनेले ३० हजार रुपैयाँ र तृतीय हुनेले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै, थप सात जनालाई जनही दुई हजार रुपैयाँका दरले सान्त्वना पुरस्कार प्रदान गरिनेछ।
पुरस्कार तथा सम्मान कार्यक्रम आगामी २२ अप्रिल २०२७ (९ वैशाख २०८४) मा पृथ्वी दिवसका अवसरमा काठमाडौंमा आयोजना गरिने आयोजकले जनाएको छ। भारत सम्पर्क देविका, नेपाल सम्पर्क निता र बेलायत सम्पर्क विजय हितानलाई तोकिएको छ ।






