यूएईविरुद्धको दोस्रो ट्वान्टी–२० खेलमा नेपाल ४ विकेटले विजयी

SHARE:

काठमाडौँ । दीपेन्द्र सिंह ऐरीले ४७ रनको अविजित इनिङ खेलेपछि यूएईविरुद्धको दोस्रो ट्वान्टी–२० खेलमा नेपालले ४ विकेटको जित हासिल गरेको छ । योसँगै तीन खेलको शृङ्खला १–१ को बराबरीमा पुगेको छ ।

१ सय ८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा ६ विकेट गुमाएर भेट्टायो। सुरुआत राम्रो गर्न नसके पनि मध्यक्रममा दीपेन्द्र सिंह ऐरी र पवन सर्राफले छैटौं विकेटका लागि ५५ रनको साझेदारी गरेपछि नेपालको जितको आधार बनेको थियो।
Yamaha

ओपनिङमा आएका कप्तान पारस खड्का पहिलो बलमै आउट भएका थिए। दोस्रो ओभरमा आउट भएका प्रदीप ऐरीले पनि ८ रनमात्र बनाउन सके। उपकप्तान ज्ञानेन्द्र मल्लले ७ र पहिलो खेलमा कीर्तिमानी अर्धशतक बनाएका सन्दीप जोरा आउट हुँदा नेपालले ४६ रनमा ५ विकेट गुमाइसकेको थियो।

अन्तिम ओभरको पहिलो बलमा पवन सर्राफ १८ रनको स्कोरमा आउट हुँदा नेपाललाई जितका लागि अझै ७ रन आवश्यक थियो। त्यसपछिका २ बलमा दीपेन्द्रले छक्का र चौका प्रहार गरी शृङखला बराबरीमा ल्याएका हुन्। दीपेन्द्रले ४१ बलमा ४ चौका र १ छक्काको सहयोगमा अविजित ४७ रन बनाए।

यसअघि दुवईको आईसीसी एकेडेमी ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले १९.२ ओभरमा अलआउट हुनुअघि १ सय ७ रन बनाएको थियो। युएईका चुन्दनगापोयिल रिज्वनले ४४, साइमन अनवार १४ र मोहम्मद बोताले ११ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकको रन छुन सकेनन्।

बलिङतर्फ अभिनाश बोहोराले ३ विकेट लिए। सन्दिप लामिछाने, करण केसी र सोमपाल कामीले पनि २/२ विकेट झारे।
शृङ्खला अन्तर्गत तेस्रो तथा निर्णायक खेल आइतबार हुनेछ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!