काठमाडौं । तिलोत्तमा गोल्डकपको २१ औ संस्करणको विजेता दाउफिन्सले सोमबार फाइनल खेल जितेपछि पुरस्कार राशी नगदमै पाएको छ । प्रतियोगिता आयोजक रुपन्देही जिल्ला फुटबल संघले विजेतालाई ८ लाख ८० हजार रुपैयाँ नगद नै प्रदान गरेको एन्फा रुपन्देहीका अध्यक्ष दिर्घबहादुर केसी(कुमार)ले जानकारी दिए । यसअघि पोखरामा सञ्चालन भएको मनकामना केबुलकार पोखरा कप फुटबल प्रतियोगिता २०७५ को समेत विजेता रहेको दाउफिन्सले अहिलेसम्म उक्त प्रतियोगिताको भने पुरस्कार रकम नपाएको बुझिएको छ ।
यता धरानमा भएको बुढासुब्बा गोल्डकपको पुरस्कार राशी पनि दाउफिन्सले उपाधि जित्नेबितिकै पाएको थियो । दुई साताअघि अखिल नेपाल फुटबल संघ कास्कीद्वारा सञ्चालित उक्त फुटबलको फाईनलमा विभागीय टिम एपीएफलाई १-० ले पराजित गर्दै ७ लाख ५५ हजार रुपैयाँ पुरस्कारसहित कप उठाएको दाउफिन्सले नगद पुरस्कार नपाई चेक पाएको थियो । दाउफिन्सलाई आयोजकले पछाडीको मिति राखी चेक दिएको थियो । दाउफिन्सका प्रबन्धक सुगन तन्डुकारका अनुसार आयोजकले पैसा नउठेका कारण पछिल्लो मितिको चेक दिएको बताए ।
‘अहिले पैसाहरु सबै उठेको छैन । स्पोन्सरबाट पनि उठ्न बाँकी छ भन्दै ब्याक डेट चेक दिन्छौं भन्नु भयो । हामीले सरसल्लाह गरी समझदारीमा ब्याक डेटको चेक लियौ । खबर गरे पछि बैंकबाट सटही गर्नु होला भन्नु भएको छ प्रतिक्षामा छौं,’ तन्डुकारले भने । पोखरामा उपविजेता बनेको एपीएफले पनि पुरस्कार बापतको रकम अहिलेसम्म प्राप्त नगरेको बुझिएको छ । पोखरामा भएको प्रतियोगिताको पुरस्कार वितरणमा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा नै सामेल रहेका थिए । शेर्पा आफैंले दुई दिनअघि दाउफिन्स एन्फाले मान्यता नदिएको टोली रहेको बताएका थिए ।






