नगेन्द्रराज नेम्वाङ ‘वागिस’
शरीरमा सामान्य अवस्थाभन्दा ज्यादा शक्तिको कमी महसुस हुनुलाई थकान भनिन्छ । ज्यादा शारीरिक परिश्रम, खेलकुद, हिँड्डुल गर्दा यसको अनुभूति हुने गर्दछ ।
लक्षण : शक्तिको अभाव हुनु, केही गर्न जाँगर नचल्नु, दिमाग पनि सुस्त हुनु ।
कारण : विश्रामलाई ख्याल नगरी लगातार काम गर्नु, भोजनमा पौष्टिक तत्वको कमी हुनु, अप्राकृतिक भोजन (जंकफुड) सेवन गर्नु, अनिद्रा हुनु, तनाव हुनु आदि इत्यादि ।
उपचार : एकैछिनको थकान हो भने आराम गरेर समाधान हुन्छ । तर, दीर्घकालीन थकानलाई उपचार गर्न, भोजनमा सुधार, आराम, व्यायाम र दिनचर्यामा सुधार गर्नुपर्ने हुन्छ ।
भोजन : प्रशस्त फलफूल र हरियो तरकारीहरु समावेश गरिएको भोजनले शरीरमा शक्ति बढाउँछ । तसर्थ, जति सकिन्छ बढी फलफूल तरकारी र सलाद सेवन गर्नुपर्दछ । फलफूलमा आँप, अनार, स्याउ, अंगुर, तरकारीमा पालुङ्गो साग, गोलभेडा, कुरिलो, हरियो सागपात सेवन गर्न सकिन्छ । दूधमा मह मिसाएर पिउन उत्तम मानिन्छ ।
भिटामिन बी युक्त भोजन, चोकरसहितको गहुँको परिकार, ब्राउन राईस, हरियो सागपात, दाल, गेडागुडी, केराउ, दूध, अण्डा, केरा, अन्जिर, पेश्ता, काजु आदि । प्रत्येक घण्टा चुस्कि लिँदै पानी पिउनु पर्दछ । माछा मासुको सेवन एकपल्टमा ५० ग्राम मात्र गर्नु पर्दछ ।
व्यायाम:
थकान हटाउन शारीरिक व्यायाम विशेष गरी योग, प्रणायाम र ध्यानको विशेष महत्व हुन्छ । ३०–४० मिनेट योगाभ्यास पछि १५–२० मिनेट शवासनमा गहन आराम गर्नाले ज्यादै लाभ गर्छ । १० मिनेटको फटाफट हिँडाईले पनि २ घण्टासम्म शरीरलाई उर्जावान बनाउँछ ।
अन्य उपाय : अनिद्राको समस्या हटाउनु पर्दछ । हरेक रात ठीक समयमा सुत्ने र ठीक समयमा उठ्ने गर्नु पर्दछ । पुरै शरीरमा तेल मालिस गर्नाले उर्जावान बनिन्छ । चिसो पानीले नुहाउँदा एण्डोरफिन हर्मोन सक्रिय बनि फ्रेस र उर्जावान बनिन्छ ।






