घलेभञ्जाङ (नुवाकोट) । पञ्चकन्या गाउँपालिका ३ घलेगाउँमा विभिन्न कार्यक्रम गरी आइतबार विश्व स्वास्थ्य दिवस मनाइएको छ । पञ्चकन्या गाउँपालिका स्वास्थ्य तथा सरसफाई शाखाको आयोजनामा गाउँपालिकाको अस्थायी कार्यालय घलेभञ्ज्याङमा स्वास्थ्य दिवसको अवसरमा कार्यक्रम गरिएको हो । पालिकामा औपचारिक कार्यक्रमअघि विभिन्न ५ वडाबाट भेला भएका महिला स्वास्थ्य स्वयमसेविकाहरुले र्याली निकालेका थिए । र्यालीमा स्वास्थ्य शाखा प्रमुख पल्लभराज जोशी, अन्य स्वास्थ्य केन्द्रका प्रमुखहरु सहभागी थिए । उनीहरुले ध्रमपानले लिन्छ ज्यान, बिहेबारी २० वर्ष पारी लगायतका नारा लगाएका थिए भने स्वयमसेवीहरुले आफ्नो पेसागत पहिरनसहित उपस्थित भएका थिए ।
पालिकाको सभाहलमा आयोजना गरिएको औपचारिक कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सीता पराजुली, प्रशासकीय अधिकृत नरेश पुडासैनीलगायतले मन्तव्य राखेका थिए ।
सबैलाई समेटौं, सबैका लागि स्वास्थ्य भन्ने नाराका साथ आइतबार नेपालभर विश्व स्वास्थ्य दिवस मनाइयो । विश्व स्वास्थ्य संगठनको स्थापना भएको दिनको सम्झनामा हरेक अप्रिल ७ तारिखमा यो दिवस मनाउने गरिन्छ । सन् १९५० बाट विश्व स्वास्थ्य दिवस मनाउन सुरु गरिए पनि नेपालमा भने सन् १९९५ देखि विश्व स्वास्थ्य दिवस मनाउन थालिएको हो ।






