नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले १० वर्षे जनयुद्ध गरेको कुरा हामीबाट छुपेको छैन । यो युद्धले नेपाली समाजमा कति फाइदा भयो ? कति बेफाइदा भयो ? भन्नेबारेमा छुट्टै बहस छ । त्यसको लेखाजोखा समाजले गरिपनि सकेको छ । तर त्यसबेला जनयुद्धको सुरुवात गर्ने १९ कमाण्डरहरु आजका दिनमा एके ठाउँमा छैनन् । उनीहरु नै छिन्नभिन्न स्थितिमा छन् ।
जनयुद्धको जगमा नेपालमा आमूल रुपमा राजनीतिक परिवर्तन भएको हो । प्रचण्ड, बाबुरामसहित १९ नेताहरु अहिले पनि एउटै स्थानमा नहुनुले परिवर्तनका एजेण्डालाई अनुभूत गर्नसक्ने गरी व्यवहारमा लागू गर्न सकिएको छैन । त्यसैले पनि यो परिस्थितिमा विगतको अठोट, परिकल्पना र सम्भावनाबारे एकपटक जनयुद्धका कमाण्ड गर्ने, योजना बनाउने नेताहरुले सोँच्नैपर्ने हुन्छ ।
जनयुद्धले नेपालमा राजनीतिक परिवर्तनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेकै हो । त्यसका लागि हजारौंको बलिदानी पनि भयो । अझै पनि कतिपय घाइते छन् । कतिपय अपांगता जीवन जिउन बाध्य छन् । जनयुद्धले ल्याएको परिवर्तनलाई ती शहिद र घाइते अपांगहरुले राम्रो अनुभूत गर्न सकेनन् । शहीदहरुले जुन ससिमले योगदान दिए, सोही अनुसारको जनअपेक्षा पूरा हुन सकेको छैन । जनताले सामान्यभन्दा सामान्य काम पनि अझै पञ्चायत कालमा जस्तै व्यहोर्नु परिरहेको छ । यो राजनीतिक परिवर्तनले मात्र सम्भव नभएको स्पष्ट गरेको छ । सबैभन्दा पहिला त मानसिक रुपमा नै परिवर्तन जरुरी रहेको कुरा स्पष्ट भएको छ । त्यसतर्फ एकपटक गम्भीर हुनैपर्छ ।
हजारौंको योगदानले प्राप्त यो परिवर्तनलाई संस्थागत गर्नका लागि अहिले सबैको भूमिका सक्रिय हुन जरुरी छ । हुन त तत्कालीन माओवादी अहिले अस्तित्वमा छैन । परिवर्तनको नाम माओवादी अहिले दस्तावेजमा मात्र छ । राजनीतिक परिवर्तनलाई दस्तावेजमा मात्र सीमित राख्दा पक्कै पनि त्यसले न्याय गर्न सक्दैन । त्यसैले पनि राजनीतिक परिवर्तनलाई व्यवहारमा जनताले अनुभूत गर्ने गरी अगाडि बढाउनसक्नुपर्छ । त्यसो नहुँदा बलिदानी दिने, घाइते अपांग हुनेहरुप्रति अन्याय हुन जान्छ । कालखण्डमा दिइएका विभिन्न आश्वासन मिथ्या सावित हुन जान्छ । त्यसैले पनि देश र जनताको पक्षमा, जनजीविकाको पक्षमा पनि उत्तिकै जिम्मेवार भएर प्रस्तुत हुन सक्नुपर्छ ।
जनयुद्ध कसैलाई धनी बनाउन, शासन सत्तामा पुर्याउनका लागि मात्र थिएन । जनताबीचमै रहेको असमानता, विभेदको अन्त्य गर्दै सबै जनतलाई समान अधिकार प्रदान गर्नु थियो पनि । त्यसैले जनताको पक्षमा गरिएका प्रतिवद्धतालाई खेर जान नदिन प्रचण्डदेखि सबै नेताको गम्भीरता पक्कै पनि आवश्यक भएकै कुरा हो । अहिलेको अवसर पक्कै पनि विरलै प्राप्त हुने मौका हो । यसलाई सही ढंगले सदुपयोग गर्नुपर्छ । विगतलाई बिर्सेर अघि बढ्दा दुर्घटना हुनसक्छ । त्यसैले यो अवसरलाई सदुपयोग गर्नुको विकल्प छैन ।






