
काठमाडौँ । एएफसी कप २०१९ मा मापदण्ड उल्लंघन गर्दै क्लबहरुलाई लाइसेन्स दिलाएको पाइएपछि एसियाली फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई १० हजार अमेरिकी डलर जरिवाना गरेको छ ।
एएफसीले हाल देखिएका कमजोरीलाई दुई वर्षभित्र यस्तै गल्ती दोहोर्याएनिलम्बनसँगै २५ हजार डलर जरिवाना गर्ने चेतावनी पनि दिएको छ। एसियाली क्लब फुटबलको दोस्रो ठूलो प्रतियोगिता ‘एएफसी कप’ मा सहभागी हुनलाई ‘एएफसी कप क्लब लाइसेन्सिङ’ को मापदण्ड पूरा गरेको हुनुपर्छ। एएफसी कप २०१९ को लागि एन्फाले सहिद स्मारक ‘ए’ डिभिजन लिगका सबै (१४) क्लबलाई सिफारिस गरेको थियो। त्यसमध्ये ९ क्लबलाई एएफसीले लाइसेन्स दिएको थियो।
त्यही क्लबहरूलाई गलत तरिकाले लाइसेन्स दिलाएकोमा एएफसीले एन्फालाई १० हजार डलर जरिवाना गर्ने निर्णय गर्दै शुक्रबार कमजोरीलाई दुई वर्षभित्र सच्याउन चेतावनी दिएको हो। एएफसीले जरिवाना एक महिनाभित्र तिर्न भनेको छ।
‘एएफसीले १० हजार डलर जरिवाना गरेको हो। दुई वर्षभित्रफेरि गल्ती गरे२५ हजार डलर र अरु कारबाही गर्नसक्ने पनि भनेको छ,’ एन्फाका प्रवक्ता किरण राईले भने, ‘एएफसीका प्रतिनिधि आएर तीन क्लबको निरीक्षण गरेका थियो। त्यसपछि सोधिएको स्पष्टीकरणको जवाफ पनि दियौं। थुप्रै कमजोरी देखाइएको छ। एएफसीको मापदण्डहरूमध्ये मुख्तयत: क्लबहरुसँग युथ डेभलोप्मेन्ट प्रोग्राम र यू–१५ टिम नभएको भन्दै जरिवाना गरिएको हो।’
फुटबल प्रशिक्षकलाई पनि जरिवाना
इरानमा भइरहेको एएफसी फुटसल च्याम्पियनसिप २०२० को मध्य तथा दक्षिण एसियाली छनोटको पहिलो खेलमा ताजिकिस्तानविरुद्धको खेलमा नियम उल्लंघन गरेको भन्दै नेपाली टिमका प्रशिक्षक विष्णु गुरुङलाई १ हजार डलर जरिवाना गर्ने निर्णय एएफसीको अनुशासन समितिले गरेको छ। साथै उनलाई एक खेलमा निलम्बनको कारबाही गर्ने निर्णय पनि गर्यो।






