अमित याक्थुङ्बा
आसफोर्ड (बेलायत) । बेपत्ता भएको दुई दिनपछि आसफोर्ड निवासी युवा युगल लिम्बु मृतावस्थामा प्रहरीले फेला पारेको छ । केन्ट प्रहरीले खोलाछेउ तैरिरहेको अवस्थामा मार्च ९ तारिखमा लिम्बुको शव बरामद गरेको हो । सात मार्च (फागुन २४) शनिबार मध्यरातको करिब साढे एक बजेदेखि बेपत्ता भएका ३३ वर्षीय लिम्बुको शव भिक्टोरिया पार्कछेउको रिभर स्टाउरमम तैरिएको अवस्थामा सोमबार अपराह्न फेला पारेको थियोे । ‘हामी अब आसफोर्डका एक बेपत्ता युवाबारे खोजी कार्यका लागि आग्रह गर्ने छैनौं,’ केन्ट प्रहरीलाई उद्धृत गर्दै स्थानीय केन्ट अनलाइनले उल्लेख गरेको छ, ‘सोमबार हामीले युवाको शव भेटेका छौँ ।
परिचय औपचारिक रूपमा पुष्टि गर्न बाँकी छ । तथापि, उनको परिवारलाई जानकारी गराइसकेका छौं ।’ नेपालको धरान–१० निवासी लिम्बु विगत चार वर्षदेखि आसफोर्डमा आफ्ना आमा र बुवासँग बस्दै आएका थिए । उनी नम्र र मृदुभाषी स्वभावको युवा रहेको उनका निकटहरूले बताए ।
आसफोर्डमा पछिल्लो समय नेपाली समुदायहरूको आगमन तीव्र रूपमा बढेको छ । भिक्टोरिया पार्कमा डेढ वर्षअघि पनि एक नेपाली युवा मृत अवस्थामा फेला परेका थिए ।






