सबिन्द्र कुमार गुरुङ लन्डन पुस १६ ।
बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले तमू (गुरुङ) हरुको महान् पर्व ल्होछारको अवसरमा धार्मिक पूजापाठको आयोजना गरेको छ । उक्त पूजा बुधबार ३० डिसेम्बर अर्थात् पुस १५ गतेका दिन नेपालीहरुको बाक्लो बसोबास रहेको इंल्याण्डको अल्डरसटस्थित बीसीसी गुम्बामा दिप प्रज्ज्वलन, मकला पूजा र आयु पूजासहित ग्रह शान्तिका लागि घ्याप्सी पूजा सम्पन्न भएको हो ।
विश्वभर रहेका गुरुङहरुले प्रत्येक पुस १५ हुने ल्हो अर्थात् बर्ग परिवर्तनलाई विशेष महत्वका साथ लिने गर्दछ । सोहीअनुरुप यस वर्ष विश्वभर रहेको गुरुङहरुले मूसा बर्गलाई बिदाई गर्दै गाई वर्गलाई स्वागत गर्ने क्रममा बेलायतवासी गुरुङहरुले पनि बीसीसी यूकेले आयोजना गरेको उक्त पूजामा अनलाईनमार्फत सहभागी भई तमू ल्होछार मनाएका हुन् । बीसीसी यूकेले उक्त पूजालाई वर्तमान कोभिड–१९ को परिस्थितिलाई मध्यनजर राख्दै फेसबुक लाईभसमेत गरेका थिए ।
बिसीसी यूकेका रिन्पोछे लुङ्गरिक र खेन्पो ञ्यिमाले संसारभर रहेको मानव जातिको सुख, शान्ति, दीर्घायू र समृद्धिको कामना गर्दै सम्पन्न भएको उक्त पूजापाठमा बिसीसी यूकेका अध्यक्ष नरेश गुरुङ, सल्लाहकार मेजर खुशीमान गुरुङ, तमु धिं यूके ११ औं कार्यसमितिका लागि नवनिर्वाचित अध्यक्ष हित काजी गुरुङ, उपाध्यक्ष तुलाराम गुरुङ लगायतले सम्पूर्ण तमूहरुको प्रतिनिधित्व गर्दै स्वयंसेवकको भूमिका निभाएका थिए । त्यस्तै, तमु धिं यूकेको तर्फबाट अध्यक्ष तथा उपाध्यक्षले गुम्बा परिसरभित्र नयाँ लुंदासमेत फेरेका थिए ।
उक्त पूजामा दिप प्रज्ज्वलन तथा भोजन दान गर्न चाहनेहरुलाई यसअघि बिसीसी यूके तथा तमु धिं यूकेका सल्लाहकार मेजर खुशीमान गुरुङले उक्त पूजाबारे जानकारी गराउँदै सम्पर्क गर्न अनुरोध गरेका थिए । सोहीअनुसार ३०५ जना भक्तजनहरुद्वारा दिप प्रज्ज्वलनका लागि १४८६ पाउण्ड र भोजन दानका लागि ३०२१ पाउण्ड संकलन भएको थियो ।
भोजन दानबापत संकलन भएको रकममध्येबाट नेपालस्थित शेर्पा आमा समूह स्वयंभूलाई एक लाख रुपैयाँ, गोपाल गुम्बा पोखरालाई २५ हजार रुपैयाँ, गुप्ती गुम्बा पोखरालाई २५ हजार रुपैयाँ, बौद्ध अर्घौं सदन पोखरालाई २५ हजार रुपैयाँ, फूलबारी गुम्बा पोखरा २५ हजार रुपैयाँ, धरान गुम्बालाई २५ हजार रुपैयाँ, रुम्जाटार गुम्बालाई २५ हजार रुपैयाँ, वगिन्द्र शिला गुम्बालाई २५ हजार रुपैयाँ, दार्जिलिङ गुम्बालाई २५ हजार रुपैयाँ, शेचेन गुम्बा काठमाण्डौंलाई २५ हजार रुपैयाँ, याम्दी गुम्बा पोखरालाई २५ हजार रुपैयाँ, सपना रोका मगरको अभियानलाई २५ हजार रुपैयाँ र छोराछोरी नेपाललाई १६१ पाउण्ड ९८ पेन्स सहयोग प्रदान गरिएको सल्लाहकार मेजर खुशीमान गुरुङले जानकारी गराए ।
साथै, गुम्बा श्रोतका अनुसार उक्त ल्होछार पर्वको अवसरमा भोजन दानका लागि जनही १० पाउण्ड संकलन गरिएको थियो । जसमध्येबाट ९ पाउण्डको दरले २६७० पाउण्ड २३ पेन्स नेपालमा सहयोग प्रदान गरिएको र बाँकी १ पाउण्डको दरले हुने ३५० पाउण्ड ७७ पेन्स उक्त पूजामा खर्च भएको छ । त्यस्तै, ल्होछारको अवसरमा बालिएको बत्ति अर्थात् दिप प्रज्ज्वलनका लागि संकलित १४८६ पाउण्ड दिपप्रज्ज्वलनमै खर्च भएको समेत जनाइएको छ ।
स्मरण रहोस्, बिसीसी गुम्बाले तमू लगायत विभिन्न जातजातिहरुले मनाउने विभिन्न पर्वहरुमा बिशेष पूजाको आयोजना गर्दै आएको छ ।








