
लन्डन माघ २१ । गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) र गोर्खा सत्याग्रह संघर्ष समितिले संयुक्त रुपमा बेलायतका लागि नेपाली
राजदूत लोकदर्शन रेग्मीलाई भेटी प्राविधिक समितिले तयार पारेको १३बुँदे प्रतिवेदनका कार्यान्वयनको पहल गरिदिन आग्रह गरेका छन् ।
सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा मंगलबार भएको भेटमा गोरखा भूतपूर्व सैनिकका प्रतिनिधिहरुले गोरखाहरुको समस्या समाधानका लागि यसअघि प्राविधिक समितिले तयार पारेको प्रतिवेदन कार्यान्वयनका लागि वार्ता समिति बनाउन माग गरिएको गेसोका सभापति कृष्णकुमार राईले जानकारी दिए । गोरखा अभियन्ताहरुले राजदूत रेग्मीलाई विभिन्न माग राखी ज्ञापन पत्र बुझाएका थिए ।
जवाफमा नवनियुक्त राजदूत रेग्मीले गोरखाहरुको समस्याबारे आफूलाई जानकारी भएको र बेलायत सरकारलाई पनि विश्वासमा लिँदै चॉडो समस्या समाधान गर्न आफ्नो तर्फबाट कुनै कसर बाँकी नरहने बताएको गेसो सभापति राईले जानकारी दिए ।
राजदूत रेग्मीले आफूमात्र नभई ‘तपाईंहरु सबै राजदूत हो । हामी मिलेर काम गर्नु पर्छ । संयम र धैर्य हुनु पर्दछ तडकभडक देखाउँदा हामीलाई नोक्सान हुन्छ’ हुने बताएका थिए ।










